१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

को हुन् धरानका ‘वेटिङ मेयर’ हर्कराज राई 'साम्पाङ'?

चुनावी घरदैलोको क्रममा हर्क साम्पाङ। तस्बिर: रोहित/नागरिक

नपत्याउने खोलाले बगाउँछ भन्ने नेपाली उखान धरानको स्थानीय तह निर्वाचनमा चरितार्थ हुदै गइरहेको छ।

वैशाख ३० गते भएको मतदानको मतगणना सुरुवात भएको दिनदेखि सत्ता गठबन्धन र नेकपा एमाले जस्ता ठूलो दलका उम्मेद्वारलाई कडा टक्कर दिएका मेयरका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ २ दिनयता निरन्तर अग्रता लिइरहेका छन्। एमाले र कांग्रेसको पकड वडामा पनि मेयरमा भने स्वतन्त्र उम्मेद्वार साम्पाङले अत्यधिक भोट पाएका छन्। दुई दिनयता निरन्तर अग्रता हासिल गरिरहेका साम्पाङ आफै पनि मतदाताले गरेको विश्वास देखेर चकित छन्।

न कुनै संगठन, न राजनीतिक दलहरुको जस्तो अघिपछि हिड्ने ठुलो संख्यामा कार्यकर्ता वा समर्थक छन्। तर, जनसरोकारको विषय र समसामयिक मुद्दामा निरन्तर खबरदारी गरिरहने साम्पाङको परिचय सामाजिक अभियन्ताको मात्र थियो। अहिले भने उनलाई धरानेहरुले ‘वेटिङ मेयर’कोरुपमा हेर्न थालिसकेका छन्। मतगणना भइसकेको वडामा अधिकांशमा एमाले र कांग्रेसले जितेको छ। तर, ती ठाउँबाट पनि गठबन्धनबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका किशोर राई र एमाले उम्मेद्वार मञ्जु भण्डारीको भन्दा बढी भोट साम्पाङले पाएका छन्।  

धरानको २० वटा वडाहरुमध्ये १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १४, १८ र १९ वडाको मतगणना सम्पन्न भइसकेको छ। ती अधिकांश वडाहरुमा चुनावको सम्मुख भोट माग्न नपुगेको भएपनि साम्पाङले अचम्म हुने गरी भोट पाएका छन्। वडा नं ११ र १३ को मतगणना जारी छ। त्यहाँ पनि उनकै भोट धेरै छ। मतदाताहरु धेरै भएको वडा १५, १६ र १७ को भने गणना हुने बाँकी छ।  

अहिलेसम्म गणना भइसकेको वडामा खसेको भोटको शैली हेर्दा अब गणना हुन बाँकी रहेको वडामा पनि साम्पाङकै बढी भोट आउने चुनावी चर्चा छ। एमाले र कांग्रेसकै पडक क्षेत्रमा पनि हर्कले बढी भोट पाएका छन्। गठबन्धन र एमालेका नेता, कार्यकर्ताहरुले मेयरमा हरेस खाइसकेका छन्। मतगणनास्थलमा कांग्रेस र एमाले कार्यकर्ताहरुको उपस्थिति एकदमै नगन्य छन्। उपमेयरमा भने गठबन्धनबाट अइन्द्रबिक्रम बेघाको पहिलो दिनदेखि कै अग्रता कायमै छ।

मतगणना सम्पन्न भइसकेको वडामा साम्पाङले कुल ९६८३ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार राईले ८९६३ मत पाएका छन्। एमालेकी उम्मेद्वार भण्डारीले ७५१६ मत पाएकी छिन्। एमालेले जितेको वडाहरुमध्ये ७, ८, १०, १२ र १९ मा एमालेकी उम्मेद्वार भण्डारीभन्दा बढी मत साम्पाङले पाएका छन्। यस्तै, कांग्रेसले जितेको वडाहरुमध्ये ९ र १८ मा पनि उनले कांग्रेसकै मेयरको भन्दा बढी मत पाएका छन्।

राजनीतिक विश्लेषक सहप्रध्यापक डा।राजेन्द्र शर्मा धरानेहरुको धरानका मतदाताहरुले पुराना पार्टीका पुराना अनुहारहरुलाई नरुचाएर सामाजिक अभियन्ता साम्पाङलाई विश्वास गरेको बताउँछन्। एक्सन ओरिएन्टेट व्यवहार मन पराउने धरानेहरुको प्रवृत्तिले यसपाली लौरो चुनाव चिह्न छानेको डा।शर्माको भनाई छ। ‘धराने एक्सन ओरिएन्टेड छन्। तुरुन्त एक्सन भएको मन पराउछन्, हाताहाती मन पराउछन्,’डा।शर्माले भने,‘पार्टीहरुले झुलाउने काम मात्र गरे। भ्रष्टचार पनि अत्यधिक बढेको छ, त्यसकारण मतदाताले हाताहाती काम गर्ने सामाजिक अभियन्ता र उनको चुनाव चिह्न लौरो छाने।’

साम्पाङले निरन्तर जनचासोका विषय, बेथिती र भ्रष्टचारविरुद्ध आवाज उठाइरहेको कारणले पनि जनताको विश्वास जितेको र यसपाली उनलाई भोट दिएको शर्माको भनाई छ। सर्दु जलाधार अतिक्रमण विरुद्ध, खानेपानी, बसपार्क, सर्दु उत्खनन्मा भएको अनियमितता, विपी प्रतिष्ठानको बेथिती, नगरपालिकाको भ्रष्टचारविरुद्ध साम्पाङले निरन्तर आवाज उठाउदै खबरदारी गरेको र जनताले त्यही रुचाएको शर्माले बताए। ‘जनताले यो मान्छे आयो भने गर्छ भनेर विश्वास गरे। पार्टीहरुले उठाएका पुराना अनुहार मन पराएनन्, भ्रष्टचारको जालो र सेटिङको कारण जनताले विकल्प खोजदा परिणाममुखी व्यक्तित्व हर्क साम्पाङ भेटे,’ शर्मा भन्छन्।

सामाजिक अभियन्ताबाट राजनीतिमा आएका साम्पाङ

खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि धरान झरेका हुन्। महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्।

पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए, र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। साहित्यमा रुचि भएका उनी आंफै गीत लेख्छन्, गाउँछन्। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एल्बम पनि निकालेका छन्।

उनमा देशलाई केही गरौं भन्ने भावना थियो। कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव छ उनको। २०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो। समितिमा उनी सहसंयोजक थिए।  

उनको टर्निङ पोइन्ट त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बन्यो। त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरुमा आवाज उठाउन थाले। भ्रष्टचार र बेथितीविरुद्ध निरन्तर बोल्न थाले। जनताको जनजीविकाको सानो सानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको साम्पाङ ठान्छन्। ‘मैले ठूलो मुद्दा उठाएको होइन, जनताको जनजिविकाको विषयमा आवाज उठाएको हो, जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’उनी भन्छन्, ‘खानेपानीको बिषय उठाए, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोले, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोले, सडकको खाल्डाखुल्डी, महंगी नियन्त्रणबारे पनि आवाज उठाए, त्यसैले जनताले मलाई नियालीरहनुभएको रहेछ।’

स्थानीय मुद्दा मात्र होइन, सिमा अतिक्रमण र एमसिसिविरुद्ध पनि उनी कहिले एक्लै प्रर्दशनमा हिँड्थे, कहिले सिमित संख्यामा आफ्नो समर्थकहरुको साथमा विरोध प्रर्दशन गर्थे। सिमा अतिक्रमणको मुद्दा चर्किदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशनसमेत गरेका थिए। सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समुहले उनका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो। पछि प्रहरीले उल्टै उनी र उनका साथीहरुलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। उनी जे गर्छन्, आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट लाइभ पनि गर्छन्। धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन्, र उनको अभियानबारे जानकार छन्। उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्, र फेसबुकबाट नै चुनावी अभियान गरेका थिए।

साम्पाङ आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउँछन्। उनी २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए। त्यसबेला मात्र उनले ४२२ मत पाए। त्यसबेला पनि धरानेहरुले परिवर्तनको पक्षमा भोट दिदै कम्युनिष्ट गढमा पहिलो पटक कांग्रेसका उम्मेद्वार तिलक राईलाई जिताए। कम्युनिष्टले जित्दै आएको धरानमा कांग्रेसलाई जिताउदा पनि अपेक्षाकृत काम हुन नसक्दा धरानेहरु निराश थिए।

यसपाली उनीहरुले उपयुक्त पात्रकोरुपमा आफूलाई भोट दिएको साम्पाङको भनाई छ। ‘राजनीतिक दलहरुले धेरै लापरवाही गरे। खानेपानी माग्न जादा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो। जनप्रतिनिधिहरु जो सत्तामा पुगेपनि दुरुपयोग गरे, र चुनावी मैदानमा मैले टक्कर दिने स्थिति बन्यो,’जनताले विश्वास गर्नुको कारणबारे उनी भन्छन्,‘उपनिर्वाचनमा हारेँ पनि म सधै जनताको माझमा थिएँ। टोल टोलमा समस्याहरु बुझ्दै हिडिरहे, मेरो त्यो निष्ठा देखेर पनि मलाई भोट दिनुभयो। राजनीतिक दलहरु चुनावको बेला मात्र घरदैलो गर्दै जान्छन्।’

उनले निरन्तर खानेपानीको मुद्दा उठाइरहेका छन्। आफु मेयरमा निवार्चित भएमा खानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने काम प्राथमिकता दिने उनले बताए। राजनीतिक दलहरुले अपराधलाई लुकाउने गरेकोले आफु कुनै पार्टीमा नजाने उनको भनाई छ। तर, आस्था र सिद्धान्तको हिसाबले आफु कम्युनिज्म मन पराउने साम्पाङ बताउँछन्। ‘सैद्धान्तिक हिसाबले कम्युनिज्म मन पराउछुँ तर कुनै पार्टीको सदस्यता लिएको छैन। गरिब दुःखीहरुकै हितमा काम गर्छु, उनीहरुको संरक्षण गर्छु,’उनले भने,‘म राजनीतिमा रहिरहदिन। राजनीतिक दलका नेताहरु राम्रो नभएर मात्र हामी आउनु परेको हो। सेवा प्रवाह राम्रो हुनुपर्छ। जिते भने एक कार्यकाल गर्छु, पछि फेरि आवश्यकता पर्यो भने निरन्तरता हुनसक्छ।’

प्रकाशित: ६ जेष्ठ २०७९ १७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App