१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तरहरा–सेउतीसम्मको छ लेन सडक तीन दिनभित्र विस्तार गर्ने सहमती

निर्माण कम्पनीद्वारा तीन दिनभित्रमा तरहरा–सेउतीको काम थाल्ने लिखित प्रतिवद्दता

इटहरी उपमहानगरपालिका, छ लेन सडक आयोजना र निर्माण कम्पनीको पदाधिकारीबीचको छलफल। तस्बिर: नागरिक

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक तीन दिनभित्रमा थाल्ने सहमति भएको छ। निर्माण कम्पनी, इटहरी उपमहानगरपालिका र छ लेन सडक आयोजनाबीच बुधबार भएको छलफलमा निर्माण कम्पनीले तत्काल तीन दिनभित्रमा सडक थाल्ने लिखित सहमति गरेको हो।

इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो। निर्माण कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको थियो। उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्दता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम समेत दिएको थियो।

निर्माण कम्पनीका ठाकुर कडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट आउन अब १२ दिनसम्म आइ सक्ने र आइतबार (वैशाख १७ गते) देखि धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताए। ‘इष्टमेटभन्दा ५० लाखभन्दा बढीको पनि काम भयो,’ उनले भने, ‘कोरोनापछिको आर्थिक समस्याले गर्दा पनि केही ढिलाई हुन पुग्यो।’ कडेलले असार मसान्तसम्म सानोतिनो कामबाहेक मुख्य कामहरु सक्ने प्रतिबद्दता जनाए।

विराटनगर–धरान सडक खण्ड अन्तर्गत तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माण हुन बाँकी छ। सडक हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको हो।

तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएको सडक सुस्त निर्माण हुँदा सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्ट्रक्सनले काम अन्तिम चरणमा पु¥याएको छ। जब कि दुईवटा सडक खण्ड एकैपटक ठेक्का लागेको थियो। ‘निर्माण कम्पनीकै कारणले तरहरादेखि सेउतीसम्मको सडक निर्माणमा ढिलाई भएको हो,’ छ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यले भने, ‘निर्माण कम्पनीले इच्छाशक्ति देखाए तोकिएको समयमा काम पुरा हुनेछ। चाँडो काम सुरु गर्दा एक लाइन मात्र भएपनि कालोपत्रे गरेमा सहज हुनेछ।’

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ। छ लेन आयोजनाले भने चाँडो सडक नथाल्दा तोकिएको समयमा सडक पुरा नहुने जनाएको छ। ‘सडक पुरा सक्न निर्माण कम्पनीलाई ताकेता गरेर थुप्रैपटक पत्राचार गरिएको छ,’ शाक्यले भने, ‘जति सिरियस हुनुपर्ने त्यो मात्रमा भएको पाइएको छैन्।’

इटहरीका मेयर हेमकर्ण पौडेलले अब निर्माण कम्पनीले लिखित प्रतिबद्दता व्यक्त गरेको समयमा पनि सडक पुरा गर्ने विश्वास गरे।

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक  विस्तार हुन बाँकी छ। बाँकी रहेको दुहवी बजारमा पनि नगरपाकिाले नगरपालिकाको जग्गा ओगटेर बनाएका चालीसवटा घर भत्काएको छ। घर भत्काएसँगै छ लेन सडक विस्तार गर्न अब दुहवी बजार क्षेत्रमा पनि सहज भएको छ। इटहरीको चौरास्त चोकदेखि दक्षिण विराटनगर लाइनमा पनि सडक क्षेत्राधिकारभित्र पर्ने घर नहटाउँदा सडक विस्तार हुन समस्या भएकोमा एक महिनाअघि उपमहानगरपालिकाकै अगुवाईमा घर भत्काइएको थियो।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो।  

प्रकाशित: १३ वैशाख २०८० ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App