१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खान जाने पो चाड !

काठमाडौं- मिठो खाने मन कसलाई हुन्न र ?  त्यसमा पनि दसैं–तिहारजस्ता ठूला चाडपर्वमा । आमरुपमा खानाको महत्व र मात्रा नबुझ्दा चाडपर्व नै रोग निम्त्याउने र स्वास्थ्य जोखिम बढाउने कारक बन्ने गरेका छन् । प्रचलित भनाइ छ– संसारभर खान नपाएर भन्दा खान नजानेर बिरामी वा मृत्यु हुने संख्या बढी छ । त्यसैले चिकित्सक भन्छन्, ‘खान जाने पो चाड, नत्र रोगको भार ।’
स्वस्थ जीवनका लागि उमेर र दैनिकी (काम र श्रम) का आधारमा महŒवपूर्ण अंगको कार्यप्रणालीलाई सघाउनेगरी क्यालोरी र सबै पोषक तत्व मिलाएर खानुपर्ने हुन्छ । तर, आममानिस स्वास्थ्यका हिसाबले निर्धारण गरिएका यी आधारलाई ‘फलो’ गर्दैनन् । 

खाने तरिका नजान्दा र नमान्दा गम्भीर रोगका ‘रिक्स फ्याक्टर’ का रुपमा हेरिने कोलस्टोरल, मधुमेह, उच्च रक्तचाप, मोटोपन भएका मानिस समस्यामा पर्न सक्छन्।

विशेषगरी दसैैंमा मदिरा र मासुको खपत बढी भए पनि तिहार र छठमा भने मिठाई र मसलाको खपत बढी हुन्छ । चिकित्सकहरू मात्रा मिलाएको अवस्थामा मसलाको प्रयोगलाई स्वस्थकर मान्छन् । मिठाई भने प्रयोग हुने तेल, मैदा, दूध र चिनीको मात्रासँगै कति खाइन्छ भन्ने आधारमा फाइदा–बेफाइदा छुट्याउन सुझाउँछन् । तुलनात्मक रुपमा मात्रा मिलाएर खाँदा तिहारमा प्रयोग गरिने मसला एवं ड्राइफुडमा स्वस्थकर र औषधीय तत्व बढी पाइन्छ ।
खाने तरिका नजान्दा र नमान्दा गम्भीर रोगका ‘रिक्स फ्याक्टर’ का रुपमा हेरिने कोलस्टोरल, मधुमेह, उच्च रक्तचाप, मोटोपन भएका मानिस समस्यामा पर्न सक्छन् । ‘हामी निकै बिरामी नभएसम्म खानामा मात्रा मिलाएर खानुपर्छ भन्ने ठान्दैनौं,’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘त्यसैले हरेक पर्व सकिएसँगै पुरानो रोगीका समस्या बढ्ने र जोखिममा भएकामा रोग सुरु हुन्छ ।’  
डा. अनिलका शब्दमा कुनै पनि खानेकुरा हानिकारक छैनन्, उमेर र अवस्थाअनुसार मिलाएर खान जान्नुपर्छ, त्यत्ति हो । ‘केही खाना जति कम खायो उति राम्रो, केही अलि बढी खाँदा पनि फरक पर्दैन,’ अनिल भन्छन् ।
वीर अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालको अनुभवमा अस्वस्थकर खाना भनेको बढी चिनी, नुन, स्याचुरेटेड फ्याट, बोसो वा चिल्लोको मात्रा बढी हुनु हो । ‘कार्बोहाइड्रेड, मिनरल, फाइबर र भिटामिनको मात्रा बढी भएको प्राकृतिक खाना स्वस्थकर हो,’ बराल भन्छन् । 
चिकित्सकका अनुसार शरीर सञ्चालनका लागि ऊर्जा निकाल्ने कार्बोहाइडे«डले हो । सामान्य वयस्क मानिसका लागि उमेर र कामको प्रकृति हेरेर दैनिक दुईदेखि तीन हजार क्यालोरी आवश्यक पर्छ । चिकित्सकका अनुसार दैनिक खानामा प्रोटिन ३० प्रतिशत, कार्बोहाइडे«ड ४० प्रतिशत, चिल्लो पदार्थ (टोटल फ्याट) ३० प्रतिशत हुनुपर्छ । फ्याटमध्ये हानिकारक ट्रान्सफ्याटको मात्रा एक  प्रतिशतभन्दा बढी हुनुहुन्न । 
सामान्य रुपमा हेर्दा आमनेपालीले दैनिक खाने दाल, भात र तरकारीमा शरीरलाई आवश्यक क्लोरोलीमध्ये कतिपय तत्व कम नै हुन्छन् । ‘अघिपछि पर्याप्त नखाने र चाडपर्वमा चाहिनेभन्दा बढी खाने गर्दा शरीरले पचाउन सक्दैन,’ बरालले भने, ‘त्यसमा पनि विशेष परिकारको रुपमा हेरेर खपत गरिने मिठाईमा हालिने रङ, फलफूल पकाउन हालिने केमिकल र प्रिजरभेटिभले मिर्गौलामा असर गर्छन् । 
प्याकेजका खानेकुरा खाँदा त्यसमा उपलब्ध तत्वहरूको ‘लेबलिङ’ लगायत हेनुपर्ने बरालको सुझाव छ । ‘मिठाईमा हाल्ने प्रिजरभेटिभ र रङ सबैभन्दा हानिकारक हुन्छ,’ उनले भने, ‘मिर्गौला र मुटु रोगीहरूले भने मसला खाँदासमेत सावधान हुनुपर्छ ।’ 
‘स्वस्थ नै भएकाहरूले पनि क्यालोरी मापन गर्दा शारीरिक परिश्रम, हिँडडुल कति हुन्छ भन्नेमा ध्यान दिनुपर्छ,’ डा.ओम भन्छन्, ‘मुटु, मधुमेह, मिर्गौलालगायत दीर्घ रोगीहरूलाई यस्तो खानपानले समस्या थप्छ ।’ 
पछिल्ला दिनमा मधुमेहका रोगीले प्रयोग गर्ने ‘सुगर फ्री’ परिकारसमेत बजारमा आएको छ तर त्यसले पनि कोलस्टोरल र क्यालोरी कम गर्दैन ।  चाडका पर्याय बन्ने चिल्लो, मसलेदार र काँचो खानाले कोलस्टोरल, ब्लड प्रेसर, युरिक एसिड र सुगर बढाउनुका साथै पाचन र निद्रासँग सम्बन्धित समस्यासमेत बढाउने डा. ओममूर्ति बताउँछन् । 
शाकाहारीले पनि भोजन छनोटमा उत्तिकै ध्यान दिनुपर्छ । सिंगारेर राखेका मिठाई, हेर्दै खाऊँखाऊँ लाग्ने केक, जंकफुड पनि स्वस्थकर हुन्नन् । खाद्यान्नमा प्रयोग गरिने ‘प्रिजरभेटिभ’ र रङ क्यान्सरको कारक बन्छन् । 
व्यापारिक प्रयोजनका लागि खाद्यसामग्री बनाउने क्रममा प्रयोग गर्ने दूषित पानी, मिति सकिएका खाद्यवस्तु, ढुसी परेका खाद्यान्नका कारण मानिसमा झाडापखालासँगै पाचन प्रणालीसम्बन्धी रोग लाग्छ । यस्ता खाद्य तथा पेय पदार्थका कारण लामो समयपछि कलेजो बिग्रँदै गएर अन्य विभिन्न रोग देखापर्न सक्छन् । 
यस्ता खाद्य तथा पेय पदार्थका कारण झाडापखाला, हेपाटाइटिस ‘ए’ र ‘इ’, पोलियो, टाइफाइड, पाराटाइफाइड, आउँ, रातोमासी, हैजा, जियारडियासिस, जुका, हाइड्याटिड (फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा पानीका फोका हुने) जस्ता रोग लाग्छ । मिठाईमा लिड, मर्करी, कार्सिनोजेन्सजस्ता मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रङको मिसावट हानिकारक हुन्छ । चिकित्सकका अनुसार मिठाईमा मिसाइने लिडले उच्च रक्तचाप, मिर्गौला, स्नायु प्रणाली तथा प्रजनन प्रणालीलाई असर गर्छ । 
तिहारमा मिठाईमात्रै होइन, मासुको खपत पनि उत्तिकै हुन्छ । प्रोटिनको प्रमुख स्रोत मासुले गर्ने फाइदा थोरै र बेफाइदा धेरै छन् । अधिकांश वयष्कमा मासु उच्च कोलस्टोरल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्याको कारक हो । 
सहरी र आधुनिक समाजमा मासुसँगै मदिरा प्रयोग गर्ने प्रचलन बढ्दो छ । मासुसँगै रक्सी खाँदा मुटु धेरै धड्किने र प्याङ्क्रियाटिक्स समस्या देखिने चिकित्सक बताउँछन् । मासु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रणबाट बनेको हुन्छ । खसी, राँगा, बँदेल, भेडा आदिको मासुमा हुने फ्याटी एसिडले शरीरलाई हानि पुर्याउँछ । रातो मासुको सेवनले युरिक एसिडको जोखिमसमेत बढाउँछ । 
मदिरा सेवनले मुटुको मांशपेशीलाई कमजोर बनाउँदै लाने र मुटुले काम गर्न छोड्ने (हार्ट फेलियर), ढुकढुकी बढ्नेजस्ता समस्या निम्त्याउने चिकित्सक बताउँछन् । उनीहरू स्वास्थ्यका हिसाबले दुई सय ५० एमएल बियर, सय एमएल वाइन र २५ एमएल ह्स्किीलाई सुरक्षित मात्रा भन्छन् ।  उच्च रक्तचाप भएकालाई मदिरा बढी हानिकारक हुन्छ । यस्ता रोगीलाई सेवन गर्नपरे रेडवाइन रोज्न चिकित्सक सुझाउँछन् ।

प्रकाशित: १३ कार्तिक २०७३ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App