२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लोप भयो 'तापालय्'

काठमाडौं- बीस–पच्चीस वर्षअघि भक्तपुरका ज्ञानसागर प्रजापति यतिबेला तनहुँको गजौडेमा माटो मुछिरहेका हुन्थे। उनीजस्तै भक्तपुरका प्रजापति समुदायका धेरै पुरुष विभिन्न गाउँमा गएर माटामा भाँडा बनाउन व्यस्त हुन्थे। अहिले माटाका भाँडा बनाउने कार्य  यो समुदायमा इतिहास बनेको छ। 

'पुसमाघमा सूर्यमढी टोल प्रायः सुनसान हुन्थ्यो,' उनी सम्झन्छन्, 'अधिकांश पुरुष माटाका भाँडा बनाउन गाउँतिर गएपछि प्रजापति बस्तीमा महिला, बालबालिका र वृद्धवृद्धामात्र हुन्थे।' कामको सिलसिलामा बस्ती छाडेर टाढा जानुलाई नेवारी भाषमा 'तापालय्' भनिन्छ।

प्रजापति समुदायको पछिल्लो पुस्ता भने तापालय्बारे जानकार  छैनन्। सूर्यमढीका न्हुच्छेबहादुर प्रजापति भन्छन्, 'यो परम्परा लोप भइसक्यो।' उनी आफू जवान हुँदा बर्सेनि गाउँका दाजुभाइसँगै भाँडा बनाउन लमजुङको बेसीसहर गएको सम्झन्छन्। 'नातिनातिनालाई त यो कुरा दन्त्यकथा जस्तो लाग्छ', ७२ वर्षीय न्छुच्छेबहादुरले भने। प्लास्टिक र धातुका भाँडा बढी प्रयोग हुन थालेपछि माटाको भाँडा बनाएर बेच्ने व्यवसाय हराएको हो।

माटाको भाँडा बनाउन गाउँ जाने प्रचलनलाई नेवारी भाषामा 'गाम वानेगु' अर्थात् गाउँ जाने पनि भनिन्छ। आफूहरू माटाका भाँडा बनाउन सातआठ जनाको समूहमा जाने गरेको उनले बताए। 'हरेक वर्ष भाँडा बनाउन जाने निश्चित गन्तव्य हुन्थ्यो। माटाका भाँडा बनाउन प्रयोग गरिने औजारहरू उतै राखिएको हुन्थ्यो', न्हुच्छेबहादुरले विगत सम्भि्कए।

अर्काे वर्ष त्यहीं गएर भाँडा बनाएर बेच्ने गरेको ज्ञानसागरको अनुभव छ।  उनी भन्छन् 'तनहुँको गजौडेमा अझै पनि हाम्रा ज्यावलहरू छन्।' उनीहरूले गाउँमा गएर हाँडी, गाग्री, घ्याम्पालगायतका माटाका भाँडा बनाउँथे। माटाका भाँडा बनाउन बेसीसहर, डुम्रे, गजौडे, दमौली, आँपपीपल, नारायणगढ, हेटौंडा, सिन्धुली लगायतका ठाउँमा पुग्ने गरेको बूढापाका बताउँछन्।

माटाको भाँडा बनाउनु प्रजापति समुदायको परम्परागत पेसा हो। विगतमा उनीहरू माटाकै भाँडा बनाएर मात्र जीवन गुजारा गर्थे। यो समुदायको जीवनपद्धतिमा तापालय्को विशिष्ट महत्व रहेको नेवारी संंस्कृतिका जानकारसमेत रहेका ज्ञानसागर बताउँछन्।

योमरी पूर्णिमा मनाएर तापालय् गएका प्रजापतिहरू चैतसम्म भाँडा बनाउन र बेच्न गाउँतिरै व्यस्त हुन्थे। बिस्केट जात्राका बेला भक्तपुर फर्कने गरेको उनीहरू बताउँछन्।

घर पुरुष सदस्य टाढा गएपछि महिलाले पति र छोराहरूको सुस्वास्थ्यका लागि घरमा हरेक दिन बत्ती बाल्थे। त्यतिबेला हरेक शनिबार उपत्यकाका अष्टमातिृकाका मन्दिरमा पूजा गर्न प्रजापति महिलाको भीड लाग्ने गरेको ज्ञानसागर स्मरण गर्छन्।

अचेल प्रजापति बस्तीमा तापालय् परम्परा लोप भइसकेको छ। समुदायका केही व्यक्तिहरू भक्तपुरमै पाला, खुत्रुके र कहतारा बनाउन सीमित छन्।  माटाका सामान नबिक्ने भएपछि अन्य पेसातर्फ आकर्षित भएको ज्ञानसागरले बताए।

माटाको काम गर्ने परम्परागत कामले जीवन धान्न नसकेपछि पछिल्लो पुस्ता जागिर र व्यापारतर्फ लागेको न्हुच्छेबहादुरले बताए। उनले भने, 'प्लास्टिक र धातुका सामानले गर्दा तापालय् परम्परा लोप भयो। अहिले यहाँका पुरुषहरू गाउँतिर हैन विदेशतर्फ जान थालेका छन्।'

प्रकाशित: १४ माघ २०७३ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App