१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरमा पुग्यो पानी

अन्ततः तीन हजार सातसय ९४ मिटर उचाईको ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट लगिएको पानी खसेको छ। फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाको डढेले मुहानबाट काफ्लेपाटी हुँदै लगिएको पानी मंगलबार बिहान ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा रहेको ट्याङ्कीमा खसाइएको छ। 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्की सम्म पानी पुगेको जनाए।‘ यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततःपानी मन्दिर सम्म पुगेको उनले जानकारी दिए। यो सँगै लामो समयदेखि पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्‍याउने कार्यको प्रारम्भिक परीक्षण भएको पाथीभरा मन्दिर क्षेत्रमा रहेका निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले जानकारी दिए। डढेले मुहानको पानी सञ्चित गर्न काफ्ले पाटीमा प्रमुख (इन्टेक) ट्याङ्की निर्माण भएको छ। 

काफ्लेपाटीबाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी पुग्ने प्रबन्ध गरिएको छ। काफ्लेपाटी सहित ६ वटा ट्याङ्कीमा ५ वटा स्टेशनमार्फत लिफ्टिङ प्रविधिमार्फत पानी पम्पिङ गरेर मन्दिरतर्फ लगिने प्रबन्ध अनुसार काम अघि बढेको थियो। पाथीभरा मन्दिरमा बिकराल पानीको समस्या हुँदा तीर्थालुले हैरानी खेप्दै आएका थिए। तीर्थालुले माथिल्लो फेदी देखि नै आफूलाई आवश्यक पर्ने पानी बोकेर लैजानुपर्ने बाध्यता रहँदै आएको थियो। लिफ्टिङ प्रविधिको पानीको प्रवाह निरन्तर भएमा तीर्थालुको यो बाध्यता हट्ने देखिएको छ। 

२०७७ साल असोज १८ गते सञ्चालन सम्झौता भएर अघि बढेको यो आयोजना अन्तत पूरा भएको छ। लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने प्रक्षेपण रहेको छ। यो आयोजना  कूल ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैयाँ लागतको हो। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल सरकार अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागतको साझेदारीमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना अघि बढेको हो। कूल मध्ये नेपाल सरकारको ५ करोड ७५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ र पाथीभरा क्षेत्र विकास समितिको २ करोड ४६ लाख ३४ हजार ९ सय ८ रुपैयाँ लगानी रहेको छ।

प्रकाशित: ३ माघ २०७९ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App