१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

बाग्लुङ– जिल्लाको अधिकारीचौरमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । अधिकारीचौर—३ घैयाखेत बगा स्थित ओमकार विकको गोठमा सोमबार बिहान आगलागी हुँदा उनका एक छोरा र एक छोरीको ज्यान गएको हो । मृत्यु हुनेहरुमा विकका ७ वर्षीय छोरा यमलाल विक र ३ वर्षीया छोरी सम्झना विक रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए। होचो हिउँदे गोठमा बिहानको खाजा  खाएर आमा पारु विक घाँस काट्न गएको बेला बच्चाहरुले आगो खेलाउँदा आगलागी भएको रानाले बताए ।

‘बिहान खाजा खाएर आमा घाँस काट्न गएकी भन्ने छ,’ इन्सपेक्टर रानाले भने,‘केटाकेटीले आगो खलाउँदा गोठमा टिपेछ उनीहरु डराएर भित्रै बस्दा घटना भएको देखियो ।’ नजिकै अन्य घरहरु नभएको र पारुसंगै घाँस काट्न गएकी स्थानीय चिना बुढा मगर विद्यालय जानुपर्ने भएकोले ९ बजे फर्कदा बल्ल आगलागि बारे थाहा भएको प्रहरीले बताएको छ ।

एकातिर वस्तुभाउ राखेर अर्कातिर मान्छे बस्न मिल्नेगरी बनाईएको गोठमा आगलागि हुँदा अन्नपात लगायत नगद समेत नष्ट भएको प्रहरीले जानकारी दिएको छ । ‘नगद कति जल्यो भन्ने एकिन जानकारी भएको छैन, अन्नपात सबै जलेको छ,’ इन्सपेक्टर रानाले भने,‘एउटा व्याउने भैंसी समेत सायद बाँच्दैन होला, घाईते अवस्थामा छ ।’

गोठ जल्ने क्रममा प्लाष्टिकको डाम्लोले बाँधिएको भैंसीको पाडो भने डाम्लो चुँडिएर भाग्न सफल भएको प्रहरीले जानकारी दिएको छ । मृतक बालबालिकाको शव पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखिएको छ । मृतक बालबालिकाका बाबु ओमकार विक वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेको बताईएको छ । आगलागिबारे थप अनुसन्धान र सोधपुछ भइरहेको प्रहरी जनाएको छ ।  
 

प्रकाशित: २४ माघ २०७३ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App