१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मध्यपुर थिमीमा तीन नाच

मध्यपुर थिमी- गाईजात्रासँगै भक्तपुरको मध्यपुर थिमी नृत्यमा झुमेको छ। नगरका ठाउँठाउँमा विभिन्न नृत्य सुरु भएका छन्। यहाँ तीन ठाउँबाट नाच निकालिएको छ। मध्यपुर थिमी नगरपालिकाको बोडेमा नीलबाराही, नगदेशमा महाकाली र लायकूमा लायकू भैरव नाच सुरु भएका हुन्। लामो समय बन्द भएका नाचसमेत सुरु भएका छन्। करिब ४५ वर्षयता बन्द रहेको मध्यपुर थिमीको लायकूबाट निस्कने लायकू नाच गतवर्ष फेरि सुरु भएको हो।

सात वर्षपछि नगदेशमा महाकाली नाच सुरु भएको छ। आर्थिक अभावका कारण वर्षेनी प्रदर्शन गर्न नसकेको महाकाली नाच २०६६ सालपछि यसै वर्ष सुरु भएको हो।

नगदेश साँस्कृतिक समूहका सचिव विनोद कोजूले आर्थिक अभावका कारण रोकिएका मध्यपुर थिमीका नाच स्थानीय जनताले चन्दा उठाएर फेरि सुरु गरेको जनाए। एउटा नाच प्रदर्शन गर्न लाखौं रुपैयाँ चाहिने भएकाले जनताले चन्दाबाट अर्थ संकलन गरेको सचिव कोजूले बताए। सरकारी स्तरबाट आर्थिक सहयोग बन्द भएपछि नाच पनि रोकिएका थिए।

थिमीको बोडेमा नीलबाराही नाच पनि सुरु भएको छ। तीन दिन चार रात हुने नाच भदौ ७ सम्म चल्नेछ। मुख्य देवता नीलबाराहीको भूमिका निर्वाह गर्ने प्रेमचन्द्र अदुवा श्रेष्ठका अनुसार नाच वर्षेनी सापारु अर्थात् गाईजात्राको भोलिपल्ट द्वितीयाको मध्यरात सुरु हुने परम्परा छ। श्रेष्ठका अनुसार नाचमा १९ जनाको सहभागिता रहन्छ। नाचमा भैरव एक जना, बाराही चार जना, कुमारी चार जना, सिंह चार जना, द्वारपाल दुई जना र गणेश चार जनाको सहभागिता रहन्छ।

एक जना सहयोगी सागर अदुवा श्रेष्ठका अनुसार नाचका बेला बालिने सुकुन्दा निभ्नु हुँदैन। निभेमा कलाकारको पेट दुख्ने, बान्ता हुने विश्वास गरिन्छ। कलाकार थाके भूईंमा नबसाली सहयोगीले काखमा बसाल्नुपर्ने चलन छ। कलाकार नाच अवधिभर मौन बस्नुपर्छ। केही भन्नु परे इशारा गरेर बताउनु पर्ने चलन छ।

नीलबाराही नाच तन्त्रमा आधारित भएको विश्वास गरिन्छ। किम्बदन्ती अनुसार बोडेका एक जना धों थरका ज्यापूलाई खेतमा काम गरिरहेका बेला अपहरण गरी हाल नीलबाराही (बोडे नजिकको) जंगलमा राखियो। नीलबाराही मन्दिरसँगै गंख्वचा भन्ने स्थानमा काम गरिरहेको ज्यापुको अपहरण गर्ने स्वयं नीलबाराही रहेको विश्वास गरिन्छ।

तिनै ज्यापुलाई जंगलमा मन्दिर बनाउन र विशेष तान्त्रिक विधि अनुसार नीलबाराही गणको नाच स्थापना गरी नाच्ने विधि गोप्य रुपमा सिकाएर पठाएको किम्बदन्ती छ। नीलबाराहीको आज्ञा पालना गर्दै ज्यापुले नीलबाराही गण नाच स्थापना गरी वर्षेनी नाच नचाउने प्रचलन थालेको बताइन्छ। त्यसकारण आजसम्म पनि देवगण नाचको लागि आवश्यक सरसामान धों थरको परिवारबाटै लिने परम्परा छ। नाच सकिएको भोलिपल्टै ती सबै सामान फेरि धोंहरुलाई नै फिर्ता गर्नुपर्ने प्रचलन छ।

प्रकाशित: ७ भाद्र २०७३ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App