१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपालबाट भारततर्फ डिजेल–पेट्राेल तस्करी

बारा प्रहरीले ग्रामीण नाकाहरुबाट तस्करी गरी भारत लैजाँदै गर्दा बरामत गरेको डिजेल पेट्रोल भरिएका ग्यालेनहरु। तस्बिरः उपेन्द्र यादव

बारा– नेपालभन्दा भारतमा डिजेल र पेट्रोल महँगो भएपछि ग्रामीण नाकाहरुबाट पेट्रोलियम पदार्थ सीमावर्ती भारतीय गाउँहरुमा तस्करी  हुने गरेको भेटिएको छ।

जिल्लाको ग्रामीण नाकाहरुबाट ग्यालेनमा भरिएका तीन सय लिटरभन्दा बढी डिजेल तस्करहरुले साइकल र मोटरसाइकलमा लोड गरी भारतीय गाउँहरुमा लैजाँदै गरेको अवस्थामा केही दिन पहिला प्रहरीले बरामद गरेको हो।  

डिजेलमा प्रतिलिटर २० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ नाफा हुने भएपछि नेपालबाट डिजेल र पेट्रोल भारततर्फ तस्करी गरी भारत पु–याउने गिरोह सक्रिय भएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले नेपाल भित्रिएको पेट्रोलियम पदार्थहरु ग्रामीण नाकाहरुबाट तस्करी हुने गरेपछि त्यसलाई नियन्त्रण गर्न निगरानी शुरु गरिएको बताए।

‘प्रहरीले निगरानी शुरु गरेपछि तीन दिन पहिला तिन सय लिटर जिडेल ग्रामीण नाकाबाट भारत लैजाने क्रममा बरामत गरिएको छ,’ उपरीक्षक उप्रेतीले भने, ‘एक हप्ताअघि पनि ग्रामीण नाकाहरुबाट चार सय लिटर डिजेल बरामद गरिएको थियो।’

मटिअर्वा, सिम्रौनगढ, कवहीगोठ, मुसहर्वा, कचोर्वालगाएतका नाकाहरुबाट पेट्रोलियम पदार्थ भारत तस्करी हुने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

बारा, पर्सा र रौतहटसँग सीमा जोडिएको भारतको बिहार राज्यमा पेट्रोल प्रतिलिटर ७१.४७ भारतीय रुपैयाँ र डिजेलप्रति लिटर ६०.२२ भारतीय रुपैयाँ पर्ने गरेको छ। जुन नेपाली रुपैँया अनुसार एक लिटर पेट्रोल एक सय १४ र डिजेल ९६ पर्छ।

नेपालमा भने पेट्रोलप्रति लिटर सय रुपैयाँ ५० पैसा र डिजेल ७६ रुपैयाँ रहेको नेपाल आयाल निगमका अधिकारीहरुले बताएका छन्।

तस्करहरुले नेपाली सीमाना कटाउने बित्तिकै डिजेलमा प्रतिलिटर २० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १४ रुपैया नाफा कमाउने गरेका प्रहरीले जनाएको छ।

एक पटकमा एउटा साइकल र मोटरसाइकलबाट ६० देखि ८० लिटरसम्म डिजेल नेपाली पम्महरुबाट खरिद गरी भारत पु–याउँदा एक घण्टाको अन्तरालमा एक जना तस्करले सजिलै एक हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन्।

कम लगानीमा धेरै आम्दानी हुने गरेपछि तस्कर समुहहरुले अहिले आएर पेट्रोलियम पदार्थको तस्करीमा लागेको प्रहरीले जनाएको छ।

बारामा अहिले ७४ वटा डिजेल र पेट्रोल बेच्ने पम्महरु संचालनमा रहेको पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यवसायीहरुले जनाएका छन्।

बारा पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष सुरेन्द्र श्रीवास्तवले अहिले आएर नेपालबाट डिजेल र पेट्रोल भारत तस्करी शुरु भएको बताए।

डिजेल र पेट्रोललाई नेपाली पम्पहरुबाट खरिद गरी भारत पु–आउने गरेको कार्यमा पम्प संचालकहरु दोषी नरहेको दावी श्रीवास्तवले गरे।

आयल निगमले उपलब्ध गराउने पेट्रोलियम पदार्थहरु पम्प संचालकहरुले उपभोक्ताहरुलाई बिक्री गर्दा त्यसबाट तीन प्रतिशत नाफा लिने गरेको उनले बताए।

बढी नाफा लिएर भारत पु–याउने तस्करहरुलाई पम्प सञ्चालकहरुले पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेको कुरा गलत भएको अध्यक्ष श्रीवास्तवले दावी गरे। बारामा उपभोक्ताहरुलाई विक्री वितरण गर्नका लागि नेपाल आयल निगमले दैनिक औसतमा एक लाख देखि एक लाख २५ हजार डिजल र २५ हजार देखि ३० हजार लिटर पेट्रोल पम्पहरुलाई उपलब्ध गराउने गरेको छ।

यस क्षेत्रको ग्रामीण नाकाहरुको साथसाथै नेपाल भित्रिने भारतीय नम्बर प्लेटका ठूला गाडीहरुको माध्यमले समेत पेट्रोल र डिजेलहरु भारत पुग्ने गरेको प्रहरीले जनाएको छ।

नेपालको प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज भन्सारबाट दैनिक सयौंको संखमा भारतीय नम्बर प्लेटको भएका ट्रक र कन्टेनरहरु नेपालमा आउने र नेपालबाट भारत फर्कने बेलामा वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने पम्पहरुबाट डिजेर र पेट्रोलहरु भारत लैजाने कार्य समेत शुरु गरेको बताइएको छ।

नेपालमा खपत हुने पेट्रोलियम पदार्थहरुलाई नेपाल आयल निगमले इण्डियन आयल कार्पोरेशनसँग नै खरिद गरी नेपाल भित्रियाउने गरेको छ।

नेपाल आयल निगमले खरिद गरी ल्याउने पेट्रोलियम पदार्थ तस्करी वा अन्य माध्यमले भारत पुग्दा आयल निगमलाई नोक्सानी हुने गरेको आयल निगमका अधिकारीहरुले बताएका छन्।

देशभरीमा खपत हुने ७० प्रतिशत पेट्रोलियम पदार्थहरु इण्डियन आयल कार्पोरेशनको रक्सौल डिपोबाट अमलेखगञ्ज डिपोका लागि आयात हुने गरेको छ।
 

प्रकाशित: १४ पुस २०७३ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App