९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भूकम्पपीडितले अनुदान पाएनन

बेलकोटगढी ७ का हर्कबहादुर घलेले भूकम्पपश्चात् बनाएको घर । तस्बिर : भगवती

नुवाकोट – घुमाउने मटन । फराकिलो पिढी । ढुंगा, माटो र काठले जडान गरिएको छ । धुरी मारिएको दुई तले पुरानो शैलीको घर हेर्दा लाग्छ २०७२ मा विनाशकारी भूकम्प जानुअगाडि नै बनिसकेको थियो यो घर । कोहीकोहीले अझै भन्लान् कि भूकम्पले छोएकै रहेनछ । तर, सरकारी मापदण्डमा नपरेका यस्ता घरले दोस्रो किस्ताको रकम लिन पाएका छैनन्।

बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का हर्कबहादुर घले भन्छन्, ‘जसोतसो घर त बनाइयो, अनुदान लिन सकिएन।’ प्राविधिक ज्ञानको अभावमा आफ्नै शैलीमा घर तयार गरेकाले अनुदान लिन समस्या भएको उनले सुनाए ।  सरकारले समयमै पुनर्निर्माण नीति बनाएर लागू गर्न नसक्दाको नोक्सानी अहिले पीडितले भोग्नुपरेको छ । सरकारकै ढिलासुस्तीले मापदण्ड आउनुअगावै बनेका घरले अनुदान नपाउने भएपछि ऋण गरेर घरको पुनर्निर्माण सकेका भूकम्पपीडित अहिले समस्यामा छन्।

घलेको ढुंगा माटोबाटै बनेको तीन तले घर थियो । भूकम्पले बस्नै नमिल्ने गरी भत्काइदियो । अनि उनको परिवार आइपुग्यो बारीको पाटोमा । टहराको बास । सुत्केरी हुन लागेकी बुहारी । कुखुरा, बाख्रा र मानिस बस्ने टहराको एउटै छानो । अन्नपात थन्काउने ठाउँको अभाव । जता हेरे नि भद्रगोल । लाग्यो उनलाई यस्तो टहरामा बसिरहने हो भने त आयु नै छोट्टिन्छ । अनि उनी कस्सिए सरकारले उपलब्ध गराएको पहिलो किस्ताको ५० हजार रुपैयाँको सहारा लिएर घर बनाउन।

घरमा क्षति पुर्याएको र  पुनर्निर्माण कार्यविधि जारी हुनुअगावै बनेका घर नुवाकोटमा ५ हजार ३ सय ६४ छन् । ती घरहरू मापदण्डअनुसार नबनेकाले अनुदान रकम पाउनबाट वञ्चित छन्।

घले आफैं पनि डकर्मी हुन् । गाउँघरमा सुनेका आधारमा गाह्रोका बीचबीचमा नट पनि कसे । अर्मपर्म गरेर घर ठड्याए । ७३ सालको दसैँ नयाँ घरमा मनाए । तर, उनलाई घर निर्माण गर्दा प्राविधिकको सल्लाह लिनुपर्छ भन्ने ज्ञान भएन। प्राविधिकलाई बनिसकेको घर देखाउँदा सरकारी मापदण्डअनुसार नबनेकाले पास गर्न नमिल्ने बताएपछि घले परिवार चिन्तामा छ।

‘हतारमा बनाइयो । घर ठूलो भयो भन्छन् । पास गर्न मिल्दैन रे’, घलेले भने, ‘पुरानै शैलीमा घर बनाइयो । घरमा मटन राख्दा, चुपी गाह्रो राख्दा भूकम्पप्रतिरोधी भएन भन्छन् प्राविधिक ।’ घर नबनाउने भूकम्प प्रभावितले लिएको पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ सरकारलाई फिर्ता गर्नुपर्छ भन्ने कुरा सुनेपछि उनले अर्को घर बनाउनका लागि डिबिसी गरेर छाडेका छन् । ‘भूकम्पप्रतिरोधी नभएको घरमा बस्नुहुन्न, जोखिम हुन्छ भन्ने सुन्छु । गाउँमा सबैको घर भूकम्पप्रतिरोधी बन्दैछ । अरूले नि नराम्रो सोच्ने भए, ’ घलेकी श्रीमती भीममायाले भनिन्, ‘पुस मसान्तसम्ममा डिबिसी गरिसक्नुपर्ने नत्र अर्को किस्ता आउँदैन भने सबैले । अर्को घरको पुसको अन्तिमतिर डिबिसी गरेर फोटो खिचेर पेसचाहिँ गरेको छ । प्राविधिक हेर्न आएका छैनन् ।’

यता नुवाकोट गेर्खुका शिव प्याकुरेलको कथा पनि घलेको जस्तै छ। भूकम्पले घर भत्कायो । आफ्नै तरिकाले पुनर्निर्माण कार्यविधि जारी हुनुभन्दा अगाडि घर बनाए । प्राविधिकले सरकारी मापदण्डअनुसारको नभएको भन्दै पास नगरेको उनी बताउँछन् । ‘पहिले कार्यविधि आउँछ भन्ने थाहा भएन । बास नै ठूलो लागेर दुःख गरेर घर बनाइयो, सरकारले मान्यता दिएन,’ प्याकुरेल भन्छन्, “पहिलो किस्ताको ५० हजार रुपैयाँ लिइयो । घर नबनाए फिर्ता गर्नुपर्छ भन्छन् । फिर्ता गर्नुभन्दा अर्को घर बनाउनतर्फ लागेको छु।’

घले र प्याकुरेलजस्तै भूकम्पले घरमा क्षति पुर्याएको र  पुनर्निर्माण कार्यविधि जारी हुनुअगावै बनेका घर नुवाकोटमा ५ हजार ३ सय ६४ छन् । ती घरहरू मापदण्डअनुसार नबनेकाले अनुदान रकम पाउनबाट वञ्चित छन् । प्राविधिकहरू कार्यक्षेत्रमा नखटिँदै निर्माण भएका घरले आशिंक रूपमा मापदण्ड पूरा नगरेको पाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले बताए । उनका अनुसार आशिंक रूपमा मापदण्ड पूरा नगरी बनेका घरलाई प्रबलीकरण तथा सबलीकरण गरी अुनदान सिफारिसका लागि योग्य बनाउने प्रयास भइरहेको छ ।  

जिल्लाको निजी आवास निर्माणको अवस्था
विनाशकारी भूकम्पले नुवाकोटका ६९ हजार २ सय ८९ परिवारको घर भत्कायो । अहिले सम्ममा ६४ हजार ५३ परिवारले पहिलो किस्ताबापतको ५० हजार रुपियाँ लिएका छन्।

पहिलो किस्ता अनुदान रकम लिएकामध्ये ३० हजार ६ सय ५ परिवारले घर निर्माण कार्य थालेका छन् । तीमध्ये पनि दोस्रो किस्ता रकम लिनका लागि ३० हजार ५ सय ४३ घरधुरीले निवेदन दिएको एकाइ प्रमुख विदुर खड्काले बताए ।  खड्काका अनुसार निवेदन दिएकामध्ये २६ हजार ६ सय ९९ वटा घर रकम पाउन योग्य छन् भने  ३ हजार ८ सय ६४ घरको रकम पाउने प्रक्रिया सुरु भइसकेको छ।

खड्काले भने, ‘बनिसकेका ७६ वटा घरले मापदण्ड पूरा नगर्दा दोस्रो किस्ता रकम रोकिएको छ । ४ हजार ४ सय १० घरपरिवारले तेस्रो किस्ताका लागि निवेदन दिएकामा तीन हजार २९८ योग्य भएर रकम निकासा सुरु भइसकेको छ ।’ अहिलेसम्म तीन किस्तामा तीन लाख रुपैयाँ प्राप्त गर्ने लाभग्राही १ हजार १ सय २ घरधनी छन् भने  १ सय १५ परिवारले आवास निर्माण सम्पन्न भएको प्रमाणपत्र लिइसकेका छन्।       

प्रकाशित: ५ माघ २०७४ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App