१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्थानीयको आक्रमणमा पूर्व जर्नेल तथा सभासद फुदुङ घाइते

स्थानीयले ढुंगामुढा प्रहार गर्दा घाइते पूर्व जर्नेल तथा सभासद कुमार फुदुङ्

इटहरी- आफ्नो घरको कम्पाउन्ड भित्र रहेको पोखरीमा एक महिलाको मृत्यूपछि सेनाका पूर्व जर्नेल तथा सभासद कुमार फुदुङ्को इटहरीस्थित घरमा आक्रोसित स्थानीयले मंगलबार दिउँसो ढुंगामुढा गरेका छन्। घरमा ढुंगामुढा गर्दा फुदुङ् घाइते भएका छन्।

                फुदुङ्को घर क्षेत्रमा पर्ने पोखरीमा गोरखा दश किलो रानीटारकी २४ वर्षिया सुजिता साही ठकुरी सोमबार बिहान मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद भएको र फुदुङ्ले चितबुझ्दो जवाफ नदिएको आक्रोसमा स्थानीय गाउँलेले घरमा ढुंगामुढा प्रहार गरेका हुन्। स्थानीयबासी मृतक महिलाको घटनाबारे बुझन बिहानैदेखि इलाका प्रहरी कार्यालय इटहरीमा भेला भएका थिए।

 स्थानीयले दिउँसो २ बजेतिर फुदुङ्लाई कारबाही गर्न माग राखेर प्रदर्शन गरे। इलाका प्रहरी कार्यालय अगाडि केही बेर प्रदर्शन गरेसँगै स्थानीयले इटहरी वडा नं. ४ मा पर्ने फुदुङ्को घरमा ढुंगामुढा प्रहार गरेका थिए।  स्थानीयबासी उत्तेजित भएसँगै प्रहरीले धर्नामा बसेकालाई लाठीचार्ज गरि लखेटेको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए। ढुंगामुढा प्रहार गर्दा फुदुङ्को टाउँकोमा चोट लागेको छ। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

                ‘प्राइभेट पोखरीमा महिलाको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, किटानी जाहेरी आएमा जाहेरी बुझ्ने र कारबाही थाल्ने पनि सहमति भएको थियो,’ सुवेदीले भने, ‘एक्कासी गाउँले प्रहरी कार्यालय अगाडि धर्ना र फुदुङ्को घरमा ढुंगामुढा गरे।’ उनका अनुसार, घटनाबारे प्रहरीले गम्भीर ढंगले लिएर अनुसन्धान अघि बढाई सकेको छ।

                इटहरी वडा नं. ४ फुदुङ्को ठूलो वगैंचा क्षेत्रबीचमा घर पर्छ । घर क्षेत्रमै केही बर्षअघि रिसोर्ट सञ्चालनमा थियो। रिसोट सञ्चालन हुँदा सुजिता र उनका श्रीमान् रन्जित रानामगर काम गर्थे। त्यतिबेला रिसोर्ट फुदुङ्, रोजन राईलगायतको टीमले सञ्चालन गरेको थियो । सुजिताको बच्चा हुने भएपछि काम छाडेर काठमाडौ गए। काठमाडौंमा बसेर काम गरेपछि रन्जित गोरखा घरमा फर्कन तयार भए। प्रेम विवाह भएकाले गर्दा घर परिवारले स्वीकार नगर्ने चिन्ताले गर्दा सुजिता रन्जितसँग घर फर्कन तयार भइनन् । त्यही भएर आठ महिनादेखि सुजिता र रञ्जित अलग अलग नै बस्दै आएका थिए। छोरा साहीराज भने रन्जितसँगै बस्दै आएका थिए।

‘एक साताअघि मात्र सुजिताले मलाई फोन गरेर गोरखामै आएर भेटिन। भेट्दा विदेश जाने योजना सुनाएर पासपोर्ट बनाउन लागेको बताएकी थिइन्,’ रन्जितले भने, ‘सुजिता इटहरी कसरी आइन र किन आइन्। अचम्मित भएको छु।’

सुजिता सोमबार बिहान ८.३० बजे फुदुङ्को घरमा आएकी थिइन् । दश बजेतिर उनी पोखरीमा मृत भेटिएकी थिइन् । पोखरी करीब दस फिट गहिरो छ । ‘घटना बडो रहस्यमय छ, यसबारे प्रहरीले गम्भीर ढंगले छानबीन गरि दोषीलाई कारबाही गर्नुपर्छ,’ इटहरी वडा नं. ४ कै पूजा खड्काले भनिन् । फुदुङ्ले प्रहरीसमक्ष सोमबार बिहानै घरमा आएको र कोक खाना दिएपछि वगैचा हेर्न भनेर निस्किएकोमा पोखरीमा मृत भेटिएको बताएका छन्।

 

 

                                                               

प्रकाशित: १३ असार २०७४ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App