१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जमिनबाट धुँवाजस्तै वाफ निस्किए पछि…

लमजुङ- जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउँडीबार चोक नजिकै जमिनबाट एकसाता देखि लगातार धुवाजस्तो वाफ निस्किए पछि अहिले हेर्न आउने दर्शकहरुको भीड बढ्दै गएको छ।

सिउँडीबार नजिकै विश्ववन्धु अधिकारीको घर पछाडीको काल्नाबाट अघिल्लो मंगलबारदेखि धुँवाजस्तै कालो वाफ निस्किए पछि आश्चर्य मानेर हेर्न आउनेहरुको संख्या बढ्दै गएको छ। सुरुका दिनमा जमिनबाट धुँवा आएकाले अनिष्ट वा प्राकृतिक विपत्ति आउने आशंकाले स्थानीयबासी त्रसित बनेका थिए।

घरसँगै जोडिएको अग्लो काल्नामा ६/७ ठाउँमा छिद्राहरु रहेको र ति छिद्राबाट विस्तारै वाफ निस्किई रहेको स्थानीयले बताए। एकसाता अघि एक्कासी त्यस्तो देखिएपछि वरीपरीका बासिन्दाहरु निकै त्रसित भएको नजिकैकी सुनिता खनालले बताईन्। ‘एक्कासी मेरो घर नजिकै यस्तो देखिएपछि हामी आत्तियौं,’ उनले भनिन्, ‘के गर्ने कसो गर्ने भन्नेमा अन्यौंल भयो।’ त्यस्तो देखिएपछि कसैले प्रलय हुने, कसैले प्राकृतिक प्रकोप हुने र कसैले अनिष्ठा हुने भन्दै त्रसित कुरा गरेपछि वरीपरीका बासिन्दाहरुमा समेत भय पैदा भएको खनालले बताईन्।

सिउँडीबार, भोटेओडार, बेलघारी, भारतेबेसी, अर्चलबोट, पाउँदीबजार, सुन्दरबजार, खत्रीठाँटी, उदीपुर हुँदै सदरमुकाम बेसीसहर लगायतका स्थानबाट मानिसहरु त्यहाँ पुगेको स्थानीय विश्ववन्धु अधिकारी बताउँछन्। छिमेकी जिल्ला तनहुँको भानु नगरपालिकाका मानेचौका, चोक चिसापानी, अर्चलधारा, कालीमाटी, बाँईसजँघार लगायतका क्षेत्रबाट पनि धेरै मानिसहरु हेर्न आएको उनले बताए। ‘हेर्दा धुँवाजस्तै कालो देखिन्छ, हात राख्दा तातो महसुस हुन्छ,’ राईनासबाट आईपुगेका दिपेन्द्र थापाले भने, ‘तर त्यो धुँवा होईन, पानीको वाफजस्तो ओसिलो छ।’ दिउँसो घाम लागेको समयमा वाफ उडेको नदेखिने तर विहान घाम उदाउनु अघि छिन–छिनमा स–सानो मुश्लो देखिने गरेको सिउँडीबारकी जुठीमाया गुरुङले बताईन्।

सो घटना पछि स्थानीयले छानविन गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन गरेको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए। भौगर्भिक परीक्षणका लागि गृह मन्त्रालय मार्फत् खानी तथा भूगर्भ विभाग हुँदै सम्बन्धित निकायमा पत्रचार भई आवश्यक प्रकृयामा रहेको पनि प्रमुख जिल्ला अधिकारी मैनाली बताउँछन्। क्षेत्रिय प्रशासक अक्ष्मण अर्याल, उपक्षेत्रिय प्रशासक गिरीधारी सुवेदी, प्रमुख जिल्ला अधिकारी मैनाली, जिल्ला प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्ट लगायतले बुधबार घटनास्थलको स्थलगत निरीक्षण गर्दै स्थानीयबासी सँग त्यसबारे जानकारी लिईसकेको समेत मैनालीले बताए।

 

प्रकाशित: २६ पुस २०७४ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App