१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भीमसेन मन्दिर बन्ने

ललितपुर- व्यापारी वर्गको मुख्य देवता मानिने भीमसेन मन्दिरको मर्मत–सम्भार छिटै हुने भएको छ। भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदामा सूचीकृत पाटन भीमसेन मन्दिर मर्मत–सम्भार गर्न पुरातत्व विभागले भारतीय दूतावासलाई दिने निर्णय गरिसकेको छ।

'हामीले मन्दिरको अध्ययन गरी मर्मत–सम्भारमा आवश्यक स्टिमेट र ढाँचा तयार पारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पास गराई इन्डियन एम्बेसीलाई पठाएका छौँ,' विभाग महानिर्देशक भेषनारायण दाहालले भने, 'भ्याएसम्म एक महिनाभित्रै काम थाल्ने निर्णय गरेका छौँ।'

विभागले मन्दिर मर्मत–सम्भारमा चार करोड रुपैयाँभन्दा बढी लाग्ने र मर्मत–सम्भारमा चासो देखाएकालेे ढाँचासहित इस्टिमेट एम्बेसीमा पठाइएको विभागले जनाएको छ।

भूकम्पको डेढ वर्ष बितिसक्दा पनि मर्मत–सम्भार नभएको भन्दै स्थानीय व्यापारीले विभागलाई घचघच्याउँदै आएका थिए। आफूहरुको दबाबपछि विभागले चासो देखाएको स्थानीय व्यापारी विक्रम शाहले बताए। त्यस्तै, ललितपुर उद्योग वाणिज्य संघले पनि मन्दिर मर्मत–सम्भारका लागि यसअघि विभागसँग छलफल गर्दै आएको थियो।

'लामो समय मर्मत–सम्भार नभएपछि चाँडो अघि बढाउन हामीले विभागलाई आग्रह गर्दै आएका थियौँ,' ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष सविन श्रेष्ठले भने, 'मन्दिर मर्मत–सम्भारमा उद्योग वाणिज्य संघ सहकार्य गर्न तत्पर छ।'

'भीमसेन देवता स्थानीय व्यापारीको आशाका केन्› हुन्,' मंगलबजारका स्थानीय व्यापारी अच्युत गोविन्द ताम्रकारले भने, भीमसेन देवताको पूजाआजा गर्नाले व्यापार व्यवसाय र उत्पादन बढ्ने जनविश्वास रहिआएको छ।'

उनले यो मन्दिरलाई कान्तिपुत्र, चक्रवती, पञ्चपाकव लगायत नामले पनि भीमसेन देवतालाई चिन्ने गरेको बताए।

भीमसेन देवता राखेको तेस्रो तल्ला भूकम्पले क्षति पुगेकाले तान्त्रिक विधिअनुसार मूर्तिलाई भुइँतलामा राखिएको छ। अहिले व्यापारी र स्थानीयले भुइँतलाबाटै पूजाआजा गर्दै आएका छन्।

मन्दिर मर्मत–सम्भारमा चार करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने र खर्च पुरातत्वले जुटाउन नसकेकाले इन्डियन एम्बेसीलाई जिम्मा लगाइएको विभाग महानिर्देशक दाहालले बताए। 'हामीले मन्दिर मर्मत–सम्भारमा आवश्यक सबै रकम जुटाउन सक्दैनौँ र यो मन्दिर ऐतिहासिक महत्वको भएकाले मौलिकता नमेटिने गरी पुरानै शैलीमा मर्मत–सम्भार गर्न भारत सरकारलाई जिम्मा लगाउने निर्णय भएको हो।'

पुनर्निर्माण सुस्ताएसँगै स्थानीयले मन्दिर पुनर्निर्माणबारे चिन्ता व्यक्त गर्दै आएका थिए। अहिले भीमसेन मन्दिर टेकोमै निर्भर छ।

विभाग महानिर्देशक दाहालले मन्दिरको भित्री भाग र छानोमा बढी क्षति पुगेकाले अध्ययन र इस्टिमेट तयार पार्न धेरै समय लागेको बताए।

त्यस्तै, भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा कृष्णमन्दिर, मणिमण्डपका दुई पाटी, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी) ले थालेको छ। कोषले जिम्मा लिएकोमध्ये केही सम्पदा पुनर्निर्माण अन्तिम चरणमा पुगेको काठमाडौं उपत्यका संरक्षण कोष अध्यक्ष रोहित रञ्जितकारले बताए।

प्रकाशित: २६ पुस २०७३ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App