१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राष्ट्रगानको भाव सुनाउँदै व्याकुल माइलाले भने: डेढ महिना लगाएर लेखेको थिए

सधै भन्दा फरक थियो, आइतबार भक्तपुरमा भएको एउटा कार्यक्रमको परिदृष्य। कार्यक्रममा प्रमुख अतिथि, अथितिहरु खासै कोही थिएनन्। तर कार्यक्रमको विशेष आकर्षण थियो, नेपालको राष्ट्रगानका रचनाकार व्याकुल माइला अर्थात् प्रदीपकुमार राई। कार्यक्रम थियो, व्याकुल माइलाले रचेको राष्ट्रगानको भावबारे सुनाउँने। 

व्याकुल माइलाका अनुसार राष्ट्रगानको भावबारे गरिएको यो नै नेपालको पहिलो कार्यक्रम थियो। यस्तो कार्यक्रम अन्त कतै अहिलेसम्म भएको छैन, व्याकुल माइलाले भने। त्यहाँं उनले आफूले रचेको राष्ट गान सयौं थुंगा फूलका हामी एउटै माला नेपाली राष्टगानको भावबारे चर्चा गरे। झण्डै एक घण्टा लगाएर उनले ८ हरफको ४५ शब्दको राष्ट्रगानको भाव सुनाए। उनले शब्दशब्द राष्ट्रगानको भाव सुनाएका थिए।

उनले राष्ट्रगानको एउटै भाव राष्ट्रप्रेम रहेको बताए। उनले यही भावका साथ राष्ट्रगान लेखेको सुनाए। उनले देश कसैको एकलौटी होइन, हामी सबैको हो भन्ने भावना राष्ट्रगीतको मुख्य आधार रहेको पनि बताए। हामी सबैजनाको सार्वभौम देश भन्ने सन्देश आफूले दिन खोजेको उनले सुनाए। राष्ट्रगान लेखनमा आफूले झण्डै डेढ महिना निरन्तर लेखेको स्मरण गर्दै त्यसपछि बल्ल आफूले अन्तिम रुप दिएको सुनाए। आफूले लेखे भन्दा हालको राष्ट्रगानमा केही शब्दहरु थपघट भएको रहस्य उनले खोले। तर आफनो सहमतिमा ती शब्दहरु थपघट भएको उनले सुनाए। सकेसम्म सरल लेखाइ होस् भनेर विशेष ध्यान दिएको थिए, उनले भने, त्यही कारण दोश्रो हरफमा सार्वभौम शब्द राख्नै चाहेको थिएन्, तर त्यसको बिकल्प नै भएन। उनले आफूले बहु जात भाषा धर्म लेखेकोमा बहुल बनाइएको जानकारी गराए।

२०६२।०६३ को सफल जनआन्दोलनसँंगै नयाँं राष्ट्रगानको लागि देशभरबाट सरकारले आह्वान गरेको थियो। त्यसमा एक हजार दुई सय ७२ वटा राष्ट्रगानको प्रतिस्पर्धामा सहभागी थिए। ती राष्ट्रगानहरुमध्ये सर्वाेत्कृष्ट राष्ट्रगान छनौटका लागि स्वर्गीय सत्यमोहन जोशीको संयोजकत्वमा कार्यदल बनेको थियो। कार्यदलले व्याकुल माइलाले लेखेको सयौं थुंगा फूलका हामी एउटै माला नेपाली छनौट गरेको थियो। राष्ट्रगान ८ हरफमा ४५ शब्दको रहेको छ।

जन आन्दोलन २ पछिको नयाँ राष्ट्रिय गान सयौं थुंगा फूलका हामी का रचनाकार प्रदीपकुमार राई÷ व्याकुल माइलाको जन्म २०२९ साल चैतमा थाक्ले–८ हिलेपानी, ओखलढुङ्गामा भएको हो। आमा धनलक्ष्मी र बुबा मानबहादुरका छोरा प्रदीपका एक दाजु, एक दिदी र एक भाई छन्।  

प्रकाशित: ८ माघ २०७९ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App