१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कलमले सही छाप गर्ने धोको छ

जाजरकोट- उमेरले नेटो काट्नै लागेपनि  झाप्रा ६ खलटाकुराकी गंगा पुनलाई  हिजो आज किताब कापी निकै प्यारो लाग्छ। किताब र कापीमा लेखेका  अक्षर चिन्ने  जीवनको धोको बनेर मनको कुनामा सजिएको छ। सानैमा बिहे गरेर घरमा पढ्नै नपाएकी  गंगालाई घरमा श्रीमान र छोराछोरीले   किताब  खरर पढेको देख्दा निकै  रमाइलो लाग्ने गर्छ। कितावमा लेखेका कापीमा लेखिएका अक्षरहरु चिन्ने मात्र होइन आफनो नाम पनि लेख्न पाए हुन्थ्यो भन्ने रहर उनको मनमा छ। आफनो अक्षर चिन्ने र पढ्ने धोको पुरा गर्न गाउँमा साक्षर नेपाल अन्तरगतको कक्षामा उनी कस्सिएर  पढ्न लागेकी छिन्। 

  एउटा किताब र कापी बोकेर गाउँमा  सन्चालित  सामुदायीक अध्ययन केन्द्रको कक्षामा  साँझ विहान  धाउने गर्छिन गंगा। पढाइमा निकै ध्यान दिने गंगालाइ  यत्रो वुढो उमेरमा पढेर के गर्नु भन्ने कहिल्यै नलागेको सुनाउँछिन्। 'सवैले कापीमा कलमले लेख्छन् अनी सहिछाप गर्छन मलाइ पनि कलमले लेख्न मन लाग्छ त्यहि सिक्ने मन छ', गंगाले भनिन्, 'घरमा श्रीमान र छोराहरु सवैले पढेका छन्  मलाइ भने केहि नआउने  पढ्नु परेन त? '

अरुले  गाउँका विभिन्न वैठकहरुमा सहि गरेको  र आफ्नो नाम  आफैले लेखेको देखेर  निकै रहर लाग्ने गरेकोले आफुले पढन सुरु गरेको बताइन्। पढाइ सिक्नका लागि पनि  घरको काम  थन्काएर पनि आफु पढ्ने ठाउँमा  गंगा पुग्ने गरेको स्थानीय सहज कर्ता यज्ञराज कार्कीले बताए ।  गंगामा पढाइ प्रति निकै रुचि रहेको र उनले मिहनेतका साथ पढाइमा सक्रियता देखाएको पनि कार्कीले बताए।

पढाइमा निकै ध्यान दिने गंगालाइ  यत्रो वुढो उमेरमा पढेर के गर्नु भन्ने कहिल्यै नलागेको सुनाउँछिन्। 'सवैले कापीमा कलमले लेख्छन् अनी सहिछाप गर्छन मलाइ पनि कलमले लेख्न मन लाग्छ त्यहि सिक्ने मन छ'

  उनी जस्तै  सोहि गाउँकी  ५८ वर्षीय तुली विकलाई अरुले गाउँमा केहि बैठक हुँदा ल्याप्चे लगाउन लाज लाग्नेगरेको र सो लाजबाट बच्न साक्षर नेपालको कक्षामा पढ्न आएको बताउँछिन्।

सरकारले  विद्यालय शिक्षावाट बन्चित रहेका र जीवनमा पढ्न नपाएकाहरुका लागि  भनेर जिल्लाका २४ गाविसहरुमा सन्चालन गरेको निरन्तर कक्षाहरुमा  अधिकांस ५० वर्ष नाघेका महिला पुरुषहरु सहभागी भएका छन्।

 गाउँमा  सन्चालन हुने विभिन्न समूह र वैठकहरुमा  लेखापढी बढी चल्ने र अरुको अघि ल्याप्चे लगाउने र नाम लेख्न नजान्ने हुँदा निकै लाज लाग्ने गरेकोले  आफुहरु पाको उमेरमा पनि  पढ्न थालेको  भेरी मालिका  नगरपालिका २ डिंगाकी ५४ वर्षीय बली थापाले बताइन्।

 सबैले कलम समातेर रजिष्टरमा नाम लेख्ने हामी तौवाको मोसोले औंला रंगाउने  अनि पढनु परेन त? वलीले पहिले नपढेकोमा पछुतो मान्दै भनिन्। आफ्नै उमेर समूहका  महिलाहरुसंग साँझ बिहान कापी कलम समातेर आफु नियमित रुपमा पढ्न आउने गरेको  वलीको भनाइ छ।

  जिल्लामा अहिले  २४ गाविसमा १ सय ५० वटा कक्षाहरुमा  विद्यालय शिक्षावाट बन्चित भएका  प्रौढहरुले  शिक्षा लिइरहेको  जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मानवहादुर गिरीले बताए।

 उनले  एउटा कक्षामा  १० जनाका दरले  प्रौढहरु रहेको र  ती मध्य अधिकाशं  ४५ वर्ष उमेर  पार गरेकाहरु रहेको  जानकारी दिए।

 उनले  कक्षामा  महिलाहरु  नै वढी रहेको र  पुरुषहरु नगन्य मात्रामा रहेको बताए। गत वर्षको फागुन २८ गते   जिल्लामा  ९५.३ प्रतिसत  साक्षर  रहेको भन्दै शिक्षा कार्यालयले आयोजना गरेको एक कार्यक्रमबीच पूर्व गृहमन्त्री शक्तिवहादुर बस्नेतले जाजरकोटलाई साक्षर जिल्ला घोषणा गरेका थिए। जिल्लामा अहिले पनि  ठूलो संख्यामा निरक्षरहरु रहेको  नागरिक अगुवा केशव जंग शाहले बताए। 

प्रकाशित: ९ फाल्गुन २०७३ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App