१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मालीगाउँका फूलहरू

मालिगाउँ- 'हामीले राजधानी देख्छौं, तर राजधानीले हामीलाई देख्दैन,' मालीगाउँका सूर्यबहादुर तामाङ भन्छन्, 'न बाटो छ न त स्कुल। नानीहरू झन्डै एक घन्टा पैदल हिँडेर स्कुल जान्छन्। पानी परेका बेला त भिरालोमा चिप्लेर लड्छन्। आकाशमा बादल देख्नेबित्तिकै विद्यालय जानै मान्दैनन्।'

डाँडाको टुप्पाबाट उपत्यका छर्लंग देखिन्छ। तर, उपत्यकाको विकास यो गाउँमा आइपुगेको छैन। हरेक बिहान उनीहरूको आँखामा सहर ठोक्किन्छ। डिलमा रहेको बस्तीबाट काठमाडौ खाल्डो प्रस्टै देखिन्छ। साँझ परेपछि सहरको झिलिमिली आकाशको ताराजस्तै लाग्छ। यही रमझम नियाल्दै मालीगाउँका बालकहरू थुप्रै सपना पालेका छन्।

'म त निखिल उप्रेती बन्ने,' कक्षा १ मा अध्यनरत एलेक्स तामाङ दौडँदै आए र भने, 'अनि गुन्डाहरूलाई पिट्ने।'

भक्तपुरको जगातीबाट करिब ७ किलोमिटर दक्षिणमा रहेको सूर्यविनायक नगरपालिका– ७ स्थित मालीगाउँमा बालबालिका खेलिरहेका थिए। यो दशैं र तिहारबीचको सुन्दर मौसम, चिसो–चिसो सिरेटोसँगै उनीहरुले न्याना–न्याना सपना सुनाए।

'म त डाक्टर बन्ने हो,' आफूनजिकै रहेको गाउँले बहिनीको घाउ नियाल्दै १२ वर्षीय सुजन तामाङले भने, 'गाउँमा उपचार गर्ने ठाउँ छैन।' कक्षा ४ मा अध्ययन गर्दै गरेका उनले कोही बिरामी भए पनि सजिलै औषधि खान नपाइने भएकाले डाक्टर बन्ने दोहोर्‍याए।

उनले यति भन्दै गर्दा अलि पर रहेका १० वर्षीय सुबोध तामाङले भने आफू इन्जिनियर बन्ने सुनाए। कक्षा ४ मा अध्ययनरत उनी ४ किलोमिटर बाटो बन्न नसक्दा झन्डै डेढ घन्टा हिँडेरै विद्यालय जानुपर्ने समस्याका पीडित हुन्। तर, उनको सपना छ, पढेर इन्जिनियर बन्ने। सुबोध भन्छन्, 'पहिला यो भिरालो बाटो सम्याउने हो भने स्कुल जान सजिलो हुन्छ। इन्जिनियरले यस्तो काम गर्छ रे, त्यसैले म पनि इन्जिनियर बन्ने हो।'

डोजरले गाउँसम्मै पुग्ने गरी एकपटक बाटो छिचोलेको त छ तर पुनः मर्मत नहुँदा मोटर जान सकेको छैन। 'रातो माटोको बाटो हो, बर्खामा चिप्लिन्छ। हिँड्नै डर लाग्छ,' सुबोधको अनुहारमा दुःख देखियो।

उनको कुरा सकिन नपाउँदै सागर तामाङ अगाडि सरे। तिमी पनि डाक्टर बन्ने कि? प्रश्न खस्न नपाउँदै उनले जिब्रो टोके। 'हैन हैन, म त घर बनाउने मान्छे बन्ने हो, भत्केको घर राम्रोसँग बनाउने,' उनले बालसुलभ पारामा भने। भुइँचालोले घर भत्केपछि टहरामा बस्दै आएका उनले टिन तातेर पोल्ने सुनाए।

गाउँमा विकासका अन्य सामान नपुगे पनि डिस एन्टेनामार्फत विभिन्न च्यानल पुगेका छन्। यिनै च्यानलमा उनीहरू मन परेका कार्टुन र सिनेमा नियाल्ने गरेका छन्। उनीहरूको गाउँमा अन्य समयमा खासै मानिस आउँदैनन्। तर, केही पहिले भोट हाल्ने बेला भने कोट लगाएका मानिस आएको उनीहरूले सुनाए।

'म त निखिल उप्रेती बन्ने,' कक्षा १ मा अध्यनरत एलेक्स तामाङ दौडँदै आए र भने, 'अनि गुन्डाहरूलाई पिट्ने।'

खाए मकै, नखाए भोकै

बालबालिकाले आफ्ना सपना सुनाउँदै गर्दा मालीगाउँका किसानलाई भने भर्खरै पाकेको मकै थन्काउने चटारो छ। यो बस्तीको मुख्य बाली नै मकै हो। त्यसैले यतिबेला गाउँमा कोही मकै भाँच्दै छन्, कोही नंग्याउँदै। कोही मकै छोडाउँदै छन्, कोही मकै पिन्न लाग्दै छन्। कोही मकै बोकेर बजार हिँडेका भेटिन्छन्।

'हाम्रा लागि त मकै नै सबै कुरा हो,' बेली तामाङले भनिन्, 'खाए मकै नखाए भोकै।' भिरालो जमिनमा धान उत्पादन नहुने भएकाले गाउँका सबैको मुख्य बाली मकै भएको उनले सुनाइन्। 

मकै उनीहरूको खाना, खाजा र आम्दानीको आधार हो। यही मकै पनि विगत केही वर्षयता जंगली बँदेलको सिकार हुने गरेको छ। 'मकै बँदेलले खाइदिन्छ,' उनले भनिन्, 'तोरी मृगले खान्छ।'

१२ डोको मकै हुने ठाउँमा ६ डोको मात्र मकै बचेको उनले सुनाइन्। 'बँदेलले मकै खान थालेपछि गाउँमा दुःख आएको छ,' उनले भनिन्, 'यो दुःख छल्ने उपाय देखिएको छैन।'

मालीगाउँमा १२ वैशाखको भूकम्पले धेरैजसोको घरमा क्षति पुर्‍यायो। घर भत्केपछि जस्ताको टहरोमा बस्दै आएका उनीहरूलाई टिनको तातोले भन्दा पनि जनावरले अन्न खाएकाले थप पिरोलेको सुनाउँछन्। उनको मात्र होइन, मालीगाउँको डाँडामा रहेका झन्डै ४४ घर तामाङबस्तीको साझा समस्या यही रहेको छ।

आफ्ना दुःख राज्यले नहेरेको उनीहरू गुनासो छ। डाँडा पाखामा रहेका जनता के खान्छन्, कसरी बसेका छन्, यो हेर्ने फुर्सद कसैलाई नभएको उनीहरूको गुनासो छ। 'भात खान दशैं कुर्नुपर्छ,' ७५ वर्षीय धनबहादुर तामाङ भन्छन्, 'त्यो पनि सबैको नसिबमा हुँदैन।'

सहरबाट नजिकै रहेर पनि दुर्गमको भन्दा कडा दुःख व्यहोर्नुपरेको उनले सुनाए। 'राजधानी खाल्डोको बत्तीको झिलिमिली पिँढीमै बसेर देखिन्छ,' उनले भने, 'तर हाम्रा लागि त्यो आकाशका ताराजस्तै टाढाको भएको छ।'

प्रकाशित: ६ कार्तिक २०७३ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App