१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाउने नयाँ विधि

वैज्ञानिकले वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर समुद्रमा भण्डारण गर्न सकिने नयाँ विधिको घोषणा गरेका छन्।

वायुमण्डलमा कार्बनडाइअक्साइडको उच्च उपस्थितिले पृथ्वीको तापमान वृद्धि भई विभिन्न खाले जलवायु संकट निम्तिएको मानिँदै आएको छ। वैज्ञानिक जर्नल ‘साइन्स एडभान्स’मा प्रकाशित तथा वैज्ञानिकले प्रस्ताव गरेको नयाँ विधि हाल प्रचलनमा रहेकाभन्दा तीन गुणाले प्रभावकारी हुने दाबी गरिएको छ।

नयाँ विधिअन्तर्गत कार्बनडाइअक्साइड ग्यासलाई वायुमण्डलबाट सोसेर बाइकार्बाेनेट अफ सोडामा परिवर्तन गर्न सकिन्छ र त्यसलाई कम खर्चमा समुद्रमा भण्डारण गर्न सकिन्छ। नयाँ विधिको घोषणासँगै वायुमण्डलबाट कार्बन हटाउने अभियानले तीव्रता पाउने अपेक्षा गरिएको छ।

पछिल्ला दशकमा कार्बनडाइअक्साइडको उत्सर्जन कटौतीका लागि विश्वले संघर्ष गरिरहेका बेला कतिपय कम्पनीले वायुमण्डलमा रहेको कार्बनडाइअक्साइड हटाउने विषयमा केन्द्रित काम गर्दै आएका छन्। स्विट्जरल्यान्डको क्लिमवक्र्स नामक कम्पनीले १० वर्षदेखि वायुमण्डलको हावालाई लिएर फिल्टर गर्ने र कार्बनडाइअक्साइड ग्यासको अणुलाई संकलन गर्दै आएको छ।

क्लिमवर्क्सले वायुमण्डलबाट लिएको कार्बनडाइअक्साइडलाई स्थायी रूपमा ढुंगामा रूपान्तरण गरेर जमिनमुनि गाड्ने गरेको छ। यो कम्पनीले कार्बन हटाउने सेवा माइक्रोसफ्ट, स्पोटिफाई र स्ट्रिप जस्ता ठुला कर्पाेरेट कम्पनीहरूलाई बिक्री गर्न थालिसकेको छ। तर यो विधि महँगो छ।

पृथ्वीको तापमानलाई बढाउन जिम्मेवार मानिने यो ग्यास वायुमण्डलमा पातलो हिसाबले घुल्ने भएकाले ठुला खाले मेसिनबाट अत्यधिक शक्ति प्रयोग गरेर अवशोषित गर्नुपर्ने हुन्छ। तर नयाँ विधिमा रेसिन र अन्य रसायनको प्रयोग गरिने भएकाले यसको प्रभावकारिता र लागत मूल्य कम रहने वैज्ञानिकको दाबी छ। यो नयाँ हाइब्रिड विधिले हाल प्रचलनमा रहेका विधिभन्दा ३ गुणा बढी कार्बनडाइअक्साइड सोस्न सक्ने बताइएको छ। ‘सामान्य संसाधनको प्रयोगले ठुलो परिणाममा कार्बनडाइअक्साइड सोस्न सम्भव हुने यो विधिको आकर्षक पक्ष हो,’ अमेरिकाको लेहिज विश्वविद्यालयका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक अरूप सेनगुप्ताले भने।

अध्ययनमा संलग्न नरहेका अन्य वैज्ञानिकले पनि नयाँ विधिको प्रशंसा गरेका छन्। ‘कार्बनडाइअक्साइड क्पाप्चर गर्ने यो विधि आशालाग्दो देखिएको छ,’ प्रिन्सन्टन विश्वविद्यालयकी जिओलोजिकल इन्जिनियरिङ विज्ञ प्राध्यापक क्याथरिन पेटसै भन्छिन्। यसअघि वायुमण्डलबाट कार्बनडाइअक्साइडलाई सोसेर जमिनमुनि अथवा समुद्रमा खनिएका तेलका कुवामा भण्डारण गर्ने गरिएकोमा नयाँ विधिमा रसायनहरूको प्रयोग गरेर कार्बनडाइअक्साइडलाई वाइकार्बाेनेट अफ सोडामा रूपान्तरण गरेर समुद्रमा सहजै भण्डारण गर्न सकिने बताइएको छ।

अध्ययनका प्रमुख लेखक सेनगुप्ता प्रस्तावित विधिलाई कार्यान्वयन गर्न कम्पनी स्थापना गरिने बताए। उनले पृथ्वीको सरदर तापमान घटाउन यो विधि सहयोगी हुने बताए। ‘हामी यो विधिको प्रयोग बंगालदेश, वारवाडोस तथा माल्दिभ्समा गर्न चाहन्छौं। उनीहरू पनि यो प्रक्रियामा सहभागी हुनुपर्दछ,’ सेनगुप्ताले भने। उनले यो विधिमार्फत वायुमण्डलबाट प्रतिटन कार्बनडाइअक्साइड हटाउन एक सय अमेरिका डलरभन्दा कम खर्च लाग्ने बताए। तर केही वैज्ञानिकले यस्ता विधिलाई प्राथमिकता दिँदा विश्वले कार्बन उत्सर्जन कटौतीको प्रयासलाई कम महत्व दिन सक्ने तर्क गरेका छन्।

बिबिसी

प्रकाशित: २७ फाल्गुन २०७९ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App