१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आजदेखि नदी शिखर सम्मेलन

काठमाडौं- अत्यधिक उत्खनन् र दोहनका कारण संकटमा परेका मुलुकभरका नदी जोगाउने उद्देश्यले विभिन्न संघसंस्था मिलेर बिहीबारदेखि चारदिने दोस्रो नदी शिखर सम्मेलन गर्ने भएका छन्। सम्मेलन आयोजक कमिटी अध्यक्ष मेघ आलेले देशभरका नदी विभिन्न कारणले विनासोन्मुख भएकाले प्राकृतिक अवस्थामै फर्काउने उद्देश्यले सम्मेलन गर्न लागिएको जानकारी दिए।

'एकादेशमा नेपालमा पनि नदी थिए भन्ने अवस्था आइसकेको छ। मानवीय क्रियाकलापले गर्दा नदीको पर्यावरणीय चक्र बिथोलिएको छ। र, पानीको मात्रा पनि घटेको छ। यसतर्फ कसैको ध्यान पुगेको छैन', उनले सम्मेलनबारे जानकारी दिन  आयोजित पत्रकार सम्मेलनमा भने, 'सरकारका कुनै पनि निकायले नदी संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिएका छैनन्। जसले गर्दा नेपालका ठूलासाना नदीले प्राकृतिक अस्तित्व गुमाइसकेका छन्।'

पत्रकार सम्मेलनमा काठमाडांै विश्वविद्यालयका प्राध्यापक तथा नदीविज्ञ सुबोध शर्माले नेपालका नदी क्षणिक लाभका कारणले बलात्कृत भइरहेको तिखो टिप्पणी गरे। 'राजनीतिक नेतृत्वको अज्ञानताका कारण अझ बढी बलात्कृत भइरहेका छन्', उनले भने, 'अहिले नदीलाई ढुंगागिटी उत्पादन थलोका रूपमा मात्र हेरिएको छ। यो बुझाइ गलत भयो।'

शर्माले नदी विनाशले गर्दा सुर्खेत, दिपायल, दाङ, धनकुटालगायत सहरमा निकट भविष्यमै पानीको हाहाकार हुने निश्चित भइसकेको जानकारी दिए। 'अत्यधिक उत्खननले गर्दा पानीमा सिसाको मात्रा बढेको छ। नेपालका ९० प्रतिशत नदीको पानी धमिलिएको छ', उनले भने।

उनका अनुसार नेपालमा साना र ठूला गरी दुई किसिमका नदी छन्। कोसी, गण्डकी, कर्णाली र महाकालीको पानी स्रोत भनेको हिमाल हो। दोस्रो किसिमका तिनाउ, बबई, राप्ती नदीको पानीको स्रोत भने वर्षाले फुटाउने मूल हो। 'अत्यधिक उत्खनन र दोहनले गर्दा दोस्रो किसिमका नदी संकटमा परेका छन्', शर्माले भने। नेपालमा करिब ६ हजार नदी भएको पुरानो अध्ययनले देखाएको छ।

वातावरण अधिवक्ता चिरञ्जीवी भट्टराईका अनुसार नदी संरक्षण र व्यवस्थापन गर्ने सरकारी नीति  छैन। 'अरू सबै नीति छन्, यो  छैन। कुनै निकायले यसको जिम्मेवारी लिएका छैनन्', उनले भने। वातावरण अभियन्ता सनोट अधिकारीले नेपालमा नदी थिए र तीनमा माछा पनि थिए र भन्ने दिन नजिकिँदै गएको टिप्पणी गरे।

अध्यक्ष आलेका अनुसार सम्मेलनमा नदीस“ग सरोकार रााख्ने सरकारी निजी, गैरसरकारी, विकास साझेदार तथा आश्रित समुदायको सहभागितामा नदी व्यवस्थापन र संरक्षणका लागि बृहत् छलफल हुनेछ।  सम्मेलनको बन्दसत्र त्रिशूली नदीको किनार, थेबेटार गोरखामा हुनेछ। 'सम्मेलनमा भारत, अमेरिका, पाकिस्तान, भुटान र बेलायतका विज्ञ सहभागी हुनेछन्', आलेले भने।

प्रकाशित: ३ चैत्र २०७३ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App