१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यसरी भेटिए ‘भगवान’

जुम्ला– देपालगाउँ–२ की छाया गिरी मंगलबार झिसमिसेमै दुईजना साथीसँग काठका मुढा ल्याउन जंगलतिर लागिन् । गाउँ कटेको एक मिनेटमै डोग्रीखोलामा छरपस्ट फ्याँकिएका मूर्ति देख्दा झस्किन् । ती तिनै मूर्ति थिए, जुन मंसिर ११ गते चन्दननाथ मन्दिरबाट चोरी भएका थिए । ‘सधैं हिँडिरहने बाटोमा मूर्ति देख्दा अचम्म लाग्यो,’ उनले भनिन्, ‘मनमा डर पनि उत्तिकै लाग्यो ।’

उनले मूर्ति भेटाएको खबर गर्न दुईजना साथीलाई गाउँमा पठाइन् । आफू कुरुवा बसिन् । गाउँमा रहेका ससुरा र जेठाजूलाई खबर गरेपछि उनीहरूलाई मूर्ति भेटिएकोबारे प्रहरीलाई जानकारी गरे ।

जुम्लाको चन्दननाथ मन्दिरबाट पाँच साताअघि चोरी भएका मूर्ति भेटिएपछि स्थानीयले अबिरजात्रा गरेका छन्

मन्दिरबाट हराएका मूर्ति खोज्न नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो (सिआइबी), मध्यपश्चिम प्रहरीको विशेष अनुसन्धान टोली घटनालगत्तै जुम्लामा परिचालन गरिएको थियो । सिआइबी प्रमुख एआइजी विज्ञानराज शर्मा र मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल भोलिपल्टै जुम्ला पुगेर घटना अनुसन्धानलाई प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिए । चोरले जंगलमा मूर्ति फालिदिएपछि प्रहरी मात्र होइन, स्थानीयसमेत दंग छन् । स्थानीयले त मंगलबार खुसियाली मनाउँदै जुम्लामा अबिरजात्रा गरे ।

मूर्ति भेटिएको स्थान देपालगाउँ, डोग्रीखोलादेखि खलंगाबजारसम्म अबिरजात्रा गरियो । धार्मिक अगुवा बलीराज शाहीले ‘हराएका भगवान फेरि फर्किएको’मा खुसियालीमा मनाइएको बताए । उनका अनुसार घटनास्थलमै मूर्ति पूजा गरेर सदरमुकाम ल्याइएको हो । मूर्तिको स्वागतका लागि भक्तजन देपालगाउँमै पुगेका थिए । मूर्ति भेटिएको खबरले जिल्लाभर खुसीयाली छाएको छ । स्थानीयको घरमा दिपावली गरिएको छ ।

‘प्रहरीले सुरुदेखि अत्यन्त सुक्ष्म रूपमा घटनाको अनुसन्धान गरी मूर्ति खोजिरहेको थियो,’ डिआइजी नेपालले भने, ‘चोरले जसरी पनि समातिने निश्चित भएपछि त्यहाँ फालेको हुनसक्छ ।’ यो घटनालाई उनले प्रहरीको ठूलो सफललताको संज्ञा दिए ।
घटना अनुसन्धानमा खटिएका सिआइबी टोली प्रमुख इन्स्पेक्टर भीष्म हुमागाईंका अनुसार प्रहरीले चोरलाई उम्किन नदिन ठूलो घेरा बनाएर अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा हतियार तथा खरखजना मुद्दा लागेका फरार अभियुक्त पक्राउ परे ।

‘हामी आएपछि पुराना घटनाका अभियुक्तलाई पनि पक्राउ ग¥यौं,’ उनले भने, ‘पछिल्लो एक महिनामा करिब ३ सय व्यक्तिसँग सोधपुछ ग¥यौं, शंकास्पदलाई हिरासतमै राखेर अनुसन्धान थाल्यौं ।’ प्रहरीको यही सक्रियताका कारण चोर अत्तालिएका उनले बताए । प्रहरीले मूर्ति भेटाउनुलाई आंशिक सफलता मात्र भनेको छ । पूर्ण सफलता पाउन चोरलाई जसरी पनि पक्राउ गरिने प्रहरीको भनाइ छ ।

स्थानीयले मूर्तिचोरलाई पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । देपालगाउँका गोपाल खत्रीले घटनाको गहिरो अनुसन्धान गरी दोष्ीामाथि कारबाही हुनुपर्ने माग गरे ।

प्रहरीका अनुसार चन्दननाथ मन्दिरबाट हराएकामध्ये एउटाबाहेक सबै मूर्ति फेला परेका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी गुरुविष्णु काफ्लेका अनुसार मन्दिरका शंख र रद्राक्षमालासहित १७ मूर्ति फेला परेका छन् ।

भेटिएका मूर्तिमा कृष्ण बालगोपालको पित्तलको मूर्ति, पित्तलको मुकुट, पद्यमासनमा बसेर पगरी गुथेका राजाको पित्तलको मूर्ति, पित्तलको गणेश भगवानको मूर्ति, पित्तलकै ठूलो बुद्धको मूर्ति, बुद्धकै सानो मूर्ति, दायाँ शंख, बायाँ शंख, बुद्धको ध्यानमुद्राको पित्तलको मूर्ति, पित्तलकै भगवतीको मूर्ति, कृष्ण बालगोपालको मुरली समातेको मूर्ति, ढुंगाको हनुमानको मूर्ति र तामाको भगवतीको मूर्ति छन् ।

आठवटा मूर्ति बाटोमा ठड्याइराखिएको अवस्थामा थिए भने बाँकी मूर्ति खोलामा भेटिएका थिए । गाउँभन्दा पाँच मिनेटको दूरीमा मूर्ति भेटिएपछि देपालगाउँबासी सशंकित छन् । ‘गाउँनजिकै आएर मूर्ति कसले फ्याँक्यो, यहीँ आएर किन फ्याँकियो ?’ स्थानीय शीतला गिरीले भनिन्, ‘चोर समातेर कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।’

चन्दननाथ मन्दिर गुठी समितिका अध्यक्ष गौरीनन्द आचार्यले २०२४ सालमा बनेको दत्तात्रय बाबाको मूर्ति भने अझै गायब रहेको बताए । उनका अनुसार मन्दिरको अभिलेख र भेटिएका मूर्ति भिडाएर रुजु गरिएको छ । ‘अब त्यो मूर्तिसँगै चोरलाई पनि पक्राउ गरिनुपर्छ,’ अध्यक्ष आचार्यले भने, ‘यसमा प्रहरीलाई सफलता मिलोस् ।’

प्रकाशित: २० पुस २०७३ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App