२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

मोबाइलमा मंगल धुनको आनन्द

काठमाडौं लगनटोलकी बेबी गुप्ता छठको दोस्रो दिन घरमै खरना पूजा गर्दै। तस्बिर: रुबी/नागरिक

भर्खरै नेपाली समाजले एकपछि अर्को गर्दै दसैं, तिहारजस्ता महान् पर्व मनाइसकेको छ। यसै क्रममा अर्को महान् पर्व छठको अवसरमा मोबाइलमा बजिरहेको मंगल धुन रिङ टोनले छठ नजिक आएको महसुस गराएको छ।  मोबाइलमा कसैलाई फोन गर्नासाथ सो मंगल धुन सुनिन्छ।

बहुसांस्कृतिक तथा बहुधार्मिक गरिमा कायम राखेको छठ पर्व शुक्रबारदेखि नै नहाय खाय गरी सुरु भइसकेको छ।

मंगल धुन बज्ना साथ छठ व्रतालु मात्र होइन, जोकोहीको पनि मन आन्द भएको एरोविक प्रशिक्षक राज्यलक्ष्मी स्थापितले महसुस गरेकी छिन्। ‘मैले साथीभाइलाई कल गर्दा छठको मिठो मंगल धुन कानमा बज्यो। आहा, मलाई यो धुनले तराईको छठ घाटमा पुगेर पूजा गरेजस्तो पो महसुस भयो,’ प्रशिक्षक स्थापितले आफ्नो अनुभव सुनाइन्, ‘धुन सुन्नासाथ मलाई मधेसका दिदीबहिनीले आफ्नो शिरमा बाँसको दउरीमा छठ पूजाको सामान बोकेर मुस्कुराउँदै नदीकिनार वा जलाशयतिर हिँडेको महसुस भयो।’

उनले दसैंतिहार सकिएलगत्तै छठ आगमनको आभास भएको बताइन्। ‘धुनले रोमाञ्चित महसुस भयो,’ उनले भनिन्, ‘छठको मंगल धुनले सकारात्मक सन्देश दिएको र सामाजिक सद्भाव जगाएको महसुस भयो।’

पछिल्लो समय नेपाल टेलिकमले पर्वहरूलाई उत्साहमय बनाउन मंगल धुन बजाउने गरेको छ। जसले जोकोही पनि सकारात्मक बन्नुका साथै सबै पर्वबारे जानकार हुने भएको सारिका खड्गीले जनाइन्।

उनलाई मोबाइलमा पर्वअनुसारको रिङटोन सुन्दा वरिपरिको वातावरण सकारात्मक बन्ने गरेको अनुभव हुन्छ। खड्काले दसैंबारेको मंगल धुन र तिहारको मंगल धुन मोबाइलमा बज्दा घरघरमा पर्वहरू भित्रिएको आभास हुने गरेको सुनाइन्। ‘मोबाइलमा विभिन्न पर्वमा बज्ने रिङटोनले युवा पुस्तालाई चाडपर्वबारे जानकारी दिन्छ,’ सारिकाले नागरिकसँग भनिन्, ‘म नेवार समुदायकी भए पनि हाम्रा नयाँ पुस्तालाई नेवारी बाजा तथा संस्कृतिबारे थाहा नभएको बुझेकी छु।’

आजको युवा पुस्ता मोबाइलमै झुन्डिने पुस्ता भएको भन्दै उनले मोबाइलबाटै चाडपर्वअनुसार रिङटोन युवा पुस्तालाई आफ्नो धर्मसंस्कृति जगेर्ना गर्ने पाठ भएको बताइन्। हरेक समुदायका पर्वबारे जानकार बन्ने माध्यम मोबाइल रिङटोन बनेको छ।

 दसैंतिहारलगत्तै आउने छठ पर्वको अवसरमा शुक्रबारदेखि बजिरहेको मंगल धुन रिङटोनले मधेसमा मात्र होइन, देशभरिका जनताले छठ पर्वको महिमा बुझ्ने अवसर पाएका छन्।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार नेपाल सरकारले टेलिकममार्फत सामाजिक सचेनता जगाउने रिङटोन बजाउने व्यवस्था कोरोना महामारीको समयदेखि गरेको हो।

कोरोना अवधिभरि समाजमा सचेतनामूलक रिङटोनले जनतालाई कोरोनाबाट बच्ने उपायबारे सचेतना जगाएको र यसले धेरै हदसम्म रोगसँग बच्न समाज, समुदाय तथा व्यक्तिलाई सजग बनाएको अनुभव टेलिकमसँग छ।

यसै सन्दर्भमा हरेक राष्ट्रिय पर्वलाई जनसमुदायसँग जोड्ने लक्ष्यसहित नेपाल टेलिकमले पर्वअनुसारका मंगल धुन बजाउन थालेको प्रवक्ता अधिकारीले जनाए।

‘यसो त ग्राहकको रुचिअनुसार मोबाइलमा रिङटोन बजाउने चलन २०६८ सालदेखि सुरु भयो। तर सामाजिक सचेतना जगाउने नेपाल सरकारको रिङटोनको सुरु भने कोरोना कालदेखि भएको हो,’ प्रवक्ता अधिकारीले नागरिकसँग भने, ‘यसै सन्दर्भमा नेपाल टेलिकमले हरेक राष्ट्रिय पर्वलाई उत्साहपूर्वक मनाउन र सबैसँग जोड्नकै लागि पर्वअनुसारको मौलिकता कायम हुने मंगल धुन बजाउन सुरु गरेको हो।’

छठको दोस्रो दिन खरना पूजा

हिन्दुहरूको महान् पर्व छठको दोस्रो दिन शनिबार व्रतालुले खरना पूजा गरेका छन्। काठमाडौंको लगनटोलकी बेबी गुप्ताको घरमा शनिबार खरनाको प्रसाद ग्रहण गर्न श्रद्धालु तथा भक्तजनको जमघट थियो। उनको घरमा पहाडी र मधेसी दुवै मूलका भक्तजनको उपस्थितिले छठ पर्वलाई उत्सवमय बनाएको थियो।

छठ परमेश्वरी (षष्ठिका देवी)को आगमन खरनाकै दिन हुने भएकाले यसलाई पहिलो छठ भनिने व्रतालु बेबीले बताइन्। उनले खरना पूजा केराको पातमा गहुँको रोटी, केरा, रसियाव अर्थात् सक्खर र सठिया चामलले पानीमा बनेको नैवेद्य, ऋतुअनुसारका फल, मुला आदि छठ परमेश्वरीलाई चढाएर धूपदीपपूर्वक पूजा गरिन्। उनलाई पूजासामग्री व्यवस्थापनमा उनका पति मनोज गुप्ता, काकाकाकी तथा साथीले सघाइरहेका थिए।

यसै दिनदेखि व्रतालुले दिनभरि चोखो रही निराहार बसेर साँझ खरना पूजन गरेर मात्र केराको पातमा चढाएको प्रसाद खानुपर्ने चलन छ। पूजा सकिएपछि उनले सबैलाई प्रसाद बाँडिन् र आफूले पनि खाइन्।

चोखोपन र शुद्धताको विशेष ख्याल राख्नुपर्ने यस पर्वमा खरनाका दिन नयाँ वस्त्र धारण गरी प्रसाद खानुपर्ने उनले बताइन्। कात्तिक शुक्ल पञ्चमीका दिनलाई खरना भनिन्छ।

 उनको घरमा छठ परमेश्वरीको गीतले सबैको मन आनन्दित बनाएको थियो। आफ्नी बाल्यकालकी साथी मनीषा मानन्धर ताम्राकारलाई उनले खरना पूजा गरेसँगै नाकदेखि सिउँदोसम्म पहेँलो सिन्दूर लगाइदिइन्। साथै अन्य अविवाहित महिला र पुरुषलाई पनि टीका लगाएर आशिष दिइन्। खरना पूजापछि सबैले व्रतालुको हातबाट टीका लगाएर आशीर्वाद लिनुपर्छ।

यस दिन व्रतालुले विवाहित महिलालाई नाकदेखि सिउँदोसम्म सिन्दूर लगाइदिए भावी पतिको आयु लामो हुने जनविश्वास छ। ‘म वीरगञ्जमा जन्मेहुर्केकाले छठी माताको महिमा मलाई राम्ररी थाहा छ।

नाकदेखि सिउँदोसम्म सिन्दूर लगाउँदा छठी माताको आशिषले पतिको आयु लामो तथा मानिस निरोगी हुन्छ,’ मनीषाले भनिन्, ‘बाल्यकालदेखि नै वीरगञ्जमा रहँदा पूजा गर्थें। मेरो मनोकामना छठी माताले पूरा गर्नुभएको छ।’

कात्तिक शुक्ल चौथीका दिन नहायखाय गरी सुरु भएको छठ पूजाको तेस्रो दिन आइतबार साँझिया घाट हो। यस दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्यर्­ दिएर पूजा गर्छन् भने कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा सम्पन्न गर्छन्।

‘खरनामा दिनभर निराहार बसेर साँझ पूजा गरेर विनानुनको प्रसाद खानुपर्छ,’ व्रतालु बेबीले भनिन्, ‘षष्ठीका दिन पनि दिनभर निराहार व्रत बस्नुपर्छ। यस दिन परिवारका सबै सदस्य मिलेर छठी मातालाई मन पर्ने ठेकुवा, पुरी, कसार लगायत मुख्य प्रसाद बनाउँछौं। फलफूललगायत पूजासामग्री लिएर नदीकिनार वा घाट गई पूजा गर्नुपर्छ। सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरेर मात्र नुन हालेको खाना खानुपर्छ।’

काठमाडौंका नदी, पोखरी निकै दुर्गन्धित भएकाले धेरै भक्तजन घरमै छठ पूजा गर्न बाध्य बनेको उनको भनाइ छ। ‘हाम्रो घरनजिकको टंकेश्वर नदीमा ढल बग्छ,’ बेबीले गुनासो गरिन्, ‘काठमाडौंको मेयरले कम्तीमा छठ पूजालाई लक्षित गरी पोखरी, नदीहरू सफा गरिदिनुपथ्र्यो, त्यसो भएन। त्यसैले म घरमै पोखरीजस्तो बनाएर पूजा गर्दै आएकी छु।’

प्रकाशित: ३ मंसिर २०८० ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App