१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मधेसमा यसरी मनाइँदैछ दसैं

रौतहट–शक्ति पीठ तथा घरघरमा देवीको पूजापाठ गरी मधेसमा दशैँ मनाइँदै छ । महानवमीको दिन तराई मधेसका जिल्लाहरुमा अवस्थित सबै शक्तिपीठहरुमा दर्शनार्थी तथा श्रद्धालुहरुको भीडभाड लागेको छ । रौतहटको राजदेवी मन्दिर, पिपरा बजार, मत्सरी, गरुडा, कटहरिया, सन्तपुर लगायतका दुर्गा मन्दिरहरुमा सोमबार बिहानैदेखि भक्तजनको भीडभाड देखिएको छ । यसै गरी जिल्लाको अन्य भागमा बनाइएका दुर्गा प्रतिमालाई सजाएर पूजा गर्नेहरुको भीडभाड देखिएको छ ।

मधेसमा खानपानको भन्दा पनि दसैँमा पूजाको संस्कृति रहेको छ। देवी दुर्गासहित अन्य विभिन्न देवदेवीका प्रतिमा स्थापना गरी भव्यतापूर्वक मेला लगाउने चलन रहेको छ। जिल्लाको सम्पूर्ण प्रमुख बजारहरु तथा केही ग्रामीण क्षेत्रमा पनि भव्यतापूर्वक मेलाको आयोजन गरिएको छ । महाअष्टमीको दिन रात्री कालरात्रीमा पूजा गर्ने र बलि प्रदान गर्ने चलन रहेको छ । नवमी तिथिका दिन सम्पूर्ण शक्तिपीठहरुमा बलि दिने प्रचलन रहेको छ । नवमीको दिन रौतहटका मन्दिरहरुमा हजारौँको संख्यामा बोका बलि दिइन्छ ।

दशैँभरि बिहान र बेलुका घरदेखि मन्दिरसम्म पुजा गर्ने चलन रहेकोले हरेक घरमा भक्तिको वातावरण हुने गरेको शिक्षिका रेणु गुप्ताको भनाइ छ । मधेसको संस्कृतिमा दसैँको अवधिभर खेलिने झिँझिया र भगतईमा केही ह्रास भएको भए पनि पूजापाठमा हरेक वर्ष श्रद्धालुहरुको संख्या बढ्दै गइरहेको शिक्षिका गुप्ताको भनाइ छ ।

दशैँमा एक अर्कालाई शुभकामना आदान प्रदान गर्ने र भोजभतेर गर्ने चलन पनि बढिरहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र प्रसाद गुप्ताको भनाइ छ । मूर्ति स्थापना गर्ने, प्रतिमा बनाएर देवीको पूजा गर्ने, मेला लगाउने तथा घरमा समेत पूजा गर्ने र व्रत बस्ने चलनले गर्दा मधेसको समाज एक किसिमले भक्तिमय बन्ने गरेको अध्यक्ष गुप्ता बताउँछन् ।

दसैँको महाअष्टमीदेखि विजया दशमीको दिनसम्म तीन दिन विभिन्न स्थानमा मेला लाग्ने हुनाले सुरक्षा चुनौती केही थपिने गरेको छ । मेलामा पहिले जुवा खेलाउने चलन थियो तर सुरक्षा व्यवस्थामा जुवाले निकै चुनौती थपिने गरेकोले अहिले यसको चलन रोकिएको छ तर पनि अनेक किसिमको नाच र तमासाले गर्दा सुरक्षा चुनौती हुने गरेको छ ।

धार्मिक भेला जिल्लाभरि आयोजना हुने भएकोले सुरक्षाकर्मी निकै सम्वेदनशील भएर काम गर्नुपर्ने  हुन्छ । दशैँको अवधिभर सुरक्षा निकायको सजगताले खासै कुनै दुर्घटना हुन नपाएको र दसैँदेखि तिहारसम्म जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सुरक्षा योजना ल्याएको जिल्ला प्रहरी कर्याालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविणकृष्ण भण्डारीले बताएका छन् ।

यसैवीच विगत बर्षहरुमा तराइ मधेसका जिल्लाहरुमा ठुलठुला राजनितिक पाटीहरुले शुभकामना अदान प्रदान गरेर दशै तिहार मनाउने गरेको देखिन्थ्यो । यो वर्षको दशैको करिव अन्ततिर पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल कडा सुरक्षावीच गृह नगर रौतहटको सदरमुकाम गौरमा आइतवार आएर मात्र शुभकामना अदान प्रदान कार्यक्रम गरेर फर्केपनि अन्य शिर्षपाटीले भने कुनै औपचारिक कार्यक्रम गर्न सकेको छैन् ।

नेपालको संविधान २०७२ जारी भएलगतै आफनो माग सम्बोधन हुन नसकेको भन्दै असन्तुष्ट मधेसवादी पाटीहरुले आन्दोलनमा होमिएपछि गत वर्ष र यो बर्ष सतासिन तथा प्रतिपक्षमा रहेका ठुलापाटीले खुलेर शुभकामना अदान प्रदान कार्यक्रम गर्न सकेको छैन् ।

संविधान संशोसन लगायत मधेसको समस्या समाधान नहुन्जेल सम्म संविधान जारी गर्ने जुन सुकै पाटीका नेता मधेसमा कुनै औपचारीक तथा अनौपचारिक कार्यक्रम गर्न खोजेपनि मधेसवादी दलका नेताहरुले विरोध प्रर्दशन तथा कालो झण्डा देखाउने गरेको कारण मधेसको सदरमुकामहरुमा ठूला पार्टीका केन्द्रीय नेताहरुले शुभकामना अदान प्रदान कार्यक्रम गर्न नसेको जेष्ठ नागरिक समाजका अध्यक्ष विजय किशोर झाले बताए । तराइ मधेसको समस्या संविधान संशोधन मार्फत समाधान गर्न जरुरी देखिएको झाको भनाइ छ ।
  

प्रकाशित: २४ आश्विन २०७३ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App