१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

'निर्लज्ज धनी जीवनभन्दा गौरवपूर्ण गरिबी नै राम्रो'

गरिब हुनु रहर होइन। बाध्यताले मान्छेलाई गरिब बनाउँछ। जब व्यक्तिले अनेकन संघर्ष र दुःख गर्छ, अनि सफलता हात लाग्दैन त्यसपछि त्यो व्यक्ति असफल हुन्छ।

असफल हुँदा जो उठ्न सक्दैन उसैलाई गरिबीको पहाडले थिच्छ। गरिबी सङ्घर्षरत जीवनमा आउने परिस्थितिले पनि सिर्जना गर्छ। यसको एउटा पात्र हुन्, ‘रुकुम पश्चिम चौरजहारीकी ६३ बर्सिया कमला परियार।’ अहिले उनी कोहलपुरस्थित क्रिकेट एकेडेमी नजिकै डुडुवा खोला छेउमा बस्छिन्। जुन घर छोरी विमलाको हो।

कमलाको जीवन सङ्घर्षको कथा यस्तो छ:

जीवनलाई एक सुखमय यात्राको रुपमा अगाडि बढाउन उनले बिर्खसँग विवाह गरिन्। खलोप्रथाबाटै उनीहरुले दैनिकी सहजै चलाइरहेका थिए। खान, लगाउन र घर खर्च चलाउन त्यति समस्या थिएन। बिर्खले कपडा सिलाउँथेँ। कमलाले उनलाई सघाउँथिन्। गाउँ समाजले पनि गर्ने व्यवहार र सम्मान अहिलेजस्तो थिएन।

उनीहरूको मायाको प्रतीक पाँच छोरा र एक छोरीको जन्म भयो। पछि एउटा छोराको मृत्यु भयो। कान्छो सन्तान जन्मेको करिब डेढ वर्ष अर्थात आजभन्दा झन्डै १८ वर्ष अघि बिर्खको निधन भयो। त्यस दिन बिर्ख गाउँको विवाहमा दमाह बजाउन गएका थिए। पछि उनको राति अचानक मृत्यु भयो।

कमलाले एउटा असल साथी गुमाइन्। त्यस दिनदेखि कमलाले जीवनमा सुखको अनुभूति गर्न पाइनन्। बालबच्चा हुर्काउने सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आइपुग्यो। ‘कुनै दिन आफू भोकै बसेर पनि बालबच्चाको पेट भरेँ,’ कमला विगत सम्झिँदै भन्छिन्, ‘कोही भारतबाट आउँदा केही खाने कुरा दिँदा पनि बालबच्चालाई पुर्‍याउथ्येँ।’ जीवनका अनेकौँ दुःख झेलेकी उनी भन्छिन्, ‘गाउँको दैनिक ज्यालादारी कामदेखि सहयोग मागेर पनि छोराछोरीलाई हुर्काएँ।’

श्रीमान्को मृत्युसँगै पृष्ठभूमिमा भनेजस्तै गरिबीले उनको घरमा स्थायी बास बनायो। गरिबीकै कारण कमलाले छोराछोरीलाई उच्च शिक्षा दिन सकिनन्। सामान्य लेखपढ मात्र गराउन सकिन। त्यस्तो चरम गरिबीमा पनि छोराछोरीलाई सामान्य शिक्षा दिनुपर्छ भन्ने चेतना र साहसको गाउँलेले चर्चा गर्छन्। गाउँमा दुईवटा ढुङ्गे घर थिए। उनीहरु त्यही घरमा बस्थे। आफ्नै घर थियो तर, लालपुर्जा साथमा थिएन। बिर्ख र कमलाले कहिल्यै जग्गा जमिन र घर उनीहरुले आफ्नो नाममा बनाउन सकेका थिएनन्। पछि गरिबीबाट छुटकारा पाउन उनीहरुले एउटा ढुङ्गे घर बिक्री गरे। त्यसले पनि गरिबीमुक्त बनाएन। पछि उनीहरु घरबारविहीन भए। पालेका भैँसी पनि आफन्तले जग्गा दिने प्रलोभनमा लिए। ती आफन्तले नत भैँसीको पैसा दिए त जग्गा नै। जीवनका दुःखदायी क्षणलाई कटाउँदै उनले छोराछोरीलाई हुर्काइन्। अनि रोजगारीका लागि छोराहरू भारत पसे। साइला छोरा त गीत सङ्गीतमा राम्रो सम्भावना भएका व्यक्ति थिए। तर गरिबीले त्यो सम्भावनालाई भारतसम्म पुर्‍याइदियो। त्यो पनि ज्यालादारी काम गर्न।

कमलाको दायाँ हात भाँचिएको छ। उनले साह्रो काम गर्न सक्दिनन्। छोराहरू भारत कमाउन गएपछि उनलाई हिजो जस्तो त्यति दुःख गर्न परेन। केही सहज भयो। पछि छोराहरूसँगै उनी पनि भारत पुगिन्। अहिले उनै कमला स्वदेशमै मेहनत र पौरख गर्ने भन्दै भारतबाट कोहलपुर पुगेकी छिन्। कोहलपुरमा उनकी छोरी विमला ऐलानी जग्गामा सानो टहरा बनाएर बसेकी छिन्। विमलाले पनि उनीहरुलाई घर फर्काउन ठुलो मेहनत गरिन्। कमलाको नामका अहिले एक मुठी पनि जमिन छैन। थोरै जमिन किनेर घर बनाउने पैसा पनि उनीसँग छैन।

‘भारतमा कमाएको पैसा खान लगाउन ठिकै हुन्छ,’ उनले भनिन्, ‘जग्गा किन्न र घर हाल्नलाई पैसा बच्दैन।’ आफ्नो नाममा एक मुठी पनि जग्गा नहुँदा कहाँ गएर बस्ने ठेगान नभएको उनी बताउँछिन्। रुकुम पश्चिम जाँदा त्यहाँ पनि कुनै जग्गा नभएको उनको भनाइ छ। कोहलपुर क्रिकेट मैदान नजिकैको सार्वजनिक जग्गामा टहरा बनाउँदा नगरपालिकाले बनाउन दिएन। जसले गर्दा उनलाई बस्ने ठाउँ पाउनै मुस्किल भएको छ।

निर्लज्ज धनी जीवनभन्दा गौरवपूर्ण गरिबी नै राम्रो,’ यही वाक्यलाई आत्मसाथ गर्दै कमलाले मनलाई शान्त बनाउँछिन्। ‘एक हुल सपना पाहुना बनेर आउँछन् र लाहुरेको पल्टन बनेर भाग्छन्। फेरि ! आउँछन् र जान्छन्। ओहोरदोहोर गरिरहन्छन् र पो जीवन सुन्दर लाग्छ,’ उनी भन्छिन्, ‘नत्र जीवनमा मेरो जस्तो पीडा र दुःख कसलाई होला?’ ‘सपना देख्छु पूरा हुँदैनन्,’ उनी भन्छिन्, ‘पूरा नहुँदै जान्छन् अनि फेरि आउँछन्। जसले जीवनलाई अट्काइरहेको छ।’ सङ्घर्षशील जीवनको पर्याय हुन्, उनी। जीवन संर्घष हो? भोग्नेहरू त्यसै भनेका होइनन्। कमलाले पनि त्यसै भनेकी होइनन्, ‘कहाँ बसौँ? एक मुठी जग्गा छैन।’

प्रकाशित: १० पुस २०७९ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App