१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जसले सार्कको लोगो बनाए

विस २०४४ सालतिर दक्षिण एसियाली सहयोग संगठन (सार्क)को लागि लोगो कोर्दे गर्दा उनी १९ वर्षका लक्का जवान थिए। लोगोका लागि त्यतिबेला सार्क राष्ट्रबाट छानिएका सात उत्कृष्ट चित्रबीच प्रतिस्पर्धा हुँदैथियो, शैलेन्द्र महर्जनले कोरेको चित्र प्रतियोगितामा प्रथम बन्यो। 

सार्क मुलुकबीच मैत्री भाव देखाउन उनले शान्तिका प्रतीक परेवालाई हत्केलाले रक्षा गरेको आकारमा सार्कको लोगो निर्माण गरेका थिए। निर्णायक समितिले उनको चित्र र उनले गरेको वर्णनले प्रभावित बने। सार्क राष्ट्रका सबै कलाकारलाई उछिन्दै उनको कोरेको चित्र सार्कको लोगाका रुपमा छनौट भयो।

आफूले कोरेको चित्रले अन्तर्राष्ट्रिय मान्यता पाएपछि उनी थप उत्साही बने। देशमा उनलाई विभिन्न मानसम्मान मिल्यो। आफ्नो सफलतामा रमाउँदै उनी थप अध्ययनका लागि विदेश हानिए।

 तीन दशकअगाडिका युवा अहिले परिपक्व बनिसकेका छन्। काममा निखार आएको छ। तर यसपटक उनको अनुहारमा कलाको चमकभन्दा पनि सार्कका दुई सदस्य राष्ट्र भारत र पाकिस्तानबीचको बढ्दो तनावको झल्को देखिन्थ्यो।

'शान्तिको कामना गर्दै त्यो उमेरमा मैले निकै मिहनेत गरेर  लोगो निर्माण गरेको थिएँ,' उनले भने, 'सार्क राष्ट्रमा पछिल्लो समयमा देखिएको मनमुटावले मेरो मन पनि दुखेको छ।'  पछिल्लो समयमा भारत र पकिस्तानबीचको तनाबले दुःखी देखिएका उनी सार्क राष्ट्रमा शान्ति छाउन्जेल आफ्नो लोगो सार्थक भएको भान हुने सुनाउँछन्।

'त्यो लोगो मात्र थिएन, चित्रमार्फत यसले सार्क राष्ट्रबीचको शान्ति र सहिष्णुताको प्रतीक पनि झल्काएको थियो,' उनी  थप्छन्, 'पछिल्लो सयममा बढेको तनावसँगै शान्ति र सद्भावमा असर परेको महसुस गरेको छु।'

२०४० सालमा पिपुल्स क्याम्पसबाट मानविकी शास्त्र विषयमा प्रवीणता तह उत्तीर्ण गरेपछि छात्रवृत्तिमा फ्रान्स गएका उनले नेपाल र नेपाली जीवन र आफ्ना छिमेकी राष्ट्रलाई कहिल्यै भुल्न सकेनन्। फाइन आर्टमा डिप्लोमा गरेका उनले फ्रान्समा विभिन्न ग्यालरीमा नेपाली जीवन झल्किने कला प्रस्तुत गर्दै आएका छन्।

नेपाल आएको मौका पारेर उनले पाटनमा र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा एकल कला प्रदर्शनी गरे। त्यहाँ पनि उनले आफ्नो त्यो सार्कको लोगो राख्न भुलेनन्। 'यो मेरो सबैभन्दा ठूलो उपलब्धी हो,' उनले भने, 'यसलाई कहि पनि छाड्न सक्दिनँ।' सार्क लोगोसँगै बौद्ध भिक्षुले शंख फुक्दै गरेको चित्र राखेका उनले यी क्षेत्रमा चाँडै शान्ति छाउने विश्वास गरे।

तैल चित्र र पानी चित्रमा सफल उनी पेन्सिल रंगमा पनि उत्तिकै निपुण छन्। आफ्नो बाल्यकालदेखिको चाहना र इच्छालाई क्यानभासमा उतार्ने ल्ाक्ष्य पूरा गरेका उनलाई अझै पनि त्यो सार्क लोगो निकै प्यारो लाग्छ। 'सार्क राष्ट्रमा फेरी शान्ति छाएको हेर्ने रहर छ,' आफ्नो पुरानो लोगो नियाल्दै उनले भने, 'शान्तिका परेवा सधैं सुरक्षित उडिरहून् भन्ने चाहना छ।'

प्रकाशित: २७ कार्तिक २०७३ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App