१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तमोरको तालले अझै त्रास

भीम चापागाई/खगेन्द्र अधिकारी 

ताप्लेजुङ- सावादिन गाविस–१ को मित्लुङमा पहिरो झरेर तमोर नदी थुनिँदा बनेको तालको पानी आइतबार पनि नघट्दा त्यसभन्दा तलको बस्तीका बासिन्दा त्रासमा छन्। ताल अकास्मात फुटे त्यसभन्दा तलका करिब ७० घर बगाउन सक्ने भएकाले उनीहरू त्राहिमाम भएका हुन्।

तालको पानी अझै पूरै नघटेको र पहिरो झर्ने क्रम नरोकिएकाले तालभन्दा माथिको मित्लुङ, त्यसभन्दा तलका घान्द्रुङ तथा दोभान बजारवासीलाई सतर्क रहन आग्रह गरिएको प्रहरी प्रमुख डिएसपी राम केसीले बताए। उनका अनुसार मित्लुङमा करिब ७ घर छन्। त्यसभन्दा तलको घान्दु्रङ बजारमा करिब २० र दोभानमा करिब ४० घर छन्। 'उनीहरू अहिले घरमै छन् तर हामीले कुनै पनि बेला खतरा हुनसक्छ भनेर सतर्क रहन भनेका छौं,' उनले भने, 'त्यसभन्दा तलचाहिँ बस्ती छैन।'

तालको तल्लोपट्टि ठूलो ढुंगाले पानी रोकिरहेकाले तत्काल ताल फुट्ने सम्भावना नभए पनि थप पहिरो झरे खतरा हुनसक्ने उनले बताए। 'ठूलो ढुंगाले तालको पानी रोकिरहेकाले ताल तत्काल फुट्ने सम्भावना कमै छ,' उनले भने, 'तर, पहिरो झरेर अन्यतिरबाट तालको पानी एकैपटक ठूलो भएर बग्यो भनेचाहिँ त्यसभन्दा तल खतरा हुनेछ।' उनले पानी रोकेको ढुंगा फुटाउन वा अन्यत्रबाट पानी बगाउन नसकेकाले ताल यथावत रहेको जनाए। आकाशबाट पानी नपरेका बेला अवस्था सामान्य रहन सक्ने भए पनि पानी पर्नेबित्तिकै पुनः खतरा हुनसक्ने प्रहरीले जनाएको छ।

शनिबार राति वर्षापछि झरेको पहिरोले तमोर नदी थुनिँदा मित्लुङ क्षेत्रमा करिब ६ सय मिटर लम्बाइ, ७० मिटर चौडा र १५ मिटर गहिरो ताल बनेको थियो। आइतबारसम्म अवस्था करिब उस्तै रहेकाले स्थानीयमा त्रास कायमै रहेको हो। नदी थुनिएर बनेको तालमा फुरम्बु गाविस–९ का दिलबहादुर र जीवन लिम्बुको घर डुबेको थियो। पानीमा लिम्बुका २ हलगोरु डुबेका थिए भने घरका सबै सामान बगेका थिए। शनिबार उद्धारका लागि पुगेका नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले जोखिममा रहेका तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थान सारेका थिए।

जिल्ला विपद् व्यवस्थापन समितिले पनि तमोर नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी थुनिएर बनेको तालबाट जोखिम हुनसक्ने भन्दै सतर्क रहन भनिसकेको छ।

अहिलेको अवस्था परिवर्तन नभए तालले तत्काल क्षति नगर्ने स्थानीयको भनाइ छ। मित्लुङका व्यवसायी कृष्ण श्रेष्ठले तालबाट जोखिम मानिएको मित्लुङ बस्ती धेरै खतरामा नरहेको बताए। 'तालको पानीको मात्रा आइतबारको तुलनामा कम भएकाले जोखिम कम छ,' उनले भने, 'आइतबार राति वर्षा कम भएकाले तालमा पानी कम भएको हो।'

नेपाली सेनाको रणभीम गुल्मको टोलीले पनि ताल त्यही अवस्थामा रहे तत्कालचाहिँ यसले तटीय बस्तीमा क्षति नगर्ने जनाएको छ। आवश्यक परे उद्धारसमेत गर्ने योजनासहित मित्लुङ पुगेर फर्किएको टोलीले तत्काल ठूलो संकट नआउने अनुमान गरेको गुल्म निमित्त प्रमुख सन्तोष थापाले बताए।

तत्कालै मित्लुङ क्षेत्रलाई तालले असर नगर्ने र हान्द्रुङ तथा दोभानको दुरी मित्लुङबाट करिब २ किलोमिटर रहेकाले जोखिम अनुमान गरिएभन्दा कम रहेको नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष विकास गौतमले जानकारी दिए। तर, रेडक्रसले पनि सतर्क रहन भने त्यसभन्दा तलका बासिन्दालाई आग्रह गरेको छ। स्थानीय पूर्ण कार्कीका अनुसार तमोर नदीले धार परिवर्तन गरेर फुरुम्बु गाविसतर्फको भाग भएर बगे मित्लुङसहितका क्षेत्रमा असर पुग्नेछ।

प्रकाशित: २८ असार २०७३ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App