४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

उखु किसानको समस्या: न मूल्य निर्धारण, न उद्योग चल्ने नै ठेगान

उखु किसानको मर्का सरकार र चिनी उद्योगी कसैले नबुझ्दा तराईमा उखुको खेती निरन्तर घट्न थालेको छ। उखु उत्पादन बढाएर देशलाई चिनीमा आत्मनिर्भर बनाउनु पर्नेमा उखु किसानको समस्या कुनै पक्षले नबुझ्दा तराईमा हरेक वर्ष उखुको खेती घट्दै गएको देखिएको छ।

हरेक वर्ष उखुको खेती सुक्दै गएको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्। उखुको मूल्य निर्धारणमा उखु उत्पादकको कुनै भूमिका नहुने तथा उद्योगी र सरकार मिलेर किसानको उत्पादनको मूल्य निर्धारण गर्ने गरेको कारण उखु खेतीमा लाग्ने खर्चको तुलनमा आम्दानी नहुँदा हरेक वर्ष खेती घटेको मैनालीको दाबी छ।

सरकार र चिनी उद्योगीको सेटिङमा उखुको मूल्य निर्धारण हुँदा जहिले पनि किसानलाई मर्का हुने गरी र उद्योगीलाई फाइदा हुने गरी चासो हेर्ने गरिन्छ। उखु किसानको समस्या हेरेर लबिङ गर्ने कोही नहुँदा किसानलाई घाटा हुन्छ। सरकार र उद्योगी मिलेर उखुको मूल्य घटाउने तथा चिनीको मूल्य बढाउने खेल हुँदा उखु खेती सुकेको अध्यक्ष मैनालीको आरोप छ।

पहिले ३० हजार बिगाहामा उखु खेती हुने गरेकोमा सर्लाहीमा अहिलेको सिजनको लागि करिब १५ हजार बिगाहामा उखु खेती भएको मैनालीको दाबी छ। यसै गरी पहिले रौतहटमा १४ हजार बिगाहा उखु खेती हुने गरेकोमा यस वर्षको सिजनमा ४ हजार बिगाहामा झरेको छ।उखुको मूल्य निर्धारणमा उद्योगी र सरकारको चलखेल हुनु, उखु किसानले समयमै भुक्तानी नपाउनु तथा सरकारले किसानलाई फिर्ता गर्ने भ्याटको पैसा असार मसान्तमा मात्र आउनु लगायतका कारणले उखु खेती घट्दै गएको हो।

सर्लाहीमा चार र रौतहटमा दुई ओटा चिनी उद्योग रहेका मध्ये रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स दुई वर्षदेखि बन्द छ। बन्द रहेको रौतहटको श्रीराम चिनी मिलले तिन आर्थिक वर्षसम्म किसानको पैसा तिरेको थिएन। किसानले पैसा नपाउँदा उखु खेती छोड्दै गएका थिए।श्रीरामले उखु किसानको भुक्तानी पूरै गरिसकेको भए पनि उद्योगपतिले उद्योग ठप्प पारेका छन्।

रौतहटको कटहरिया-९ डुमरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रीले भुक्तानी समयमा दिने गरेको भए पनि उद्योगपतिको सम्पूर्ण परिवार राजनीतिमा रहेको कारण किसानले पत्याउन नसकेको देखिएको छ। उद्योगपति बैजुप्रसाद बाबराका दाजु ओमप्रकाश जयसवाल निरन्तर प्रतिनिधि सभाको चुनाव लड्दै आएका छन् भने भतिजा अजयप्रकाश कटहरिया नगरपालिकाका मेयर हुन्।

सर्लाहीमा रहेका इन्दु शंकर चिनी मिल हरियौन, अन्नपूर्ण सुगर मिल धनकौल, महालक्ष्मी सुगर मिल बगदह र सिद्धि बिनायक सुगर मिल ईश्वरपुरमध्ये किसानको सबैभन्दा बढी विश्वास आर्जन गरेको हरियौनस्थित इन्दु शंकर चिनी मिलले हरेक वर्ष सबैभन्दा बढी उखु क्रसिङ गर्ने गरेको छ। अन्य तिन चिनी उद्योग कुनै वर्ष संचालनमा आउने र कुनै वर्ष संचालनमै नआउने हुँदा उखु किसानको विश्वास कम रहेको छ।

गत आर्थिक वर्षमा चार ओटै चिनी उद्योग संचालनमा आएको थियो तर उखु किसानले यस वर्षको लागि खासै खेती बढाएको देखिएको छैन। इन्दु शंकर चिनी उद्योगका उखु महाप्रबन्धक योग नारायण रजकले विगत वर्षहरुको तुलनामा उखुको खेती आधाले कम भएको बताएका छन्। आफ्नो चिनी उद्योगले समयमै भुक्तानी गर्ने गरेकोले किसानको विश्वास आर्जन गरेको उखु महाप्रबन्धक रजकको दाबी छ।

यस वर्ष अहिलेसम्म उखुको मूल्य निर्धारण हुन सकेको छैन। अहिलेसम्म सरकारको गठन हुन नसकेको र पुरानो सरकारले समयमै उखुको मूल्य निर्धारण नगरेको कारण उखु किसान र उद्योगी अलमलमा रहेका छन्। चिनी उद्योगीहरुले संचालनको टुंगो लगाएको छैन तर इन्दु शंकरले भने मंसिर २८ गते उद्योगको पूजा गरी पुस ६ गतेदेखि उद्योग संचालनमा ल्याउने रजकको दाबी छ। यसै गरी बाबा बैजनाथ पनि पुसको पहिलो हप्तामा संचालन हुने संचालक बैजुप्रसाद बाबराले बताएका छन्।  

उखुको मूल्य निर्धारण नभईकनै केही उद्योग संचालन गर्ने तयारी गर्दा यस वर्ष शून्य मूल्यमा उखु किन्ने र नयाँ मूल्य निर्धारण नहुँदासम्म गत वर्षको मूल्य कायम गरी भुक्तानी दिने तयारी गरिएको विभिन्न स्रोतले जानकारी दिएको छ। गत वर्ष उखुको मूल्य ५९० रुपैया प्रति क्वीन्टल रहेको थियो।  

गत वर्षभन्दा चिनीको मूल्य बढेको र उखुको लागतमा पनि धेरै बृद्धि भएकोले उखुको मूल्य ७०० रुपैया प्रति क्वीन्टल हुनुपर्ने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले दाबी गरेका छन्।

कौडीको मूल्यमा उखु बेच्दै किसान

चिनी उद्योगहरु समयमा नचल्दा तथा मूल्य निर्धारण नहुँदा सबैभन्दा बढी मर्कामा किसान रहेका छन्। चिनी उद्योगले उखु कहिलेदेखि किन्ने हो भन्ने निश्चित नहुँदा दशैको समयदेखि नै उखु किसानहरु कौडीको मोलमा सख्खर उद्योगलाई उखु बेच्ने गरेका छन्।

उखु किसानले वर्षभरि लगाएर उब्जाएको उखुको मूल्य सख्खर उद्योगले अत्यन्त न्युन राख्ने गरेको छ। चिनी उद्योग संचालनमा नआउँदासम्म मनपरी तरिकाले उखुको मूल्य राख्ने गरेका सख्खर उद्योगले अहिले ३५० रुपैया प्रति क्वीन्टलमा उखु खरिद गरिरहेका छन्।

गढीमाई नगरपालिकाको वडा नम्बर २ र ४ मा संचालनमा रहेका करिब दुई दर्जन सख्खर उद्योगले मनोमानी तरिकाले उखु किनिरहेको किसानहरुको आरोप रहेको छ। सख्खर उद्योगले किन्ने उखुको तौल पनि विश्वसनीय हुने नगरेको किसानहरुको आरोप छ।

किसानको उत्पादन भएको उखु बेच्ने ठाउँ नभएको र समयमै चिनी उद्योगहरु संचालन नभएको कारण उखु किसानहरुले क्रसर उद्योगलाई उखु बेचिरहेका छन्। गहुँ र मसुरो बाली लगाउनको लागि खेत खाली गराउनु पर्ने भएकोले किसानबाट अत्यधिक फाइदा सख्खर उद्योगले लिइरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवको भनाइ छ।

प्रकाशित: २४ मंसिर २०७९ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App