४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

चन्दा र श्रमदानबाटै लमजुङमा अस्थायी मोटरेबल पुल

तस्बिर सैजन्य: घनश्याम घले।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुमा स्थानीयले श्रमदानबाटै अस्थायी मोटरेबल पुलको निर्माण सुरु गरेका छन्।

विगत चार वर्षदेखि स्थानीय आफैंले चन्दा संकलन गरी काठको अस्थायी मोटरेबल पुल निर्माण गर्दै आइरहेका हुन्।

यसरी बनाइएको पुल मर्स्याङ्दी नदीको बहाव अनुसार राख्ने र निकाल्ने गरिन्छ। स्थानीयका अनुसार नदीको बहाव बढेको समयमा निकालिन्छ र बहाव घटेसँगै हरेका वर्ष पुनः जडान गरिन्छ।

यसरी हरेक वर्ष बनाइने यो पुलले कम्तीमा छ महिनासम्म प्रयोगमा ल्याइन्छ। सरकारले पक्की मोटरेबल पुल निर्माण गर्न चासो नदेखाए पछि यहाँका स्थानीय आफैं पुल बनाउन सक्रिय भएका हुन्।

अस्थायी मोटरेबल पुल निर्माणले आवतजावत गर्न सहज हुनैका साथै यातायात तथा ढुवानी गाउँसम्म पुर्‍याउन सहज हुने स्थानीय बताउँछन्।

पुल निर्माणका लागि यो वर्ष स्थानीको चन्दासँगै वडाबाट २ लाख र पालिकाबाट ३ गरी ५ लाख विनियोजन भएको मर्स्याङ्दी–५, घेर्मुका वडाध्यक्ष घनश्याम घलेले जानकारी दिए।

उनका अनुसार पहिलो दुई वर्ष स्थानीयकै चन्दा संकलनबाट अस्थायी पुल निर्माण गरिएको थियो। सो बेला करिब साढे तीन लाख हाराहारीमा उक्त पुल निर्माण भएको उनले बताए। 

गत वर्ष भने १ लाख वडाबाट र बाँकी चन्दाबाट उक्त पुल बनाइएको थियो। पुल निर्माणका लागि गत वर्ष भने ५ लाख हाराहारी बजेट लागेको उनले सुनाए।

यस वर्ष भने ५ लाख भन्दा बढी नै खर्च हुने उनको अनुमान छ। यस वर्ष वडाबाट २ लाख र पालिकाबाट ३ लाख गरी ५ लाख छुट्टाइएको उनले जनाए। निर्माणका लागि रकम पर्याप्त नभए देश विदेशबाट पनि चन्दा संकलन हुने उनको भनाइ छ।

‘पुल अस्थायी भएपनि धेरै टिकाउ हुन्छ। ट्र्याकटरहरु सहज लोड लिएर खोला पार गर्न सक्छन्। जिप लगायत अन्य सवारीहरु पनि सहज चल्छ।’  वडाध्यक्ष घलेले भने।

पक्की मोटरेबल पुल नहुँदा यहाँका स्थानीयले हरेक वर्ष सस्ती खेप्नुपरेको छ। मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घेर्मु जोड्ने मर्स्याङ्दी नदीमा विगतका वर्षदेखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेबल पुल नहुँदा सास्ती खेप्नुपर्न बाध्यात्मक अवस्था छ।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु वडाध्यक्ष घलेले पक्की पुल निर्माणका लागि पहल गरिरहेको भएता पनि सुनवाइ नभएको बताए। अघिल्लो वर्ष डिपिआर पनि भइसकेको तर बजेट नआएको प्रति उनको गुनासो थियो।

प्रकाशित: १४ मंसिर २०८० १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App