१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भत्केका मन्दिरका मूर्ति तलेजुमा

भक्तपुर- गत वर्षको भूकम्पमा ध्वस्त भक्तपुर नगरपालिका–६ चोर्चास्थित गणेश मन्दिरलगायत अन्य कतिपय मन्दिरका मूर्ति पनि हराए। भूकम्पमा चोर्चाका अधिकांश घर भत्के। भक्तपुरको यो घना बस्ती त्यसपछि भग्नावशेषले पुरिएजस्तै भयो। भूकम्पपछि शिविरमा बस्दा बल्ल स्थानीयले मन्दिर अनि मूर्ति खोजी गर्न थाले। उनीहरूले गणेश मन्दिरका केही मूर्ति हनुमानघाटमा भेट्टाएर फेरि चोर्चामै ल्याएर स्थापना गरे। अहिले मन्दिर पुनर्निर्माण नभए पनि स्थानीयले मूर्ति भने संरक्षण गरेका छन्।

भूकम्पमा भक्तपुरका धेरै मन्दिर भत्के। भक्तपुर नगरपालिकाको तथ्यांक अनुसार नगरभित्र ८ सय ६० वटा सम्पदा (१ सय ७२ वटा मन्दिर, १९ वटा मठ, ३७ वटा सत्तल, २ सय ५६ वटा पाटी, ८८ वटा ढुंगेधारा, २ सय ५२ वटा इनार र ३६ वटा पोखरी) छन्। तीमध्ये १ सय १६ वटा (६७ वटा पूर्ण र ३९ वटा आंशिक) क्षतिग्रस्त छन्। गत वर्षको भूकम्प र पछिका अनुकम्पले सबैभन्दा ठूलो क्षति काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका सम्पदा स्मारक, मठमन्दिर, पाटी पौवा र ढुङगेधारामा भएको थियो।

तथ्यांक अनुसार भक्तपुर नगरपालिका–४ क्वाठण्डौंको प्रशन्नशील आगमछें, देवली आगमछें, श्वेतभैरव मन्दिर, श्वेतभैरव द्योछेंसहित क्वाठण्डौं ढुंगेधारा क्षतिग्रस्त छन्। भक्तपुर नगरपालिका–६ इनाचोमा २७ वटा सम्पदामा क्षति पुगेको छ।

संस्कृतिविद् ओमप्रसाद धौभडेल बिहान पूजा नगरी केही नखाने संस्कृति भएको भक्तपुरवासीलाई अहिले असाध्यै सकस भइरहेको बताउँछन्। टोलटोलका मन्दिर भत्केर देवताका मूर्तिविहीन भएपछि पूजाको वातावरण नभएको र यसले भक्तपुरवासीको जनजीवन नै अस्तव्यस्त हुन पुगेको उनी बताउँछन्।

भक्तपुर इनाचोकी रामप्यारी लाखाले टोलवासी नै मिलेर हराएका मूर्ति खोजेर फेरि पुनःस्थापना गरेको सुनाइन्। उनले अझै नारायणलगायत अन्य मूर्ति नभेटिएको बताइन्। ५ वटा ढुंगेमूर्ति भेट्टाएर पुनःस्थापना गरिएको हो। 'भेटिएका ५ वटा मूर्ति सुरक्षित हुने गरी ढलान गरी पुनःस्थापना गरेका छौं,' उनले भनिन्।

नगरका धेरै मन्दिर भत्के पनि विशेष पूजा हुने मन्दिर भने भत्केका छैनन्। अग्लो पाँचतले मन्दिरलगायत मन्दिर सुरक्षित छन्। भूकम्पमा भक्तपुर दरबार स्क्वायरस्थित पाँचतले मन्दिरजस्तै अग्लो फसीदेग मन्दिर भने भत्केको थियो।

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी अधिकृत मंगला प्रधानले दरबार क्षेत्रकै वत्सला मन्दिरलगायत महत्वपूर्ण मन्दिरका मूर्ति सुरक्षित राखिएको जनाइन्। दरबार स्क्वायरकै फसिदेग, भक्तपुर–११ चुपिंघाट र भक्तपुर–७ गोल्मढीस्थित गणेश मन्दिरका सबै मूर्ति तलेजुभित्र सुरक्षित राखिएको जनाइन्। 'हामीले भेटेजति सबै मूर्ति सुरक्षित राखेका छौं,' उनले भनिन्।

तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले भूकम्पमा भत्केको मन्दिरका मूर्तिलगायत अन्य सामग्री राख्न ठाउँ दिएको जनाए। मूर्ति भक्तपुर दरबार स्क्वायर गोल्डेन गेटबाट तलेजु प्रवेश गर्नासाथ चोकको दुई छेउमा राखिएका छन्। त्यहाँ ५० वटाजति ढुंगेमूर्ति राखिएका छन्। त्यहाँ वत्सला मन्दिरका मूर्तिसहित घण्टलगायत महत्वपूर्ण सामाग्री राखिएका छन्। काठका केही सामान पनि तलेजुभित्र ताला लगाएर राखिएको छ।

भक्तपुरका क्षतिग्रस्त सम्पदा पुनर्निर्माण पनि सुरु भएको छ। दरबार क्षेत्रकै शंखनारायण मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ भने प्रवेशद्वार खौमा द्वारको पुनर्निर्माण नगरपालिकाले गरिरहेको छ।

प्रकाशित: १४ भाद्र २०७३ ०२:०५ मंगलबार

भत्केका मन्दिरका मूर्ति तलेजुमा