५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

पठनशैलीको विकास गरौँः मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन्। १५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन्।

पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृति हराउँदै गइरहेको प्रति दुःख व्यक्त गर्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे। ‘पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढी सामाजिक सञ्जालमा रमाउन थालेका छन्,’ उनले भने, ‘आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ।’ पुस्तकालयलाई जीवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुझ्न जरुरी रहेको उनको भनाइ छ।

ज्ञानोदय सामुदायिक पुस्तकालयलाई थप व्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणका लागि स्रोत व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले कोहलपुरमा पुस्तकालय स्थापनाका लागि विगतमा भएका प्रयासको समेत प्रशंसा गरे। पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका तीनजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कविता प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरिएको छ।

प्रकाशित: १५ भाद्र २०७९ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App