१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले अर्घाखाँचीः उम्मेद्वार नयाँ, अनुहार पुरानै

नेकपा एमाले अर्घाखाँचीको बैठकले केन्द्रीय सचिव टोपबहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गरेको छ। आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा निर्वाचनका लागि रायमाझी सर्वसम्मत भएको पार्टी अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।

पूर्व माओवादी नेता रायमाझीले तत्कालिन नेकपा विभाजित हुँदा एमाले रोजेका थिए। नेकपा एमालेको १०औं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित भएका थिए। अर्घाखाँचीमा प्रभावशाली मानिएका नेता रायमाझीकोविरुद्धमा अन्य नेताले इच्छा व्यक्त नगरेको बताइएको छ।  

रायमाझीले यसअघि २०६४, २०७० र २०७४ को निर्वाचन जितिसकेका छन्। २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्मालाई तथा २०७० र २०७४ सालको निर्वाचनमा कांग्रेसकै नेता डा.रामबहादुर बिसीलाई पराजित गर्दै उनी सांसद बनेका थिए। 

२०६४ र २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका रायमाझी संघीयता लागू भए पश्चात एक मात्र संघीय निर्वाचन क्षेत्र भएपछी २०७४ सालमा संघीय चुनावमा प्रतिस्पर्धा गरेका थिए।  

२०७४ को चुनावमा तत्कालीन नेकपा बाट निर्वाचन लडेका रायमाझीले कांग्रेसका डा.रामबहादुर बिसीलाई १८ हजार २९३ मतान्तरले पराजित गरेका थिए। एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा समेतको तालमेल बाट रायमाझीले ५० हजार ८३७ मत ल्याउँदा कांग्रेसका डा.बिसीले एक्लै ३२ हजार ५४४ मत ल्याएका थिए।

यसपाली उनी नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धामा उत्रदै छन्। निर्वाचन जितिरहेको भएपनी रायमाझीका लागी एमालेबाट चुनावी प्रतिस्पर्धा भने पहिलो हो। यसअघि २०६४ र २०७० मा उनी नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए भने २०७४ सालको निर्वाचनमा उनी तत्कालीन नेकपाबाट मैदानमा थिए।

नेकपा एमाले अर्घाखाँचीका लागि रायमाझी नयाँ उम्मेद्वार हुन्। पूर्व माओवादीबाट एमाले प्रवेश गरेका रायमाझीको एमाले यात्रा तथा परीक्षाको घडी सुरु भएको छ। अर्घाखाँचीबाट धेरै पटक निर्वाचन जितेका रायमाझी आम मतदाताका लागी पुरानै अनुहार भएपनी एमालेभित्र भने नयाँ उम्मेद्वार हुन्।

प्रकाशित: २१ भाद्र २०७९ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App