१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चक्रपथमा पैदलयात्रु असुरक्षित भएको आरोप

काष्ठमण्डप– निर्माणाधीन कलंकी–कोटेश्वर चक्रपथ सडकमा पैदलयात्रु असुरक्षित भएको सडक सुरक्षा अभियन्ताले बताएका छन्। 

चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको चक्रपथको डिजाइन नै गलत भएकाले पैदलयात्रु असुरक्षित भएको उनीहरूको दाबी छ । सडकमा छुट्टै साइकल लेनको माग गर्दै अभियान चलाइरहेका इन्जिनियर भूषण तुलाधार निर्माणाधीन चक्रपथ सडकको डिजाइन त्रुटिपूर्ण भएकाले पैदलयात्रु असुरक्षित बनेको दाबी गरे । ‘चक्रपथमा पर्याप्त मिडियन र  गति अवरोध गर्ने सिस्टम छैन, जसले पैदलयात्रु असुरक्षित बनेका छन्,’ उनले भने, ‘चक्रपथको डिजाइन सुधारेर गति कन्ट्रोल गर्नुपर्ने बेला भइसक्यो, नत्र सवारी दुर्घटना बढेर ठूलो जोखिम आउन सक्छ।’

‘डिजाइन नै गलत भएको भए समयमै समस्या औँल्याउनुपथ्र्यो, सरोकारवाला निकायले समयमै गल्ती औँल्याइदिँदा गल्ती सुधार्ने मौका पाउँथ्यो।’ 

डिजाइनअनुसार चक्रपथ ५० किलोमिटर प्रतिघन्टा गुड्ने गरी तयार पारिएको तर पैदलयात्रुका लागि पर्याप्त जेब्रा क्रस, मिडियन र अकासे पुल नभएको उनको दाबी छ । ‘आठ लेनको सडकमा तीव्र गतिमा सवारीसाधन गुडाउँदा धेरै दुर्घटनाको सम्भावना रहन्छ,’ उनले भने, ‘त्यसैले सहरभित्रका सडकमा उच्च गतिका सवारीसाधन गुडाउन निषेध गर्नुपर्ने देखिन्छ ।’

नेपाल इन्जिनियर्स एसोसिएसन, सडक सुरक्षा एकाई प्रमुख लक्ष्मण केसीले अधिकांश सडकको ‘रोड सेफ्टी अडिट’ नभएकाले समस्या आएको बताउँछन् । ‘विदेशी मुलुकमा रोड निर्माण सम्पन्न गरिसकेपछि अनिवार्य रूपमा रोड सेफ्टी अडिट गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यहाँ हाम्रोमा रोड सेफ्टी अडिट नहुँदा समस्या भइराखेको छ।’

‘रोड  सेभ रोड इन नेपाल’का कनकमणि दीक्षितले नेपाली सडक असुरक्षित बन्दै गएकाले सुरक्षामा ध्यान दिनुपर्ने बताए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले निर्माण सम्पन्न हुन लागेको सडकलाई अहिले आएर डिजाइन नै त्रुटिपूर्ण भन्नु समय सान्दर्भिक नभएको बताए । ‘डिजाइन नै गलत भएको भए समयमै समस्या औँल्याउनु पथ्र्यो,’ उनले भने, ‘सरोकारवाला निकायले समयमै गल्ती औँल्याइदिँदा गल्ती सुधार्ने मौका पाउँथ्यो।’ 

सडक विभाग वैदेशिक  समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले यसअघि भएको चक्रपथको डिजाइनमा केही कमी–कमजोरी भएको स्विकारे । ‘नेपाल  सरकार र चिनियाँ सरकारबीच एक आपसमा सम्झौता भएर  चक्रपथ विस्तार अघि बढेको हो,’ उनले भने, ‘डिजाइनमा केही कमी–कमजोरी भए पनि सडक सम्पन्न नहुँदासम्म संशोधन गर्न मिल्दैन।’ उनले निर्माण सम्पन्न भएर हस्तान्तरण भएपछि मात्रै कमी–कमजोरी सच्चाउन सकिने बताए। 

प्रकाशित: २६ माघ २०७४ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App