१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ जनप्रतिनिधिलाई स्थानीय सरकार हस्तान्तरण गर्न आतुर छाैं: आयुक्त थपलिया

धरानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयुक्त दिनेश थपलिया। तस्बिर: रोहित/ नागरिक

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेठ ५ गतेभित्र मतगणना कार्य सम्पन्न गरेर नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको बताएका छन्।

सोमबार धरानमा जारी गरेको मतगणनाको निरीक्षण पश्चात आयुक्त थपलियाले २०७४ वैशाख ३१ मा भएको निर्वाचनको आधारमा जनप्रतिनिधिहरुको पदावधि जेठ ५ गते राती १२ बजे सकिने बताए। स्थानीय तहका जनप्रतिनिधिविहिन नहोस् भन्ने आयोगको उद्देश्य भएकोले मतगणना कार्यलाई तीब्रता दिएर जेठ ५ गतेभित्र सम्पन्न गर्न आयोग लागिपरेको पनि थपलियाले बताए। 

उनले भने, ‘अहिलेको जनप्रतिनिधिको म्याद ५ गते रातको १२ बजेसम्म छ, ६ गतेदेखि नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय सरकार हस्तान्तरण गरिदिन आयोग आतुर छ। एक दिनपनि वडा खाली नहोस् भन्ने हाम्रो उद्देश्य हो।’थपलियाले मतगणना कार्य सुस्तता भइरहेको स्वीकार गर्दै निर्वाचन अधिकृतहरुलाई गणकहरुको संख्या बढाएर मतगणना चाढो सक्न पनि निर्देशन दिएका छन्। 

आयोगले आवश्यक स्रोत, साधान उपलब्ध गराउने र कर्मचारीहरुलाई सुविधा पनि बढाउन आयोग सकरात्मक रहेको थपलियाले बताए। ‘निर्वाचन आयोगको लक्ष्य ५ गतेभित्रमा ३० गते निर्वाचन भएको सबै स्थानीय तहको परिणाम निकालने हो, तर यो तरिकाले सम्भव हुदैन। गणना संख्या दोब्बर गर्नुपर्ने अवस्था छ, आयोगले भनिसकेको छ,’ उनले भने। एमालेले धाँधली गरेको आरोप लगाएकोबारे आयुक्त थपलियाले प्रमाणित नभएको कुरा बोलेर आफ्नो प्रतिष्ठा, उचाई र मर्यादा घटाउनेसँगै त्यसबारे पनि जवाफ खोज्न सञ्चारकर्मीसँग आग्रह गरे। 

एमालेको आरोपबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘कस्ले के आरोप लगायो, त्यो आयोगले हेर्दैन। सबैलाई सबै कुरा गर्ने छुट छ तर के छुट छैन भने विना प्रमाणित गरेका कुरा बोलेर आफ्नो प्रतिष्ठान, आफ्नो मर्यादा, आफ्नो उचाई घटाउने कुरा जसले गर्छ, उसले नै जवाफ दिने कुरा हो। यो निर्वाचन सबैले खटेर शान्तपुर्ण, सौहार्दपुर्णरुपमा सम्पन्न गरको छौ, सबैको तत्परता छ, खबरदारी छ। हामीले संवैधानिक जिम्मेवारी पुरा गरेका छौ। आरोप जसले लगाएको छ, उसैलाई सोध्नुपर्छ।’

प्रकाशित: २ जेष्ठ २०७९ १२:२७ सोमबार