२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग

कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।

स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका खाइलाग्दो ज्यान भएका युवक कृष्णको प्रहरी हिरासतमा बिहिबार बिहान अचानक मृत्यु भएको थियो। युवकको ‘हत्या’ भएको आरोप लगाउँदै घटनाको छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याउने माग राखी आफन्तले शवको पोष्टमार्टम समेत गर्न दिएका छैनन्। ‘स्वास्थ्य अवस्थामा कुनै समस्या नभएका मेरा भाइको हत्या गरिएको हो, छानबिन गरेर सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्छ भनेर हाम्रो माग हो’ मृतकका दाजु गणेश सेट्टीले भने,‘भाइको हत्या भएको घटना पत्ता लगाउनुपर्छ भनेर हामीले शवको पोष्टमार्टम पनि गर्न दिएका छैनौँ।’

बुधवार साँझ मात्र कम्मल दिन हिरासतमा गएका वेला भाइको स्वास्थ्य अवस्था ठिक रहेको उनको भनाइ छ। ‘हट्टाकट्टा ज्यान भएको मेरो भाइको अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या थिएन, अघिल्लो दिन साँझ भेट्दा पनि ठिक थियो, बिहीबार बिहान बिरामी भयो भनेर प्रहरीले खबर गरेर बुहारी र म आउँदा अस्पतालमा भाइको लास देख्यौँ’उनले भने,‘आफै मृत्यु भएको हो भनेर कसरी पत्याउने?’ प्रहरीले मृतकका आफन्तलाई प्रहरी कार्यालय भित्र उनलाई राखेको हिरासत र बयान लिएको ठाउँको सिसि क्यामेरा हेर्न दिएको छ।

कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्र सिंह पालले बिहिबार बिहान बयान लिने क्रममा कुर्सीबाट बेहोस भएर ढलेको र उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा युवकको मृत्यु भएको बताएका छन्। ‘सिसि क्यामेरा हेर्दा हिरासत भित्र पनि ती युवक तनावमा बस्ने, उठ्ने र यताउता हिँड्ने छटपटाहट भएजस्तो देखिन्छ,’ एस पी पालले भने,‘बयान लिने क्रममा कुर्सिमा बसेकै वेला बेहोस भएर ढल्नु भयो र उपचारका क्रममा मृत्यु भयो।’ सेती प्रादेशिक अस्पतालमा ल्याउँदा सेट्टी गंभिर अवस्थामा रहेको अस्पतालका प्रवक्ता किशोर श्रेष्ठले बताए। पोष्टमार्टम हुन बाँकी रहेकोले मृत्युको यकिन कारण खुल्न सकेको छैन। मृतकका आफन्तले नै पोष्टमार्टम हुन नदिएको श्रेष्ठले बताए।

मृतक सेट्टीका श्रीमती, चार र छ वर्षका एक छोरा एक छोरी रहेका छन्। धनगढी उपमहानगरपालिका वडा नं १६ विद्यालय क्षेत्रमा गत सोमवार पसलबाट मदिरा चोरी खाएको भनेर ३८ वर्षीय लालबहादुर थापाको वासँको लाठी हानेर हत्या गरेको अभियोगमा सेट्टी पक्राउ परेर प्रहरी हिरासतमा रहेका थिए।

प्रकाशित: २४ कार्तिक २०८० ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App