४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सञ्जाल पछ्याउँदै जाँदा यौन दुर्व्यवहार गर्ने बालक पक्राउ

१४ वर्षिया बालिकामाथि भएको यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोलाई पछ्याउँदै जाँदा प्रहरीले एकजना १६ वर्षिय बालकलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका ती बालकलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार कास्कीमा बसोबास गर्दै आएकी ती बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सञ्जाल टिकटकमा भिडियो भाइरल भएको थियो। धेरैजनाले त्यो भिडियो सेयर समेत गरेको प्रहरीले बताएको छ। त्यसपछि प्रहरीले त्यो भिडियोलाई पछ्याउँदै अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा पीडितसमक्ष प्रहरी पुगेपछि बल्ल दुर्व्यवहार गरेको भनेर आरोप लागेका बालकबारे थाहा भएको डिएसपी विकले बताए।  

‘शनिबारदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। १४ वर्षकी बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर टिकटकमा पनि धेरैले सेयर गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो,’ उनले भने, ‘अनुसन्धानमा खटिएको प्रहरी पीडित बालिकाको परिवारको सम्पर्कमा पुगेपछि बल्ल घटनाबारे धेरै कुरा थाहा पायौं।’

प्रहरीले घटना कहिले भएको भन्ने खुलाएको छैन। तर पीडित पक्षले बाल यौन दुरुपयोग शीर्षकमा आइतबार मात्र कास्की प्रहरीमा जाहेरी दिएको डिएसपी विकले जानकारी दिए। आफन्तको जाहेरी पछि यौन दूव्र्यवहार गरेको भनि विवादमा परेका बालकलाई नियन्त्रणमा लिएको डिएसपी विकले बताए। प्रहरीका अनुसार ती बालक पनि कास्कीमा बसोबास गर्छन। प्रहरीको नियन्त्रणमा रहेका ती बालक १६ वर्षका हुन्।

‘धेरै कुरा अनुसन्धान भईरहेको छ। सामाजिक सञ्जालमा भाइरल भएकै कारण हामीलाई पीडितसम्म पुग्न सहज भयो। घटना लुक्न पाएन,’ उनले भने, ‘सामाजिक सञ्जालमा भाइरल नभएको भए यो उजुरी तत्काल नपर्न पनि सक्थ्यो। जबकी प्रहरी आफैले पीडितबारे बनेको भिडियोलाई पछ्याउँदै परिवारसम्म पुगेको थियो। परिवारको सम्पर्कमा प्रहरी पुगेपछि उजुरी गर्न झनै सहज भएको छ।’ प्रहरीको नियन्त्रणमा रहेका ती बालकलाई बाल यौन दूरुपयोग सम्बन्धि मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी विकले बताए।

प्रकाशित: ५ चैत्र २०७९ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App