१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कुटपिटबाट घाइते महिलाको मृत्यु: मुख्य आरोपी पक्राउ

मृतक उषा राई।

महिलाहरूको समूहले कुटपिट गरेर घाइते भएकी एक महिलाको महिना दिनपछि मृत्यु भएको घटनाको मुख्य आरोपी पक्राउ परेका छन्।

धरान उप-महानगरपालीका १३ की उषा राईको उपचारको क्रममा मङ्गलवार मृत्यु भएपछि घटनामा संलग्न भनिएका महिलाहरू फरार थिए। ती मध्ये मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।  

‘उषा राईको मृत्यु भएपछि किटानी जाहेरी परेको थियो। सबै फरार थिए, आज एक जनालाई नियन्त्रणमा लिएका छौँ। घटनाबारे अनुसन्धान जारी छ।’ उनले भने।

गत कार्तिक ३ गते उषा राईमाथि उर्मिला राईको नेतृत्वमा पुगेका महिलाहरूको समूहले कुटपिट गरेका थिए। आफ्नो श्रीमानसँग नजिकिएको आरोपमा उर्मिलाले आफन्त र महिलाहरू लगेर उषामाथि कुटपिट गरेका थिए। त्यस बेला विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन्। मृतक परिवारले उक्त झोल पदार्थ पनि बरामद गरेर सुरक्षित राखेको छ।

मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन्। उनको श्रीमानको करिब २ बर्सअघि नै मृत्यु भइसकेको थियो। उनले कपडा सिलाएर घर खर्च जुटाइरहेका थिइन्। सुरुमा उनी मुख्य आरोपी उर्मिलाकै घरको डेरामा बस्थिन्। करिब ५ महिना अघि मात्र उनी धरान १३ सूर्य मार्गमा रहेको एक डेरा सरेकी थिइन्। उनलाई कुटपिट भएपछि उपचारको लागि बिपी प्रतिष्ठान लगिएको थियो।

उपचार पश्चात् डिस्चार्ज भएकी उषासँग कुटपिट गर्ने पक्षले कार्तिक ८ गते उपचार खर्च दिएर मिलापत्रसमेत गरेको थियो। गत साता उनको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि बिपी प्रतिष्ठान भर्ना गरिएको थियो। आइसियुमा उपचारको क्रममा नै उनको मृत्यु भएपछि परिवारजनले उर्मिला राईसहित कुटपिटमा संलग्नहरु विरुद्ध किटानी जाहेरी दिएको थियो। मृतककी ठुली छोरी स्मृति राईले कुटपिटमा संलग्न सबैलाई कानुनी कारबाही हुनुपर्ने बताइन्। 

‘आमालाई एक्कासि आएर कुटेर घाइते बनाइएको थियो। बेइज्जत हुन्छ भनेर मिलापत्र पनि गर्नुभयो तर भित्रभित्रै उहाँलाई पिर थियो। कुट्न आउँदा केमिकल मिसाएको झोल पनि खुवाइएको रहेछ, त्यसले पनि उहाँलाई धेरै असर पुग्यो।’ उनले भनिन्।

यो घटनामा धरान १३ को जनजागृति आमा समूह पनि विवादमा मुछिएको छ। मृतकको छोरीले आमा समूहका सदस्यहरू आएर कुटपिट गरेको भन्दै जाहेरीमा उल्लेख गरेपछि चौतर्फी आलोचना भइरहेको छ। आमा समूहले भने पत्रकार सम्मेलन गरेर संस्थामा निवेदन नपरेको, यो विषयमा कहिल्यै पनि छलफल नगरेको र उक्त कुटपिटको घटनामा संस्थाको संलग्नता नरहेको प्रस्ट्याएको छ।

अध्यक्ष निर्मला तिम्सिनाले आमा समूह महिलाहरूको हक अधिकार, न्याय दिलाउन र सामाजिक कार्यमा निरन्तर क्रियाशील भएको जिकिर गर्दै महिलामाथि कुटपिट गर्ने जस्तो अपराधमा संलग्न नहुने बताइन्। उनले भनिन्,‘जनजागृति टोल, समाज ठुलो भएकोले त्यो घटनाको दिन व्यक्तिगत रुपमा केही सदस्य, साधारण सदस्यहरू जानुभयो होला। उहाँहरूको संलग्नता हो भने त्यो व्यक्तिगत हो, संस्था जिम्मेवार हुँदैन। संलग्नता कसैको छ भने कारबाही हुनुपर्छ, र उषाले न्याय पाउनुपर्छ।’

मृतक परिवारजनले दोषीलाई पक्राउ गर्न माग गर्दे पोस्टमार्टम गर्न मानेका थिएनन्। पोस्टमार्टम ढिलाइ हुँदा अनुसन्धानमा वाधा पुग्ने र शव पनि सडेर समस्या हुनसक्ने भन्दै प्रहरीले सम्झाएपछि पीडित परिवारजन सहमतिमा आएको डिएसपी श्रेष्ठले बताए।

डिएसपी श्रेष्ठले मृतकको पोस्टमार्टम शुक्रवार हुने बताए। उनले भने ,‘पोस्टमार्टम गर्न जति ढिलाइ भयो, त्यति नै अनुसन्धानमा समस्या हुन्छ। मृत्युको खास कारण खुल्दैन। शव पनि सड्दै गयो भने जे आवश्यक हो, त्यो पत्ता लगाउन समस्या हुन्छ भनेर बुझाएपछि उहाँहरू मान्नुभयो।’

प्रकाशित: १५ मंसिर २०७९ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App