१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता र चुनावमा सहकार्य गर्न ठाकुरलाई देउवाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न र सत्ता गठबन्धनमा आबद्ध हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग प्रस्ताव गरेका छन्। प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष ठाकुरसहितका शीर्ष नेतासँग यस्तो प्रस्ताव राखेकाका हुन्। ठाकुरसहित लोसपाका नेताहरू प्रधानमन्त्री देउवासँग कुराकानी गर्न आइतबार बालुवाटर पुगेका थिए।

‘प्रधानमन्त्रीज्यूले सत्ता गठबन्धनमा सहभागी हुन औपचारिक रूपमा प्रस्ताव गर्नुभएको छ,’ भेटवार्तामा सहभागी लोसपा नेता राजेन्द्र महतोले भने, ‘उहाँको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं।’ सत्ता गठबन्धनको नेतृत्व गर्दै आएका देउवाको प्रस्तावका विषयमा पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने महतोले बताए। उनले भने, ‘अब हामी चाँडै बैठक बसेर एउटा निष्कर्षमा पुग्छौं।’

लोसपाले यसअघि नै अन्य दलसँग गठबन्धन गरेर प्रदेश र प्रतिनिधिसभा चुनावमा सहभागी हुने निर्णय गरेको छ। यस विषयमा लोसपाका नेताहरूले विभिन्न दलसँग औपचारिक/अनौपचारिक छलफल गरिरहेका छन्। लोसपाका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका छन्। लोसपा स्रोतका अनुसार गठबन्धन गर्ने विषयमा पार्टीमा दुई धार छ। केही नेता सत्ता गठबन्धनमा जानुपर्ने र केही नेता एमालेसँग गठबन्धन गर्नुपर्ने पक्षमा छन्।  

देउवाले लोसपालाई सरकारमा सहभागी हुन पनि प्रस्ताव गरेका छन्। ‘प्रधानमन्त्रीले हामीलाई सरकारमा समेत सहभागी हुन प्रस्ताव गर्नुभएको छ’, महतोले भने, ‘यस विषयमा पनि हामी सकारात्मक छौं।’ सरकारसँग लोसपाले राखेका मागमध्ये केही पूरा भएको र केही पूरा गर्ने क्रममा सरकार रहेको भन्दै महतोले भने, ‘नागरिकता विधेयक पास भएको छ। मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा फिर्ता लिन हामीले प्रधानमन्त्रीलाई प्रस्ताव गरेका छौं। यसमा उहाँ सकारात्मक हुनुहुन्छ।’

चुनावको मिति घोषणा गरेपछि सरकार स्वतः काम चलाउ हुने भएकाले अब मन्त्रिमण्डल पुनर्गठन हुन नसक्ने विपक्षी एमालेको भनाइ छ। पछिल्लो समय प्रधानमन्त्री र लोसपाका नेताहरूबीच सम्बन्ध सुधार भएको छ। लोसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार स्थानीय तह चुनावपछि देउवा र ठाकुरवीच ५ पटक भेट भइसकेको छ। स्थानीय तह चुनावअघि पनि देउवा र ठाकुरबीच पटकपटक भेट भएको थियो। स्थानीय चुनावअघि नै प्रधानमन्त्रीले लोसापलाई गठबन्धनमा ल्याउन प्रयास गरेका थिए। स्रोत भन्छ, त्यसबेला जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लोसपालाई ५ सत्ता गठबन्धनमा ल्याउन तयार भएनन् तर अहिले परिस्थिति केही फेरिएको छ। जसपा र लोसपाबीचको पानी बाराबारको अवस्था फेरिएको छ। त्यसैले अब लोसपालाई सत्ता गठबन्धनमा ल्याउन यादव पनि राजी हुने स्रोतले बतायो।  

प्रकाशित: २३ श्रावण २०७९ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App