४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

समाजिक दायित्वबाट दलहरू पन्छिएको गुनासो

सप्तरीका दिघवा गाविसका बाढी पीडित दलित बालबालिकाहरुलाई राहत वितरण गर्दै मैथिली सिने जगत्की नायिका डोली सरकार। तस्बिरः जितेन्द्रकुमार झा

राजविराज– सप्तरीको खाँडो, जिता, महुली, भलुवाहीलगायतका नदीहरुमा साउन ८ गते एकै साथ आएको भीषण बाढीले जिल्लाका डेढ दर्जन गाविसहरु डुवानमा परे। स्थानीय प्रशासनकै आँकडाअनुसार झण्डै ५ हजार परिवारका १५ हजार बढी घरहरु बाढीका कारण डुवानमा परेका थिए। बाढीको प्रभाव अझै कायमै छ, सँगसँगै राहत सामग्री वितरण कार्य पनि रोकिएको छैन।

बाढी पूर्व, बाढीका बेला र बाढीपछि राज्यले गर्नुपर्ने कामप्रति चर्को आलोचनाको क्रम जारी रहे पनि गैरसरकारी तथा समाजिक क्षेत्र भने सप्तरीका बाढी पीडितका लागि खुला हृदयले सहयोग जारी राखेका छन्। गैरसकारी तथा सामाजिक संघसंस्थाका अतिरिक्त कलाकारदेखि चिकित्सकसम्म, गैरआावासीय नेपालीदेखि वैदेशिक रोजगारमा रहेका मजदुरसम्म, सबै पेशा तथा सबै वर्ग समुदाय भेदभावरहित तरिकाले सप्तरीका बाढी पीडितको सहयोगमा अगाडि आएका नागरिक समाजका अगुवाहरुको टिप्पणी छ।

समाजिक अभियन्ताका रुपमा ख्याति कमाएका बरिष्ठ चिकित्सक गोबिन्द केसीदेखि मैथिली सिने जगतकी नायिका डोली सरकारसम्म बाढी पीडितको सहयोगका लागि पहल थालिन। यद्यपी, राजनीतिक जगत भने आफ्नो सामाजिक दायित्वबाट निकै पन्छिएको महसुस भएको गुनासोसमेत पोख्छन् उनीहरु।

‘ठूला दलहको विभेदपूर्ण व्यवहार’

‘खासगरी सत्ताको केन्द्रमा रहेका तीन प्रमुख राजनीतिक दलको भूमिका अत्यन्तै विभेदपूर्ण देखियो’, नागरिक समाजका अगुवा सुखराम यादवले भने, ‘बाढीपीडितहरुको नाममा राजनीति गर्नेबाहेक खासै सक्रियता उनीहरुको देखिएन।’ महाभूकम्पका बेला काँग्रेस, एमाले, माओवादीलगायतका दलहरुले देखाएको सक्रियता निकै सराहनीय रहेको बताउँदै उनले भने, ‘त्यसै प्रकारको सक्रियता र जवाफदेहिता सप्तरी बाढीका सन्दर्भमा पनि देखिन्छ की भन्ने हाम्रो अपेक्षा थियो।’

त्यसै पनि पछिल्लो संविधानसभा चुनावमा सप्तरीका ६ मध्ये सबै निर्वाचन क्षेत्रहरुमा काँग्रेस, एमाले र माओवादीकै उम्मेदवारहरु विजय भएको बताउँदै यादवले भने, ‘सप्तरीयाहरुको भोट लिएर जितेका ठुला राजनीतिक दलहरु मात्रै चुकेनन्, यहाँबाट नेतृत्व गर्ने ती दलका नेताहरुको रवैया पनि उस्तै रह्यो।’ सप्तरीको ६ मध्यै ३ निर्वाचन क्षेत्रवाट माओवादी केन्द्रका सांसद रहेका छन् भने २ क्षेत्रबाट काँग्रेस र एक क्षेत्रबाट एमाले सांसद निर्वाचित भएका छन्।
जिल्लाका डेढ दर्जन जति गाविस डुवानमा रहेका बेला सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का सांसद अमर मण्डल भन्ने गठन हुन लागेको नयाँ सरकारमा मन्त्री पद थाप्न काठमाडौंमा व्यस्त थिए। उनी माओवादी केन्द्रका तर्फबाट निर्वाचित सांसद हुन्। आफ्नो फेसबुक पेजमार्फत तथा प्रेस विज्ञप्ती जारी गर्दै उनले आफ्नो निर्वाचन क्षेत्र बाढीका कारण हदैसम्म प्रभावित रहेको भन्दै सहयोगको याचना गरे। तर, उनलाई आफ्नो क्षेत्रसम्म आउने फुर्सद समेत भएन्। बाढीका कारण क्षेत्र नम्बर दुईका पनि आधा दर्जन बढी गाविस डुवानमा परेका थिए।

मण्डल मात्रै होइनन् राप्रपा नेपालका सामानुपाति तर्फका सांसद तथा उप–सभामुख गंगाप्रसाद यादव पनि क्षेत्र नम्बर दुईबाटै रहेका छन्। यद्यपी बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि राहत बचाव लगायतका क्षेत्रमा उनको सक्रियता पनि खासै नदेखिएको उक्त क्षेत्रका बाढी पीडितहरुको गुनासो छ। यसैगरी नेपाली काँग्रेसबाट समानुपातिक तर्फका सांसद रञ्जीत कर्ण पनि बाढीका बेला आफ्नो क्षेत्रमा देखिएनन्। असारे बजेट बाँडफाँड तथा आफ्नो सांसदीय विकास कोष वापतको कमिशन उठाउन आ–आफ्ना क्षेत्रमा अत्यन्तै सक्रिय देखिएका यी नेताहरु बाढी विपद्का बेला नदेखिएपछि स्थानीयहरुमा उनीहरुप्रति निकै आक्रोश देखिएको छ।

यता बाढीका कारण सबैभन्दा बढि प्रभावित सप्तरी क्षेत्र नम्बर तीनका निर्वाचित सभासद तथा पूर्व सिंचाई मन्त्री उमेशकुमार यादवको रवैया पनि केही हदसम्म उस्तै देखिएको स्थानीय अगुवाहरुको भनाइ छ। बाढीकै बेला सरकार विघटन भएका कारण यादव आफ्नो क्षेत्रमा घुम्न आए पनि ठुला आश्वास दिनुबाहेक केही पनि पहल नगरेको तिलाठीका बाढी पीडित श्यामप्रसाद कामतले गुनासो गरे।

‘उता सकरपुरातिर आउनु भएको जानकारी हामीले पाएका छौ’, कामतले भने, ‘हामी कहाँ आउने फुर्सत भएन उहाँलाई, सकरपुरातिर पनि आश्वासन मात्रै बाँडेर जानुभयो।’ विभागीय मन्त्री रहेका बेलासमेत उनले पहल गरेको भए सप्तरीको दक्षिणी भेग डुबानको समस्याबाट जोगिने विश्वास स्थानीयहरुको छ।

‘खाँडोबाट वर्षैनी डुब्ने भनेको यही तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, लौनियाँलगायतका गाविस हुन्’, तिलाठी–४ का रामलखन यादवले भने, ‘मन्त्रीजी पनि हाम्रै क्षेत्रका बासिन्दा हुन्, यसै क्षेत्रबाट जितेर गएका नेता पनि खाँडो बारे उहाँ पनि हामी जस्तै जानकार हुन्।’

यादवका अतिरिक्त नेपाली काँग्रेसका तर्फबाट मनोनित सांसद सकलदेव सुतिहार, नेकपा संयुक्तबाट समानुपातिक तर्फकी मिथिला चौधरी र नेकपा एमालेकी रञ्जु झा÷ठाकुर पनि क्षेत्र नम्बर तीनबाट रहेका छन्। यद्यपी, आफ्ना क्षेत्रका बाढी प्रभावितप्रति उनीहरुको रवैया पनि उस्तै रहेको सकरपुराका बाढी पीडित रशिलाल मुखियाको गुनासो छ।
‘मधेश आन्दोलनका बेला मधेश मधेशवादी दलको मात्रै रैति नरहेको टिप्पणी गर्ने, अनि मधेशमा विपद पर्दा मधेशवादी दललाई गाली गरेर तीन ठुला राजनीतिक दल आफ्नो जिम्मेवारीबाट पन्छिने काम मात्रै गरेका छन्’, अवकास प्राप्त प्रधानाध्यापक अमरनाथ झा भन्छन्, ‘भर्खरैको मधेश आन्दोलनले उत्पन्न गरेको फाटोलाई कम गर्ने काम यतिबेला हुनुपर्ने थियो, जहाँ ठुला दलहरु चुकेका छन् ।’

‘च्यूरा र भुजामै सिमिति मधेशवादी’

मधेशको एजेण्डा बोकेर राजनीति गर्ने मधेशवादी दलहरुले पनि सप्तरी बाढीपीडितको सहयोगमा ठूला तीन राजनीतिक दलको जस्तै उदासिनता देखाएका स्थानीय अगुवाहरुको बिश्लेषण छ।

मधेश आन्दोलनका बेला आन्दोलनमा ज्यान गुमाउनेहरुका लागि ५० लाखको घोषणा गर्ने मधेशवादी दलहरुले बाढी पिडितहरुका लागि च्यूरा भुजाभन्दा बढी केही सहयोग गर्न सकेनन्।  त्यो पनि आ–आफ्नो पकेट क्षेत्रका केही गाउँ केही बस्तीका लागि मात्रै।

‘सद्भावना अध्यक्ष राजेन्द्र महतो राहत बोकेरै सप्तरी आउनु भएको जानकारी पाए, त्यो पनि तिलाठी दशगजा प्रकरणपछि मात्रै’, मधेशी नागरिक समाजका अगुवा बद्रीनारायण झाले भने, ‘सप्तरी डुवानमा परेको एक सातापछि तिलाठीस्थित दशगजामा झडप भएको हो, त्यसको दुई दिनपछि महतोजी आएको सुने, उहाँ बाढीपीडितकै लागि आउनु भएको हो वा अरु केही प्रयोजनले खै थाहा भएन।’

सदभावनाका अतिरिक्त तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टीलगायतकाहरुले समेत एक आध बस्तीमा राहत वितरण गरेकोबाहेक बाढी पीडितहरुका लागि खासै गर्न नसकिएको झाको भनाइ छ।

‘राहत बाँडे वा बाँडेनन्भन्दा पनि स्थानीय स्तरमा पहल कस्तो ग¥यो, यस विषयमा पनि चर्चा हुनुपर्छ’, उनले भने, ‘जिविसमा योजना बाँडफाँड देखि लिएर सानो तिनो समस्या उठाएर विभिन्न कार्यालयहरुमा आन्दोलन गर्दै आएका मधेशी मोर्चा बाढी पिडितको सवालमा किन मौन भए, यस प्रश्नको उत्तर उनीहरुलाई दिनुपर्छ।’

डुबानको ४८ घण्टापछि मात्रै स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा सामान्य च्यूरा भुजा बाँडेको बताउँदै झाले भने, ‘बाढी गएको दुई साता बित्न लाग्दासमेत स्थानीय प्रशासनसँगसहित तथ्यांकसम्म रहेको छैन, के मोर्चाले यस विषयमा आबाज उठाउनु पर्दैन?’

 

 

प्रकाशित: ३२ श्रावण २०७३ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App