१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्याक्सी भाडामा मनपरी

काठमाडौं- कलंकी चोकबाट कालिमाटी जान एक युवाले बा १ ज ६४३८ नम्बरको ट्याक्सी रोकेर चालकसँग 'कालिमाटी चोकसम्म जाने हो?' भनेर सोधे। झोला बोकेको र भर्खरै गाँउबाट सहरतिर झरेकोजस्तै देखिने सोझो गयुवा देखेपछि चालकले भने 'जाने हो कति दिनुहुन्छ?' युवाले मिटरमा जान भने। तर चालकले मिटरमा जाँदिन भनेपछि चालकले पुन सोधे 'कति लिनुहुन्छ?' चालकले हाँस्दै भने '२ सय ५० मात्र।'

युवाले ट्याक्सीको ढोका खोले र भित्र सिटमा बसे। सिटमा बसे लगत्तै ति युवाले आफ्नो परिचय दिँदै भने, 'म हुँ ट्राफिक प्रहरी युवराज पराजुली। मिटरमा जान नमान्ने र यात्रु ठग्ने ट्याक्सीको अनुगमनमा निस्केको टोली मध्येको एक। हामी सादा पोसकमा यात्रु बन्दै ट्याक्सी माथि निगरानीमा निस्केका छौँ।'

मिटरमा जान नमानी नियमविपरित आफूखुसी भाडा तोकेका ति चालकलाई कारवाहीको प्रक्रिया अगाडी बढाउनै लागेका ट्राफिक प्रहरी पराजुलीले तुरुन्तै ति चालकको अर्को गल्ती पनि फेला पारे। दिउसोको साढे २ बजेको समयमा नै चालकले मदिरा सेवन गरी ट्याक्सी चलाइरहेका रहेछन्। त्यसपछि पराजुलीले आफ्ना अन्य साथीलाई बोलाए र चालक सुरेश तामाङ माथि मापसे सेवन गरी सार्वजनिक सवारी चलाएको अभियोगमा सार्वजनिक मुद्धा दायर भयो।

नयाँ बजारबाट बा१ज ७५७२ नम्बरको ट्याक्सीमा सादा पोसाकमै सर्वसाधरण झैँ चढेका ट्राफिक जवान नवराज अधिकारीलाई चालकले मिटरमै जान राजी भए।मध्यान्नको समयमा चालकले मिटर अन गरेर ट्याक्सी गुडाउन खोजे। त्यसपछि अधिकारीले देखे मिटरमा त शुरुमै २१ रुपैयाँ चढेको रहेछ। रातको समयमा लगाइने डेढीको मिटरलाई चालकले समय मिलाएर दिउसो पनि डेढी नै लाग्ने गरी बनाएका रहेछन्। लगत्तै अधिकारीले चालक महेश कुमार नेपालीलाई यात्री ठगेको अभियोगमा कारवाहीको दायरामा ल्याइहाले।

असारको पहिलो र दोस्रो हप्तामा भएका यि दुई त प्रतिनिधि घटनामा मात्र हुन्। दुई हप्ताको अवधिमा मात्र ट्राफिक प्रहरीले सादा पोसाकमा यात्रु बनेर मिटरमा जान नमान्ने र बढी भाडा असुल्ने ४० भन्दा बढी ट्याक्सी चालकलाई कारवाहीको दायरामा ल्याएको छ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले यात्रु ठग्ने चालकलाई कारवाहीको दायरामा ल्याउन विशेष अभियान नै सञ्चालनमा ल्याएको छ। 'हाउ मच' नाम दिइएको उक्त विशेष अभियान अन्तर्गत महाशाखाबाट दैनिक ८/१० जना सादा पोसाकका ट्राफिक प्रहरी ट्याक्सीको अनुगमनमा निस्कन्छन्। अनुगमनका क्रममा हरेक दिन औषतमा २२ जना चालक मनोमानी भाडा लिने अभियोगमा कारवाहीमा पर्ने गरेको महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले बताए।

उनका अनुसार अस्पताल, एयरपोर्ट, बसपार्क जस्ता स्थानमा आस्मिक अवस्थामा रहेका र असहज अवस्थामा परेका यात्रीलाई ट्याक्सी चालकले धेरै नै भाडा लिएर ठगी गरिरहेको गुनासो आएपछि सादा पोसाकमा निगारानी गर्दै कारवाही गर्ने विशेष अभियान सञ्चालन गरिएको हो।

'ट्याक्सी चालकले आफूखुसी भाडा तोक्न पाउँदैनन्,' उनले भने, 'उनीहरुले सरकारले निर्धारण गरेको भाडा नै लिनुपर्ने हो तर यात्रुको वाध्यताको फाइदा उठाउँदै मनोमानी रुपमा रकम लिँदै यात्रीलाई ठगी रहेको पाइएको छ।' उनले महाशाखाले गत वैशाख ७ गतेबाट यो विशेष अभियान शुरु गरेको जानकारी दिए।

महाशाखाको तथ्यांक अनुसार वैशाख ७ देखि असार २० गतेसम्मको अवधिमा यात्रु लाई ठगी गर्ने १२ सय ९८ चालक कारवाहीमा परेका छन्। तिमध्ये बढी भाडा असुलेको अभियोगमा ९ सय ६० जना, मिटर बिगारेको अभियोगमा २ सय ५९ र प्रयोजन विपरित चलाएको अभियोगमा ७९ चालक कारवाहीमा परेका छन्।

सादा पोसाकको समुह हरेक दिन उपत्यकाका मानिसको भिडभाड बढी हुने विभिन्न स्थानमा पुगेर ट्याक्सीको निगरानी गर्ने गरेको असई विष्णु बहादुर जिसीले जानकारी दिए। उनका अनुसार चालकहरुले धेरैजसो महिला, बच्चा बोकेको वा झोला भिरेका सोझा देखिने मानिसहरुलाई बढी ठगी गर्ने गरेको अभियानका क्रममा फेला परेको छ।

'चालकले सरसर्ती मानिसको हुलिया हेर्छन र आफूखुसी भाडा दिन भन्छन्,' उनले भने, 'हामीले अनुगमनका क्रममा एउटै ट्याक्सीलाई पाँच पटकसम्म फेला पारेका छौँ।' उनका अनुसार ट्याक्सी चालकहरुले धेरैजसो बिरामी लिएर अस्पताल जाने वा अस्पतालबाट बाहिर निस्केका यात्रुलाई बढी ठग्ने गरेको भेटिन्छ।

बिरामी भएको समयमा आत्तिएका र हतारमा रहेका बिरामी र आफन्तको संवेदनाको फाइदा उठाउँदै ट्याक्सी चालकले अत्याधिक भाडा लिइरहेको गुनासो आउन थालेपछि टोलीले अस्पताल आसपासका क्षेत्रमा समेत विशेष निगरानी बढाएको उनले जानकारी दिए।

टोली अन्तर्गतकै अर्का ट्राफिक प्रहरी धनबहादुर क्षेत्रीका अनुसार यात्री ठग्ने त्यस्ता चालकलाई बढी भाडा लिने दफा अनुसार कारवाही गर्न यातायात व्यवस्था विभागमा पठाउने गरिएको छ। नियमअनुसार बढी भाडा लिने चालकलाई २ देखि ५ हजारसम्म जरिवाना हुने गरेको छ। विभागले यात्रु सँग बढी भाडा लिने ति सबै चालकलाई ३/३ हजार जरिवाना लिँदै आइरहेको छ।

क्षेत्रीका अनुसार कारवाहीका लागि नियन्त्रणमा लिइएको चालक र ट्याक्सीलाई महाशाखाको कार्यालयमा ल्याइन्छ। त्यसपछि महाशाखाबाट विभागलाई कारवाहीमा परेको चालक र ट्याक्सीको विवरण लेखेर पत्र पठाइन्छ। पत्रका आधारमा चालकले विभागमा जरिवाना तिरेपछि मात्र कागजपत्र र सवारी साधन लिएर जान पाउँछन्।

'कारवाहीमा पर्ने क्रम बढेपछि अहिले धेरै ट्याक्सी चालक सचेत भएका छन्,' उनले भने, 'कतिपय चालकहरुले कुराकानीका क्रममा सरसर्ती हाम्रो हुलिया हेरेर चिन्छन् र मिटरमा नै जान्छौँ भन्न थालेका छन्।'

उनले मिटरमा नजाने, अत्याधिक भाडा उठाउने र ट्याक्सी खाली भए पनि जान नमान्ने ट्याक्सीमाथि जोकोहीले पनि उजुरी गर्न सक्ने जानकारी दिए। यस्ता चालक र ट्याक्सीका बारेमा १०३ मा वा नजिकैको ट्राफिक प्रहरीलाई उजुरी गरे तत्कालै कारवाहीमा पर्ने उनले बताए।

महाशाखाबाट हरेक दिन उपत्यका भित्रिने प्रमुख नाका, चोकहरु, बसपार्क, एयरपोर्ट, व्यापारीक मल, ठमेल लगायतका क्षेत्रका ट्याक्सीमा यात्रु बनेर निगरानी बढाइरहेको छ। महाशाखाले यो अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: २४ असार २०७३ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App