१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मूल्य बढेपछि चितवनमा तोरी प्रति किसानको आक्रषर्ण बढ्योः उत्पादन समेत बढ्ने अनुमान

भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरका ईश्वरी सापकोटाले प्रत्येक वर्ष तोरी लगाउँछन्। विगत पाँच वर्षको अवधिमा तोरी त्यति राम्रो हुन् सकेन। तर, यसबर्ष भने आफ्नो बारीमा पहेँलै फुलेको तोरी देखेर सापकोटा खुसी छन्। ‘दश कठ्ठा क्षेत्रफलमा तोरी लगाएको छु। 

अहिले तुसारोले गर्दा विषादी पनि हान्न नपर्ने अवस्था छ,’ उनले तोरी बारी देखाउँदै भने, ‘यसभन्दा अघि खानलाई मात्र पुग्दथ्यो। अहिले बेच्न पुग्ने देखेको छु।’ उनी २०३७ सालमा चितवन झरेका हुन्। त्यस बेलादेखि नै तोरी खेती गर्दै आएका छन्। तर, तोरीको उत्पादन क्रमशः घट्दै आएको थियो।  

यतिखेर चितवनका फाँटहरूमा पहेँलै फुलेको तोरी देख्न सकिन्छ। भरतपुर–२३ सत्यनाराण टोलका पुष्पलाल श्रेष्ठ यसबर्ष सिँचाइको सुविधा पुगेकाले पनि उत्पादन राम्रो भएको बताउँछन्। ‘तोरीमा पानी लगाउन पाईएको छ। पाँच कठ्ठा जमिनमा तोरी लगाउँदा एक क्वीनटल हुँदैनथ्यो,’ श्रेष्ठले भने, ‘अहिले कम्तीमा तीन क्वीन्टल उत्पादन हुन्छ।’

विगतका वर्षमा त्यति वास्ता नगर्ने किसान यसपटक धेरैजसोले तोरी नै लगाएका छन्। सिँचाइलगायतका समस्या हटेपछि किसानहरू आकर्षित देखिन्छन्। ‘तोरी लगायो पारीबाट(चितवन राष्ट्रिय निकुञ्ज) जनावर आएर नष्ट गरिदिने। अहिले तारबार गरेपछि जंगली जनावर पनि आएका छैनन्। 

सिँचाइ पनि पुगेको छ,’ बिक्रम बाबा चोककी लक्ष्मी श्रेष्ठले भनिन्, ‘चारबर्षदेखि तोरी लगाउन थालेकी छु। अहिले राम्रो छ।’ उनले २ बिगाहा क्षेत्रफलमा तोरी लगाएकी छन्। सरकारले मल उपलब्ध गरायो भने उत्पादन बढाउन सकिने उनी बताउँछिन्।  

गतवर्ष तोरीबाट किसानले राम्रो आम्दानी गरे। एक क्वीन्टलको १८ हजार रुपैयाँसम्म पारेका थिए। तेलको मूल्यसमेत अचाक्लि बढेकाले चितवनमा यसबर्ष तोरी खेतीको क्षेत्रफल समेत बढेको छ। कृषि ज्ञान केन्द्र चितवनकी कृषि प्रसार अधिकृत सुरुची त्रिपाठी अघिल्लो बर्षभन्दा यस वर्ष तोरीको क्षेत्रफल २ हजार हेक्टरले वृद्धि भएको बताउँछिन्। ‘अघिल्लो आर्थिक वर्षमा १२ हजार हेक्टर क्षेत्रफलमा तोरी खेती भएको थियो। 

अहिले १४ हजार हेक्टर क्षेत्रफलमा तोरी लगाइएको छ,’ उनले भने ‘यसबर्ष हामीले फिल्डमा गएर हेर्दा उत्पादन बढ्ने अनुमान गरेका छौँ।’ तोरी लगाएको ९० दिनमा तयार हुने बाली हो। गहुँ लगायतको अन्य बालीको तुलनामा जंगली जनावरले कम क्षति गर्ने भएकाले त्यस आसपासमा तोरी बढी लगाउने गरिन्छ।  

कृषि ज्ञान केन्द्र चितवनले तेल बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत एक सय हेक्टर जमिनमा बीउ, मल, कृषि औजार, सिँचाइ लगायतका पूर्वाधारमा सहयोग समेत गरेको छ। ज्ञान केन्द्रले क्षेत्रफल बाहेक उत्पादकत्व वृद्धि गर्न लागेको उनले बताईन्। ‘प्रतिहेक्टर एक मेक्टिक टन उत्पादन हुन्छ,’ उनले भनिन्, ‘हामीले अबका दिनमा त्यसलाई बढाउन कसरत गरेका छौँ।’  

चितवन जिल्लामा पछिल्ला चार वर्षको अवधिमा तोरीको उत्पादन त्यति बढ्न सकेको छैन् । आर्थिक वर्ष २०७७/०७८मा भन्दा गत आर्थिक वर्ष २०७८/०७९मा तोरीको उत्पादन घटेको छ। गत आर्थिक वर्षमा १४ हजार ७ सय १८ मेक्टिक टन तोरी उत्पादन भएकोमा अघिल्लो आर्थिक वर्ष १४ हजार ७७४ मेक्टिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनको तथ्याङ्कमा देखिन्छ।

 तर आर्थिक वर्ष २०७६/०७७ मा तोरीको उत्पादन एक हजार ९९१ मेक्टिक टनले घटेको छ। सो वर्ष १२ हजार ७८३ मेक्टिक टन उत्पादन भएको थियो। आ.व. २०७५/०७६मा जिल्लामा फेरी ९ मेक्टिकटन बढेर १२ हजार ८९२ मेक्टिकटन तोरी उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।  

प्रकाशित: ४ माघ २०७९ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App