भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका हेमराज शर्माले मध्य असार लक्षित गरेर धानको बिउ राखेका थिए। दुई बिघा क्षेत्रफलमा रोप्न पुग्ने गरी राखेको बिउ कुहिएको छ। आकाशबाट पानी पर्ला र समयमै नारायणीको पानी छाडिएला भन्ने आशाका साथ बिउ राखेका शर्मा खेत रोपाइँ गर्न नपाएर चिन्तित छन्।
‘टाँडी खेतको १० कट्ठालाई पुग्ने गरी रोखेको बिउ कुहिसक्यो। जोतेर अन्य बाली लगाउने सोच बनाएको छु। घोलको खेतलाई राखेको बिउ पनि बुढो भइसक्यो,’ शर्माले विगत सम्झँदै थपे, ‘अघिल्लो वर्ष बोरिङमा पानी थियो। पम्प लगाउँदा पनि पानी आएन। नारायणीबाट आउने नहरमा पानी छाडिएको पनि छैन।’ बिउ राखेको पनि एक महिना भइसक्यो। केही दिनमा ठुलो पानी नआए बाँकी रहेको बिउ पनि कुहिने उनले बताए।
पश्चिम चितवनका अधिकांश किसानले सिँचाइ अभावका कारण खेत रोप्न पाएका छैनन्। असार मसान्तको अन्तिमसम्म आइपुग्दा चितवनमा बल्ल ५० प्रतिशत मात्र रोपाइँ भएको छ। अघिल्लो वर्ष यो अवधिमा ७० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र चितवनका निमित्त प्रमुख कमला न्यौपाने बताउँछिन्। पूर्वी चितवनका अधिकांश जमिनमा सिँचाइ सुविधा छ। पानी स्रोत पनि राम्रो छ तर पश्चिम चितवननजिकै नारायणी बगे पनि गण्डक सम्झौताका कारण त्यहाँका स्थानीय जनताले मोटरसमेत लगाएर पानी तान्न पाउँदैनन्। जसले गर्दा किसान समस्यामा छन्। सिँचाइका कारण नै किसानले धान रोप्न नसकेको न्यौपानेले बताइन्। ‘चितवनमा पर्याप्त मात्रामा आकाशबाट पानी परेको छैन। भएका डिप बोरिङ खडेरीका कारण सुके,’ उनले भनिन्, ‘नारायणीको पानी नछाड्दासम्म समस्या नै छ।’
पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिँचाइको नहर र नारायणगढ बसपार्कनजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँका लागि प्रयोग गर्ने गरिन्छ। यी नहर अहिलेसम्म छाडिएको छैन। साउन पहिलो साताभित्र मात्र छाड्ने तयारी नारायणी लिफ्ट आयोजनाको छ। ‘लिफ्टमा मेसिन जडानको काम भइरहेको छ। अझै केही दिन लाग्ने लाग्छ,’ आयोजनाका इन्जिनियर कुलराज चालिसेले भने, ‘साउन ७ गतेभित्र छाड्ने तयारी गरेका छौं।’ अघिल्लो वर्ष असार २५ मा पानी छाडिएको थियो। पानी नछाड्दा किसान समस्यामा परेका छन्। अहिले बोरिङबाट खेती गर्ने किसान सबैभन्दा समस्यामा परेको उनको भनाइ छ। नहरबाट रोपाइँ गर्ने किसानलाई पूर्वसूचना गरेर ढिला गरी बिउ राख्न भनिएको चालिसेले बताए।
पुराना पम्प मोटर बिग्रँदा नयाँ मोटर जडान कार्य भइरहेको छ। प्रदेश सरकारको सहयोगमा २५ करोड लगानीमा मोटर फेर्ने काम भएको हो। पुसमा ठेक्का लागेर काम थालिएको थियो। टेक्नोलोजीको हिसाबले काम छिटो भइरहेको चालिसेले बताए। नयाँ मेसिनले एक सेकेन्डमा १२ सय घनमिटर पानी तान्ने बताइएको छ। नारायणी लिफ्टमा रहेका चार पम्पमध्ये दुईवटाबाट दुई घनमिटर प्रतिसेकेन्ड र दुईवटा पम्पबाट चार घनमिटर प्रतिसेकेन्ड पानी तान्ने क्षमता रहेको छ। ४० वर्ष पुराना मेसिनका कारण पानी तान्दातान्दै बिग्रने अवस्था आउने गरेकाले यसलाई परिवर्तन गरिएको हो। नारायणी लिफ्ट सिँचाइ सञ्चालनमा आएसँगै नारायणपुर, कैलाशनगर, पारसनगर, देवनगर फूलबारी, शिवनगर, गीतानगर, पार्वतीपुरलगायत क्षेत्रमा सिँचाइ हुने गर्छ।
२०४० सालमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट ४ हजार ७०० हेक्टर क्षेत्रफल सिँचाइ हुने गर्छ। नारायणी नदीको लिफ्टिङ गरेर पानी निकाली नहरमा पठाइन्छ, जसबाट २५ हजार घरधुरी लाभान्वित हुने गरेका छन्। पानी समयमा छाड्न नसक्दा ती कृषक मर्कामा परेका हुन्। जिल्लाका साबिकका गाविसहरू पिप्ले, भण्डारा, कठार, कुमरोज र बछ्यौली धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन्। यस क्षेत्रमा अधिकांश ठाउँमा धान रोपाइँ गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जनाएको छ। तर पश्चिम चितवनमा न्यून मात्रमा रोपाइँ भएको छ। जिल्लामा ३३ हजार ८३६ हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये १९ हजार ८९३ हेक्टरमा बर्खे धान र ७ हजार ५२७ हेक्टरमा चैते धान हुन्छ।
चितवनमा खेतीयोग्य जमिनमध्ये ९४ प्रतिशतमा सिँचाइ पुगेको छ। सिँचाइ पुगेकामध्ये १७ प्रतिशतमा आंशिक सिँचाइ पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। ८३ प्रतिशत अर्थात् ३५ हजार ८४ हेक्टरमा जमिनमा वर्षभरि सिँचाइ गर्न मिल्ने बताइएको छ।
प्रकाशित: ३० असार २०८० ००:५२ शनिबार