१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘दुई छाक टार्ने सहायता हामी कहिले पाउँछौं सरकार’

झुपडीमा कुचिराम दम्पती। तस्बिर : गणेश बिक/नागरिक

रुकुम – सरकारको गरिब तथा गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्च भन्दै आर्थिक सहायता प्रदान गर्ने सूचीमा परेका बुद्धिप्रसाद गौतम प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् । उनका दुई छोरा जागिरे छन् भने एक छोरा मुसीकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष छन् । उनी आर्थिक अभावका कारण गुजारा गर्न नसक्ने व्यक्तिभित्र पर्दैनन् । उनीजस्तै देवी पुनको नाम पनि उक्त सूचीमा छ । उनी नेपाली कांग्रेसबाट त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार थिइन् । मुसीकोट खलंगामा उनको ठूलो मेडिकल (निजी स्वास्थ्य संस्था) छ । त्यस्तै राजेन्द्र पुनको सिम्रुतु बजारमा भाँडा पसल छ । उनको नाम पनि उक्त सूचीमा समावेश छ।

गरिब, विपन्न तथा गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि सरकारले आर्थिक सहायता प्रदान गर्ने तयारी गरेको छ । झन्डै १२ सयलाई १४ करोडभन्दा बढी रकम बाँड्ने तयारी सरकारको छ । तर, आर्थिक अभावका कारण दुई छाक टार्न नसक्नेलाई भन्दा राजनीतिक पहुँचका आधारमा आर्थिक सहायता दिने तयारी भएपछि यहाँका विपन्न चिन्तित भएका छन्।

मुसीकोट नगरपालिका वडा नं. ४ का कुचिराम सुनार आर्थिक अभावका कारण बर्खायाममा पनि चुहिने झुपडीमा बस्छन् । सोमबार दिउँसो वर्षा भयो । वर्षासँगै चिसो पनि ह्वात्तै बढेको थियो । जंगलनजिकको सानो झुपडीभित्र पानी चुहिँदा उनीहरूलाई चिसोले झनै सकस बनायो । बिरामी भएका बेला उनीहरूसँग औषधि किन्ने पैसा नहुँदा जडिबुटी खोजेर उपचार गर्छन् । दुवै अपाङ्ग छन् । कुचिराम कान कम सुन्छन् भने उनकी श्रीमती कुइती पनि कान कम सुन्छिन् । मुसीकोट नगरपालिका वडा नं. १२ जमारुकी अमृता ओलीको पनि अवस्था उस्तै छ । घरमा केही भए खाएर दिनरात कटाउँछिन्, केही नभए भोकभोकै बस्छिन् । घर ढल्नै लागेको छ । घर छाउन नसक्दा पानीले भिजाएर घर कमजोर हुँदै गएको छ । ‘कहिले यही घरमा पुरिएर मर्छु थाहा छैन,’ उनले भनिन्, ‘घर छाउने रुपैयाँ नहुँदा यस्तै छ ।’ तर, हालसम्म उनीहरूले सरकारको आर्थिक सहायतालगायत अन्य सुविधा पाएका छैनन्।

गरिब, विपन्न तथा गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि सरकारले आर्थिक सहायता प्रदान गर्ने तयारी गरेको छ । झन्डै १२ सयलाई १४ करोडभन्दा बढी रकम बाँड्ने तयारी सरकारको छ । तर, आर्थिक अभावका कारण दुई छाक टार्न नसक्नेलाई भन्दा राजनीतिक पहुँचका आधारमा आर्थिक सहायता दिने तयारी भएपछि यहाँका विपन्न चिन्तित भएका छन् । मुसीकोट नगरपालिका वडा नं. २ रातामाटाकी रेशमा कामीका श्रीमान् रोजगारीका लागि भारत गएको २५ वर्षभन्दा बढी भयो । उनले भनिन्, ‘सरकारले पहुँचका आधारमा आर्थिक सहायता गर्छ । हामीले कहिले पाउने आर्थिक सहायता ।’ पहुँच नपुगेकै कारण आर्थिक सहायता नपाएको उनको बुझाइ छ । हाल उनी माइतीको सहारामा जीवन निर्वाह गरिरहेकी छिन् । उनीजस्तै यहाँका विपन्न समुदाय दुःखी छन् । ‘आर्थिक सहायता मजस्तै गरिबले पाउनुपर्छ,’ कुचिरामले भने, ‘अभावका कारण हामी सिंहदरबारसम्म पुग्न सक्दैनौं।’

जिल्लाबाट ३७ जनाले विपन्न भन्दै आर्थिक सहायता पाउने भएका छन् । तीमध्ये धेरैजना आर्थिक रूपले सम्पन्न छन् । चुनावमा नेता र पार्टीलाई सहयोग गरेबापत सम्पन्न व्यक्तिलाई आर्थिक सहायता दिइएको विपन्न समुदायको भनाइ छ । हुदाँखाने भन्दा हुनेखानेलाई सरकारले आर्थिक सहायता दिएको भन्दै आलोचना बढेको छ । आर्थिक सहायता पाउनेमा केही सहिद परिवार, घाइते तथा विपन्न भए पनि अधिकांश राजनीतिकर्मी नै छन् । उनीहरूले दुई लाखदेखि पाँच लाख रुपैयाँ पाउने भएका छन् । आर्थिक सहायता पाउने धीरेन्द्र बटाला नेपाली कांग्रेसका क्षेत्रीय सभापति हुन् । उनी सम्पन्न व्यक्ति मानिन्छन् । छोराछोरीलाई उच्च शिक्षा दिलाउने र परेका बेला जुनसुकै समस्या समाधान गर्न सक्ने हैसियत उनमा छ । ३७ जनामध्ये २१ जनाको नाम पूर्वगृहमन्त्री तथा यहाँका प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको सिफारिसमा तयार पारिएको उल्लेख छ । अन्य १६ जना भने कसको सिफारिसमा आर्थिक सहयोग पाउन लागेका हुन् उल्लेख गरिएको छैन । अन्य नाम नेपाली कांग्रेसका नेताकार्यकर्तामार्फत प्रधानमन्त्री कार्याललयबाट सिफारिस भएको देखिन्छ।

जसका कारण माओवादी र कांग्रेस समर्थित नेताकार्यकर्ता आर्थिक सहायताको सूचीमा परेका छन् । वास्तविक विपन्न अनि गरिबहरुको गाँस शक्ति र पहुँचवालाको निवेदनका भरमा खोसिएको सुवोधराज सेर्पालीले बताए ।
पूर्वगृहमन्त्री शर्माले आफूले विपन्न भनेर सिफारिस नगरेको बताएका छन् । मेरो व्यक्तिगत चरित्र हत्या गर्ने ढंगबाट गरिएको प्रचारबाजीमात्र भएको उनले बताए । देवबहादुर खड्का, कलकुमारी मल्ल, कालीबहादुर मल्ल, कृपाराम खड्का, गायित्रा केसी (बोहरा) जीवन खनाल, धिरेन्द्र वटाला, पम्फा बस्नेत, रामसरी बुढा मगर, लक्ष्मी दमाई, विक्रम बुढा (पूर्वी रुकुम), देवी पुन, जयबहादुर पाण्डे, वृद्धिप्रसाद शर्मा, तिलक परियार, शैलेश शर्मा लगायतले आर्थिक सहायता पाउनेछन्।


 

 

प्रकाशित: १ फाल्गुन २०७४ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App