२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपचार गर्न छिँडीको बास

काठमाडौं- राजधानीको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सर्जिकल वार्डबाहिर भुइँमा म्याटको ओछ्यानमा एक जना दुब्ली महिला घोप्टो परेकी छन्। उनी हुन् कैलाली फूलबारीकी ५५ वर्षीया गौरी चौधरी। एक साताअघि मिर्गौला उपचार गर्न गौरी दम्पती राजधानी आएका हुन्।

पति फागुरामका अनुसार गत जेठमा टिचिङमै गौरीको मिर्गौलाको शल्यक्रिया गरेर उनीहरू घर फर्केका थिए। त्यसबेलै पिसाब थैलीमा राखेको पाइप निकाल्न अहिले उनीहरू आउँदा फेरि पत्थरी बल्झेको छ। 'मिर्गौलामा फेरि पत्थर देखियो, पाइप पनि निकाल्नुछ,' फागुरामले भने, 'डाक्टरले केही दिनमा निधो गर्छु भन्नु भएको छ, नभए अन्तै भए पनि अपे्रसन गर्ने कुरा छ।'

राजधानी आएपछि तीन दिन होटलमा बसे पनि पाँच दिनयता भने छिँडीमै बिताए। ऋण खोजेर ल्याएको खर्च सकिएला भन्ने पीरले छिँडीमा बसेको उनीहरुले सुनाए। 'आफन्त छैनन्, होटलमा बसौं खर्च पुग्दैन,' गौरीले भनिन्। अस्पतालको छिँडीमा बस्न चौधरी दम्पतीले जुक्ती लगाएका छन्– क्यान्टिनमा एक छाक खान्छन्, अस्पतालको धारामा हातमुख धुन्छन् र त्यही पानी पिउँछन्।

राति जाडो हुन थाले पनि चौधरी दम्पति घरबाट ल्याएको एउटा तन्नाको भरमा रात काट्छन्। 'एउटा तन्ना र बुढीको पछ्यौरा छ, त्यही ओढ्छौं,' उनले भने। त्यही ओढ्ने ओछ्याउने पनि हराउला भनेर दुवैजना एकैपटक कतै निस्कँदैनन्। साथको खर्च राति चोरिएल भनेर पालैपालो सुत्छन्। अस्पतालमा बसेदेखि दुवैले नुहाउन पाएका छैनन्।

चौधरी दम्पती जेठमा पनि छिँडीमै बसेका थिए। टाढाबाट आउँदा गाडी भाडा, बाहिर खाँदा महँगो, खर्च सबै गर्दा पत्नीको उपचार खर्च उनको क्षमता भन्दा बढी भएको पति फागुरामले बताए। दुई पटक उपचारमा आउँदा तीन  लाख जति ऋण पुगिसकेको उनले बताए। 'अव यो क्रण तिर्न जग्गा नबेची उपाय छैन,' फागुरामले भने। चौधरीलाई लिएको पैसाले यस पालि उपचार खर्च नपुग्ने अर्को चिन्ता थपिएको छ। 'तीस हजार औषधी बाहेक नै लाग्छ भनेका छन् ,खर्च पुग्ने स्थिति छैन'उनले चिन्ता व्यक्त गर्दै भने।

अस्पतालकै वार्डको भुुइँतलामा दिउँसै औच्छयाउनमा भेटिइन् कोहलपुरकी ४७ बर्षीया शितला बिक। हेमोडाइलोसिसको  फिस्टुला बनाउन उनी पाँच दिन अघि आईपुगेकी हुन्। उनको हेरचाहमा खटेका पति र सम्दनी पवित्राले पनि छिंडीमै बिताए। राजधानीमा आफन्त नभएकैले अस्पतालको छिंडीमा बस्नु परेको बताए। 'होटेलमा खर्च गर्ने पैसाले उपचार नै सकिन्छ यतिका जजना कहाँ जानु? ' शितलाले भनिन्। गत साउनमा मिर्गौला बिग्रेपछि उनलाई दुई लाख ऋढा लागेको छ। पाँच दिनसम्म बिताउने क्रममा दुई छाक खाएको बताए। यस पालि भने भएको थोरै गहना बेचेर उपचारमा आएको उनले बताइन्। जाडो पलाउँदै गएकोले रात काट्न मुस्किल परेको शितलाले बताइन्। 'बर्कोले जाडो छेक्दो रहेनछ'उनले भनिन्।

यस्तै व्यथा छ धार्दिङका ७३ बर्षीय झलक बहादुर पौडेलको। उनी पक्षघातको उपचार गर्न छोरा दल बहादुर सहित बुधवार राजधानी आईपुगेका हुन्। साँझपख अस्पतालमा भेटिएका उनले अस्पतालको भुइँतलामा सुत्ने निधो गरेका थिए। खर्चको अभावले  भुइँमा सुत्ने निधो गरेको छेारा दल बहादुरले बताए। 'वरिपरि होटेल छन्, गएर बस्ने अवस्था छैन'दल बहादुरले कारण खुलाउँदै भने। दुवै पटक ऋण खोजेर उपचार खर्च लिएको पौडेलले बताए।

अस्पतालका सुरक्षा गार्ड प्रमुख पदम बहादुर पन्तका अनुसार कटाढाबाट उपचारमा आउने विपन्नहरु छिंडीमै बस्छन्। 'यस्ता सातदेखि दश जना हुन्छन्, कति जँड्याहा पनि आएर यहाँ बस्छन्,' पन्तले भने। त्यस्तालाई सुरक्षाकर्मीले नियन्त्रण गर्ने पन्तले बताए।

छिंडीमा बस्न बाध्य विपन्नलाई राहत दिन अस्पतालले १० वर्षअघि अस्पतालकै पछाडि हातामा खाना पकाउन टहरो बनाइदियो। अस्पतालको अनुसार यस्ता बिरामी राख्ने अस्पतालको आफ्नै व्यवस्था छैन।  भर्ना भएका विपन्न बिरामीको हकमा भने भर्ना भईसकेपछि निशुल्कःशैय्याको व्यवस्था भएको अस्पतालका प्रशासक गोविन्द बहादुर प्रधानले बताए। अस्पतालमा यस्ता बिरामी धेरै आउने गरेपनि अस्पताल आफैसंग उनीहरुलाई खान बस्न दिने कुनै व्यवस्था छैन। यस्ता बिरामीलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयसंग बिशेष कोष स्थापनाको लागि भने अनुरोध गरेको प्रधानले बताए। ' यस्ता नागरिकलाई सुविधा दिने हो भने सरकारले बिशेष कोष स्थापना गर्नको लागि अनुरोध गरेका छौं'उनले भने।

अस्पतालको आफ्नै व्यवस्थाको अभावमा लामो समय सयम बस्नु पर्ने बिरामीहरुलाई समाजसेवी धर्मशाला तथा गैरसरकारी संस्थालाई सम्पर्क गराईदिने उनले जनाए।

प्रकाशित: १४ आश्विन २०७३ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App