१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोको उच्च जोखिममा खलंगा बजार

शुक्रवार राति सडक भासिने गरी गएको पहिरोले जोखिममा परेको न्युरोड बस्ती । तस्बिर:जनक केसी

जाजरकोट – शुक्रबार राति खलंगाको ठाँटीबजार स्थित न्यूरोडमा दुई दर्जन बढी घरहरू प्रभावित हुने गरी गएको पहिरोेले खलंगाबासीहरु आतंकित भएका छन् । अविरल वर्षाका कारण शुक्रबार राति साँढे १० बजे तिर गएको पहिरोले ठाँटीबजारको न्यूरोड स्थित नेपाल रेडक्रस सोसाइटीको भवन देखि थाप्ले स्थित खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सम्मका दुई दर्जन बढी पहिरोको जोखिममा परेको हो। 

जाजरकोट डोल्पा सडक खण्डको छेउमा रहेको भेरी नगरपालिका ३ ठाँटीबजार स्थित न्यूरोड बस्ती पहिरोेले २ सय मिटर लामो सडक पुर्णरुपमा भासिएपछि  बग्ने खतरामा परेको छ । बस्ती बग्ने खतरामा परेपछि  सयौं सर्वसाधारणहरू आतंकित भएका छन् । उक्त क्षेत्रमा स्थानीयलाई हिडडुल गर्न समेत जोखिम भएको छ । पहिरोका कारण केन्द्रीय विद्युत लाइन जडानका लागि गाडिएका पोल र तानिएका तारहरू समेत बगेका छन् । पहिरोका कारण उक्त सडक खण्डमा चालु कालोपत्रे गर्ने काम समेत रोकिने भएको छ । पुरै सडक भासिएर साइकल पनि हिड्न नमिल्ने भएको छ । सडक निर्माण र ढल निकासको गतिलो योजना नहुँदा  सदरमुकाम खलंगाको मुख्य बजार पहिरोले बग्ने खतरा बढेको हो । २ सय मिटर सडक भासिएर ७ सय मिटर तल पुगेपछि तत्काल पहिरो रोकथामको उपायाको कुनै सम्भावना नभएको स्थानीय गणेश थापाले बताए । पहिरो रोक्ने सरकारले तत्काल पहल नगरे आफूहरू घर न घाटको हुने उनले बताए । पहिरोका कारण न्यूरोडबाट विभिन्न स्थानका लागि छुट्ने गाडीहरू वन्द भएर अर्काे तर्फको सडक छेउमै थन्किएको र न्यूरोड क्षेत्रमा स्थानीयहरू बस्न डराएर वैकल्पिक बासको खोजी गर्न थालेको उनले बताए।

वर्षातमा विभिन्न ठाउँबाट बग्ने ढल उचित रुपले व्यवस्थित नहुँदा बस्ती नै बग्ने गरी पहिरो गएको जाजरकोट उद्योग वाणिज्य संघका महासचिव बुद्धिबहादुर खत्रीले बताए । उनले सडक निर्माण गर्दा नाली नबनाउने र घर बनाउँदा निस्किएको माटो जथाभावी सडकमा थुपार्ने गर्नाले यति ठूलो पहिरो गएको बताए । भत्किएको सडकको पुनःनिर्माण र बस्तीलाई पहिरोको जोखिमबाट जोगाउन सानो बजेट र योजनाले नपुग्ने उनले बताए। 

वर्षात नरोकिए पुरै बस्ती बग्ने खतरा बढेकोले सरोकारवाला निकायले जनताको जिउधनको सुरक्षाको लागि केही गर्नुपर्ने माग गरेका छन् । सडक पुनःनिर्माणको काम पनि तत्काल सुरु गर्नु पर्ने स्थानीयको माग छ । सडक छेउ छाउमा अव्यस्थित बजार र बस्ती विस्तार एवम् बन बिनासका कारण पुरै खलंगा बग्ने खतरामा रहेको नागरिक अगुवा केशवजंग शाहले बताए । यत्रो नगरपालिका भित्र न नालीहरू बनेका छन् न ढलनिकासको उचित व्यवस्था छ न सडकमा व्यवस्थित ढंगले घर निर्माण गरिन्छन, शाहले भने । उनले नगरपालिकाले बजार व्यवस्थापन र सहरीकरणको गतिलो योजना कार्यान्वयन नगरेका कारण खंलंगाका बस्तीहरू पहिरोको उच्च जोखिममा परेको बताए । स्थानीयहरूको लापरवाही र सडक निर्माणको गुणस्तरहीन कामले न्यूरोड पुरै बग्ने खतरामा परेको उनले बताए।

न्यूरोड मात्र होइन पहिरोले नयाँ बस्ती, बाहुनडाँडा, शान्ति चौतारादेखि गैरीखाली जाने सडक, गैरीखाली देखि रिसाङ  हुँदै पाँचकटिया जाने बाटोमा समेत ठूलो जोखिम निम्त्याएको स्थानीयवासीको भनाइ छ । न्यूरोड पहिरोबाट बस्ती बग्ने खतरा टार्न जिल्लाको सामथ्र्यले नपुग्ने र तत्काल उपयुक्त पहल नगरे ठूलो मानवीय क्षति समेत व्यहोर्नु पर्ने भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताए । उनले घर निर्माण गर्दा मापदण्ड नपुर्याउने र विकासमा निगरानी नराख्ने स्थानीयहरूको व्यवहारले  पनि पहिरोबाट ठूलो क्षति हुने देखिएको बताए । न्यूरोडमा गएको पहिरो र अन्य स्थानमा बढ्दै गएको पहिरोको जोखिमबाट बच्नका लागि करोडौंको वजेट चाहिने भएकोले यसका लागि सडक विभाग, भवन डिभिजन तथा सहरी विकास विभाग लगायतका माथिल्लो निकायले तत्काल उचित योजना र बजेटको व्यवस्था गर्नै पर्ने नगरप्रमुख घर्तीले बताए । नगरपालिकाका तर्फबाट सहरीकरण योजना अन्तरगत भवन निर्माण आचार संहितालाई कडाइका साथ लागु गर्न लागिएको बताए ।  न्यूरोडको पहिरो दीर्घकालीन रुपमा रोक्नका लागि ठूलो योजना जरुरी रहेको प्रमुख घर्तीले बताए। 

 

प्रकाशित: १० भाद्र २०७४ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App