१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तमोर थुनिँदा जोखिम

खगेन्द्र अधिकारी 

ताप्लेजुङ- सावादिन–१, मित्लुङमा पहिरो झरेर तमोर नदी थुनिएपछि त्यसभन्दा तलका बस्ती जोखिममा परेका छन्। शनिबार राति झरेको पहिरोले नदी थुनेर करिब ६ सय मिटर लम्बाइ, ७० मिटर चौडाइ र १५ मिटर गहिराइको ताल बनेपछि स्थानीय त्रसित भएका हुन्।

 नदी थुनिएर बनेको तालमा फुरम्बु–९ का दिलबहादुर र जीवन लिम्बूको घर डुबेको छ। पानीमा लिम्बूका २ हल गोरु डुबेका छन् भने घरका सबै सामान बगेका छन्। तमोर बगरको खेतमा काम गर्दा बस्नका लागि बनाइएको घरमा कहिलेकाहीं मात्र मानिस बस्ने गरेकाले मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मित्लुङ बजारका शिक्षक चन्द्र तामाङले भने घरमा पानी पस्न थालेपछि त्यहाँ रहेका मानिस राति नै भागेर माथिल्लो भागमा गएको बताए।

 ताल फुट्ने डरले फुरम्बु–९ को मित्लुङ बजारसहित हान्द्रुङ र दोभान बस्तीका बासिन्दा त्रसित छन्। नदीले धार परिवर्तन गरेकाले आसपासका बस्तीसमेत बगाउने भय छ। आइतबार बिहान ११ बजेपछि तालको पानी खोलाकै एक छेउबाट बग्न थालेको छ। उद्धारका लागि पुगेका नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले जोखिममा रहेका केही स्थानीयलाई सुरक्षित स्थानमा सारेका छन्।  जिल्ला विपद् व्यवस्थापन समितिले पनि तमोर नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी थुनिएर बनेको तालबाट जोखिम हुनसक्ने भन्दै सचेत गराएको छ। खतरा टरिनसकेकाले सुरक्षित स्थानमा रहन आग्रह गरिएको समितिले जनाएको छ। समिति संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले वर्षा हुने र पहिरो जाने सम्भावना कायमै रहेकाले सतर्क रहन सबैलाई आग्रह गरेको बताए।

 जिल्ला प्रहरीका इन्सपेक्टर शैलेन्द्रकुमार यादवले ताल बनेको ठाउँमा आइतबार साँझसम्म पहिरो झरिरहेको बताए। 'तालको पानी निकै घटेकाले अब ठूलो जोखिम छैन,' उनले भने, 'पानी क्रमशः घटेर आधा भएको छ। पहिरो झरिरहे पनि पुनः खोला थुनिएर त्यसभन्दा तलका बस्तीमा असर पार्ने सम्भावना छैन।' स्थानीय शिक्षक तामाङले भने पहिरो झरिरहेकाले खोला पुनः थुनिने त्रास हटिनसकेको बताए।

 दोभान बजारका व्यावसायी दीपक धितालले पनि दिनभर तालले बस्ती बगाउने डरले मन कुँडिएको बताए। उनले भने, 'नदी नजिकका बस्तीका मानिस ढुक्कले सुत्ने अवस्था छैन। रातभर जाग्राम बस्नुपर्ला जस्तो छ।' स्थानीय सुसन लिम्बूले पनि हिउँदयाममा ढुक्क हुने भए पनि नदी किनारका बासिन्दा बर्सेनि बर्खाभर निदाउन नपाउने गरेको सुनाए। अघिल्लो वर्षको जेठ २७ मा पहिरोले नदी किनारको रामदुवाली बस्तीको नामोनिसान मेटेको थियो। 

पूर्वसूचना दिने संयन्त्रै छैन

 पूर्वी पहाडी जिल्लाका नदी–खोला आसपास दर्जनौं बस्ती छन्। तमोर, काबेली र अरुण नदी किनारका यी बस्तीमा नदीको उर्लंदो भेलले बस्ती बगाउने खतरा छ। तर, बाढी पहिरोको पूर्वसूचना दिने कुुनै संयन्त्र छैन। सहायक प्रजिअ भट्टराई जोखिमका बेला माथिल्लो भेगका बासिन्दाले दिने सूचनालाई नै भरपर्दो मान्नुपर्ने अवस्था रहेका बताउँछन्। यस्तो बेला जोखिमबाट बचेका समुदायका सदस्यले अरू छिमेकीलाई समेत बचाउन तत्कालै सूचना दिइहाल्नुुपर्ने उनको भनाइ छ।

प्रकाशित: २७ असार २०७३ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App