१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

शव हेर्दै, भक्कानिँदै

अंकुरकी श्रीमती गोमा (सेतो भेस्ट लगाएकी) शाेकाकुल अवस्थामा। तस्स्बिरः अमर खड्का

इटहरी– तीन दिनअघि आत्माघाती बम आक्रमणमा परेर अफगानिस्तानको काबुलमा मृत्यु भएका इटहरी- २४ हाँसपोसाका अंकुर तामाङ्को दाहसंस्कार गर्ने तयारी भइरहँदा २६ वर्षीया पत्नी गोमा गोलेले निकैबेरसम्म एकोहोरो शवलाई हेर्दै भक्कानो भुटाएर रोइन्।

बिहीबार दिउँसो एक बजेतिर अंकुरको अन्तिम दाहसंस्कार गर्ने तयारी भइरहँदा चर्को गर्मी अनि थाकिसकेको शरीरले ठाडो उभिएर सम्हालिन नसकेर  गोमा रोइरहिन्।
बुधबार राति ८.१५ मा घरमा शव ल्याउनासाथ अंकुरको शव हेरेदेखि अविरल आँसु झारेर काँपिरहेका ओठ र थाकिसकेको अनुहारले अन्तिम पटक नियालेर हेर्दा भक्कानो फुटाएर रोइन्।

गोमालाई सम्हाल्ने थुपै्र महिलाले पटकपटक बसेर शव हेर्न भने पनि उनले मुन्टो हल्लाएर उभिएरै हेर्ने संकेत गर्थिन्। निकैबेरपछि बस्न खोजिन् अनि अरुले सम्हालेर बसाए। थचक्कै बसेर एकोहोरो हेर्ने क्रममा घरीघरी बेहोस् हुन्थिन्। दाहसंस्कार गर्ने स्थल इटहरी क्षेत्रकै चारकोसे जंगल पानीपियामा झन्डै आधा घण्टा लागेको थियो ।

तीन वर्षअघि मात्र विवाह गरेकी गोमालाई हेरेर दाहसंस्कार स्थलमा पुगेका शोकले विक्षिप्त नहुने कोही थिएनन्। प्रत्येक महिलाका आँखाबाट आँसु रसाएका थिए।

पतीको मृत्युपछि गोमा निःशब्द भएर एकोहोरो रोइरहेकी छन्। स्टाफ नर्स काम गर्दै आएकी गोमाले अस्ट्रेलिया जाने योजना बनाएर प्रक्रिया थालेकी थिइन्। अस्ट्रेलिया जाने योजनाअनुसार नै जागिरसमेत छाडिसकेकी थिइन्। तर, नियती पनि कस्तो ! अंकुरसँग अब गोमाको कहिल्यै भेट नहुने भएको छ।

शोकमा डुबेकी ६५ वर्षीया आमा लाकमाया अन्तिम दाहसंस्कार स्थलसम्म पुग्न सकिनन्। ३१ वर्षीय अंकुरसँग फोनमा कुरा हुँदा र घर विदा आएको बेला लाकमायाले छोरालाई होसियारी भएर काम गर्न सम्झाउँथिन्। लोकमाया बुधबार अंकुरको शव ल्याएर घरको आँगनमा राखेदेखि माथिल्लो तल्लाबाट हेर्दै रुँदा पुरै शरीर कमजोर भएकाले अन्तिम दाहसंस्कार स्थलसम्म पुग्न नसकेको शोकाकुल आफन्तले जनाएका छन्। अंकुरका ७८ वर्षीय बाबु भीमबहादुरलाई भने आफन्तले सम्हालेर दाहसंस्कार स्थलसम्म पुर्याएका थिए।

वैशाख अन्तिम साता घर विदामा आएर गएका अंकुरको वौद्धिक विधिअनुसार लामा गुरुले दागवती दिएर दाहसंस्कार गरियो। दाहसंस्कार गर्नुअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाई र प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले श्रद्धाञ्जली दिएका थिए । अंकुरको शव घरमा ल्याएदेखि इटहरी तथा आसपासका बस्तीबाट बग्रेल्ती श्रद्धाञ्जली दिन पुगेका थिए । आत्माघाती बम आक्रमणमा परेर अफगानिस्तानको काबुलमा ३१ बर्षीय अंकुरसहित १२ नेपाली र दुई भारतीय नागरिकको सोमबार बिहान ज्यान गएको थियो। अंकुर पाँच वर्षअघि सेनाको जागिर छाडेर अफगानिस्तान गएका थिए।

प्रकाशित: ९ असार २०७३ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App