सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाही माथि अनुसन्धान गर्न सैनिक मुख्यालयले अर्का उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ ।
मुख्यालयले अनुसन्धान गर्नका लागि बुधबार श्रेष्ठको नेतृत्वमा समिति बनाएको हो ।सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले मंगलबार पक्राउ गरी हिरासतमा राखेको हो।
जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० बाट निवृत्ति भरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि शाही सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पुस ३ मा उनको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेपछि उनी मंगलबार नियमित कामका लागि जंगी अड्डा पुगेका थिए।
सर्वोच्चको आदेशअनुसार काममा लगाउनुको साटो सैनिक मुख्यालयले उनलाई नियन्त्रणमा लिएको हो। पूर्वाग्रहका आधारमा आफूलाई अवकाश पत्र थमाएको भन्दै न्यायका लागि सर्वोच्च पुगेका शाहीमाथि सैनिक मुख्यालयले भने सैनिक अनुशासन र संगठनविपरीत गतिविधि गरेको आरोप लगाएको छ।
नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ‘शाहीको अवकाश कार्यान्वयन नगर्नू नगराउनू, निवेदकलाई यथाअवस्थामा काम गर्न दिनू’ भन्ने आदेश दिएको थियो। अवकाश नभएको अवस्थामा उपरथी शाहीलाई वरिष्ठताका आधारमा सैनिक ऐन अनुसार रथीमा बढुवा गर्नुपर्ने हुन्छ। नेपाली सेनाका पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाका निकट शाहीलाई वर्तमान नेतृत्व प्रभुराम शर्माले पदोन्नति नगरी बिदा दिन चाहेको निकट स्रोतको दाबी छ।
प्रकाशित: २० पुस २०७९ ११:११ बुधबार