१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जंगल जोगाउन डढेलोकै पीर

डढेलोबाट वन जोगाउन ‘डढेलो नियन्त्रण सचेतना कार्यक्रम’ गर्दै डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारी तथा उपभोक्ता। तस्बिर: नागरिक

सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा खटिएका छन्। उनी दैनिक सामुदायिक वनका पदाधिकारी तथा सरोकारवालासँग जंगलमा डढेलो लाग्नै नदिने र लागिसकेपछि नियन्त्रणमा कसरी लिने भनेर छलफलमा खटिएका हुन्। उनी मात्रै हैनन्, सो क्षेत्रका सामुदायिक वन, डिभिजन वन कार्यालय पहलमानपुर, सव डिभिजन वन कार्यालयहरू, पर्यावरणका क्षेत्रमा काम गर्ने संघसंस्था तथा सरोकारवाला निकायहरू अहिले डढेलो नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै वन जोगाउन रातदिन खटिएका छन्। वसन्त ऋतु (चैत/वैशाख) मा खासगरी वनजंगल जोगाउनै सकस पर्ने गरेको बमले बताए।

उनले भने, ‘उपभोक्ताहरूले वर्षभरि दुःख गरेर जोगाएको वन डढेलोले एकै निमेषमा सखापै पारिदिन्छ।’ चैत, वैशाखमा भने जहिल्यै पनि उपभोक्तालाई हुर्काएको वन जंगल जोगाउनै चिन्ता पर्ने गरेको उनले बताए।

सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा खटिएका छन्।

गर्मी याम सुरुवातसँगै सामुदायिक वन उपभोक्ताले सामुदायिक वनमा अग्नि रेखा नियन्त्रण, आगलागी नियन्त्रण सम्बन्धि जनचेतना जगाउने खालका सन्देश दिने गरे पनि समाजमा रहेका केही बद्मास व्यक्तिहरूले आगो लगाइदिने गरेका कारण डढेलोको प्रकोपबाट जंगल जोगाउन सकस हुने गरेको उनी बताउँछन्।

डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख गोकुलप्रसाद रिजालले गर्मीयामा बढी आगलागी भई बहुमूल्य काठ, जडीबुटी तथा जीवजन्तुको बासस्थान, स–साना बोटविरुवा बर्सेनि नोक्सान हुने गरेको बताए। उनले भने,‘वनजंगलमा डढेलो लाग्न नदिनका लागि वन कार्यालय एक्लैले केही गर्न सक्दैन, त्यसका लागि सरोकारवाला निकाय सबैको सहयोग र आम उपभोक्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।’

उपभोक्ताले ध्यान नदिँदा कैलालीको हरियो वन बर्सेनि डढेलोका कारण मासिँदै गएको बताउँदै उनले भने,‘त्यसका लागि हामीले पनि यहाँका सबै सामुदायिक वनलाई सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ भने उनीहरूलाई डढेलो नियन्त्रणका लागि चाहिने सामग्री पनि प्रदान गरेका छौँ।’

डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख गोकुलप्रसाद रिजालले गर्मीयामा बढी आगलागी भई बहुमूल्य काठ, जडीबुटी तथा जीवजन्तुको बासस्थान, ससाना बोटविरुवा बर्सेनि नोक्सान हुने गरेको बताए।

कैलालीमा जुन दरमा वन अतिक्रमण बढ्दो छ, त्यही दरमा डढेलोले वसन्त ऋतुमा पलाएका पालुवा मासिने क्रम पनि बढ्दै गइरहेको छ। डढेलो नियन्त्रण हुन नसक्नु र चेतनास्तर कमीका कारण कैलालीको वन क्षेत्र बर्सेनि मासिँदै गएको पर्यावरणकर्मीहरू बताउँछन्।

डढेलोका कारण यहाँका वन क्षेत्र बर्सेनि मासिँदै गइरहेको सामुदायिक वन उपभोक्ता महासंघका कैलाली अध्यक्ष डण्डीराज सुवेदी बताउँछन्। वन क्षेत्रमा डढेलो लाग्दा चाहिने सुरक्षा सामग्री र दक्ष तथा तालिमप्राप्त जनशक्ति नहुँदा नियन्त्रण गर्न नसकेर बर्सेनि वन मासिँदै गइरहेको उनले बताए।

 ‘घना जंगल रहेको कैलालीको वन क्षेत्र बर्सेनि डढेलोका कारण जोगाउन सकिरहेको छैन,’ उनले भने,‘हुर्किएका बोटविरुवा चैत/वैशाखको समयमा फैलने डढेलोले बर्सेनि नासिँदै गएका छन्, जसले गर्दा बूढा तथा पुराना रुखबाहेक नयाँ पालुवा हुर्किन सकिरहेका छैनन्।’

डढेलोका कारण यहाँका वन क्षेत्र बर्सेनि मासिँदै गइरहेको सामुदायिक वन उपभोक्ता महासंघका कैलाली अध्यक्ष डण्डीराज सुवेदी बताउँछन्।

जंगलमा डढेलो लाग्दा अग्नि नियन्त्रण गर्ने दक्ष जनशक्ति अभाव रहेको बताउँदै डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रिजालले भने,‘डढेलो नियन्त्रणका लागि हामीसँग छुट्टै दक्ष जनशक्ति छैन, वनरक्षक, सामुदायिक वनका पदाधिकारी र सेना प्रहरीकै सहयोगमा हामीले डढेलो नियन्त्रणमा लिने प्रयास गर्दै आएका छौँ।’

डढेलोका कारण बर्सेनि पुनरुत्पादन सखाप हुने गरेको बताउँदै उनले भने,‘जनचेतनामूलक कार्यक्रमसँगै समयमै डढेलो नियन्त्रण गर्न सके त्यसले पुनरुत्पादन जोगिन सक्थे।’

डिभिजन वन कार्यालयलाई अग्नि नियन्त्रण गर्न चाहिने एक अलग्गै दमकल, सव डिभिजनका लागि पानी बोक्ने ट्याङ्कर नहुँदा पनि जंगलमा सल्किएको डढेलो नियन्त्रणमा लिन गाह्रो भइरहेको उनले बताए। डढेलो नियन्त्रणका लागि चाहिने पर्याप्त आवश्यक सामग्री हुनुका साथै डढेलोका लागि मात्रै छुट्टै मोबाइल टोली बनाउन सकिए जंगल जोगिन सक्ने उनी बताउँछन्।

आधुनिक उपकरणसँगै दक्ष जनशक्ति भएमा जंगल डढेलोबाट जोगाउन सहज हुने वन संरक्षणकर्मीहरू बताउँछन्।

समुदायमा रहेका केही गलत मानसिकता भएका मानिसहरूले जनचेतना अभावका कारण डढेलो लगाइदिनु र घाँस पलाउने लोभ तथा सामुदायिक वनसँगको विमतिका कारण पनि जंगलमा आगो लगाइ दिने गरेको सव डिभिजन वन कार्यालय फलेविसौनाका प्रमुख सुरेशबहादुर रोकायाले बताए। उनले भने,‘जनचेतनाका साथै सम्बन्धित सामुदायिक वनले नियमनमा कडाई गरेमा डढेलो रोकिन्छ।’

डिभिजन वन कार्यालयलाई अग्नि नियन्त्रण गर्न चाहिने एक अलग्गै दमकल, सव डिभिजनका लागि पानी बोक्ने ट्याङ्कर नहुँदा पनि जंगलमा सल्किएको डढेलो नियन्त्रणमा लिन गाह्रो भइरहेको उनले बताए।

यो समयमा सुकेका पातपतिंगर र सुकेका ढलापढा काठले पनि डढेलो लाग्ने गरेको छ। त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पारिरहेको निष्कर्ष संरक्षणकर्मीहरूको छ। डढेलोले एक त सुखा पडामा सल्कँदा राजस्व गुम्छ भने अर्कोतर्फ रूखमा आगो सल्कँदा धेरै दिनसम्म रही रहने भएकाले डढेलो नियन्त्रण गर्न गाह्रो हुन्छ।

सुदूरपश्चिम प्रदेशका पा“चवटा जिल्ला वन डढेलोको उच्च जोखिममा गनिएको छ। कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीको वन क्षेत्र डढेलोको उच्च जोखिमको सूचीमा पर्छन्।

प्रकाशित: १७ वैशाख २०८० ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App