४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उल्टिएला नेमकिपाको गढ ?

सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा भक्तपुर–१ को गणना नै गरिएको थिएन, कारण थियो, यो क्षेत्र नेपाल मजदुर किसान पार्टीले जित्छ भन्नेमा गठबन्धनमा रहेका दलहरू ढुक्क थिए। भक्तपुर–१ लाई आफ्नो भागमा नपार्न नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)ले सकेसम्म प्रयास गरेका थिए। अन्तिम समयमा यो क्षेत्र माओवादी केन्द्रको भागमा पर्‍यो।  

२०७४ को प्रतिनिधिसभा निर्वाचन परिणाम र गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई आधार मानेर नेमकिपा बाहेकका दलहरूले यस क्षेत्रलाई करिबकरिब आशा मारेका हुन्। गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मतको आधारमा भक्तपुर–१ मा नेमकिपाको भोट ३३ हजार ८ सय ९५ छ भने एमालेको भोट १४ हजार १ सय १९ छ। यसैगरी कांग्रेस १३ हजार १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ हजार २ सय ८६ तथा माओवादी १ हजार ३ सय ८८ मत छ।  

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल झण्डै दोब्बर मतको फराकिलो अन्तरले विजयी भएका थिए। सुवालले ३३ हजार ७६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए। चुनावी तालमेल हुँदाहुँदै पनि माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत मात्र वाइका पाएका थिए। उनले तेस्रो स्थान ओगटेका थिए। त्यतिबेला यस क्षेत्रमा कुल ७१ हजार ९ सय १६ मत खसेको थियो।  

२०४८साल देखि अहिलेसम्म भक्तपुर १मा नेमकिपा निरन्तर विजयी हँुदै आएको छ। यो क्षेत्रमा २०४८ सालदेखि २०७० सालसम्म नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंले निरन्तर जित्दै आएका थिए। उनले २०४८, २०५१, २०५६, २०६४ र २०७० गरी पाँच पटकसम्म यहाँबाट चुनाव जिते। छैटौंपटक २०७४ मा विजुक्छेंले प्रेम सुवाललाई उम्मेदवार बनाए। यसपटक पनि सुवालले दोहर्‍याएर उम्मेदवारी दिएका छन्।  

यतिबेला सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुनिल गोठेले उम्मेदवारी दिएका छन भने एमालेबाट नवराज गेलालले उम्मेदवरी दिएका छन्। यसैगरी जनता समाजवादी पार्टीबाट हिरालाल खडका, राप्रपाबाट भरत खड्काले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा अजुर्न कोजु, पुष्पराम गेलाल, सुलोचना छाजु र गोकर्ण नेपालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। तर प्रतिष्पर्धा भने नेमकिपा र गठबन्धनबीचमै हुने निश्चित छ। स्वतन्त्र उम्मेदवारको त्यति चर्चा छैन।  

‘भक्तपुर–१ मा नेककिपा एकातिर, अर्कोतिर नेमकिपाविरुद्ध सबै दल एक भएको भए कडा प्रतिस्पर्धा हुने थियो, तर अहिले प्रमुख दलहरू अलगअलग भई चुनाव लडेका छन्,’ मतदाता सुनिल खड्का भन्छन्, ‘यस हिसाबबाट यस क्षेत्रमा फेरि पनि नेमकिपा विजय हुने करिब करिब निश्चितजस्तै छ।’

माओवादी केन्द्रका उम्मेदवार गोठे र एमालेका उम्मेदवार गेलालले भने यसपटक परिणाम उल्टिने दाबी गर्छन्। ‘जनताले यहाँ परिवर्तन चाहेका छन्। नीति निर्माण तहमा भक्तपुरको पहुँच खोजेका छन्,’ गोठेले भने, ‘नीति निर्माणमा भक्तपुर–१ को पहुँच ल्याउन यहाँका जनताले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई भोट दिनेछन्। किनभने भोली सरकार बनाउने पनि यी दलहरू नै हुन्।’  

यस क्षेत्रमा विकास र समृद्धि ल्याउन यसपटक भक्तपुर १का जनताले यसपटक एमालेलाई विजयी गराउने गेलालले ठोकुवा गरे। ‘यस क्षेत्रमा विकास निर्माणको काम केही भएन। जनतालाई प्रत्यक्ष्य संलग्न गराइएन। पारदर्शीता र सुशासन पनि देखिएन,’ गेलालले भने, ‘त्यसैले यहाँ जनताले परिवर्तन चाहेका हुन् र यसपटक एमालेलाई विजयी गराउने छन्।’ नेमकिपाका उम्मेदवार सुवालसँग भने सम्पर्क हुन सकेन। नेमकिपा भक्तपुरका नेताहरू यसपटक पनि भक्तपुर १मा नेमकिपा विजयी हुनेमा ढुक्क देखिएका छन्।  

प्रदेशसभा निर्वाचनमा यस क्षेत्रमा (क)मा एमालेबाट मोहनवीर श्रेष्ठ, नेपाली कांग्रेसबाट सुरेश श्रेष्ठ, राप्रपाबाट राजु कुइँकेल, तथा नेमकिपाबाट मिनबहादुर बाटाले उम्मेदवारी दिएका छन्। यसैगरी भक्तपुर १ (ख) मा एमालेबाट नारायण सुन्दर मिन्तकला, नेपाली कांग्रेसबाट पवन भुजु, राप्रपाबाट रोशन नापित तथा नेमकिपाबाट सुरेन्द्रराज गोसाइँले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा प्रतिनिधिसभामा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ भने प्रदेशसभातर्फ दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको छ।

प्रकाशित: १४ कार्तिक २०७९ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App