३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

त्रिविका सहपाठी दुई पूर्वप्राध्यापकको रोचक प्रतिस्पर्धा, यस्ता छन् प्रतिबद्धता

२०४९ सालमा एकैदिन नियुक्ति लिएर त्रिभुवन विश्वविद्यालयमा एउटै क्यापसमा अध्यापन गराएका पूर्वप्राध्यापकहरुको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ। झण्डै २५ वर्ष सहकार्य गरेका त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पाका पूर्वप्राध्यापक सन्तोषलाल श्रेष्ठ र धनेन्द्रराज घिमिरे फरक दलबाट उम्मेदवार बनेसँगै चुनावी प्रतिस्पर्धा रोचक बनेको हो।

तानसेन नगरपालिकाको नगरप्रमुख (मेयर) पदका लागि नेपाली कांग्रेसबाट सन्तोषलाल श्रेष्ठ र नेकपा एमालेबाट धनेन्द्रराज घिमिरे उम्मेदवार छन्। त्रिवी सेवा आयोगको परीक्षा उत्तीर्ण गरेसँगै तानसेन नगरपालिका स्थायी बासिन्दा धनेन्द्रराज घिमिरे र सन्तोषलाल श्रेष्ठ एक अर्काका प्रतिस्पर्धी बनेका हुन्।

उनीहरु त्रिभुवन बहुमुखी क्याम्पसको प्राध्यापनमा मात्र सहपाठी भएनन्। पाल्पाको लुम्बिनी मेडिकल कलेज, सञ्चालन र व्यवस्थापनमा समेत सँगैसँगै यात्रा गरेका मित्र हुन्। श्रेष्ठ क्याम्पस प्रमुख भए, लामो समय मेडिकल कलेजमा निर्देशक बने। घिमिरे भने अवधि छँदै क्याम्पसबाट अवकाश लिए, मेडिकल कलेज सञ्चालनबाट समेत बाहिरिएर राजनीतिमा लागे। घिमिरे अहिले नेकपा एमाले पाल्पाको अध्यक्ष समेत हुन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै नगरप्रमुख पदका उम्मेदवार बनेका सन्तोषलाल श्रेष्ठले मित्रता र प्रतिस्पर्धा फरक विषय भएको प्रतिक्रिया दिए। श्रेष्ठ भन्छन्, ‘धनेन्द्रसँग प्रतिस्पर्धा गर्न सक्ने सन्तोष हो भनेर मलाई पार्टीले उम्मेदवार बनायो, अहिले हामी चुनावी मैदानमा छौं, प्रतिस्पर्धा जोसँग पनि हुनसक्छ नी।’

राजनीतिक रूपमा प्रतिस्पर्धा भए पनि व्यक्तिगत रूपमा एकआपसमा शुभकामना आदान-प्रदान गरेर मित्रत्रा देखाउँदै आएको घिमिरेले बताए। पाल्पा जिल्ला सदरमुकाम तानसेन तथा नेपालकै पुरानो नगरपालिकामा अहिले चुनावी प्रतिस्पर्धा तीव्र देखिएको छ।

बजार क्षेत्रमा सीमित छैन तानसेन। ग्रामीण क्षेत्रहरु नयाँ वडाका रुपमा थपिएका छन्। साविकका गाविसहरु मदनपोखरा, तेल्घा, बराङ्दी, बन्दिपोखरा, बौघागुम्बा, बौघापोखराथोक र अर्गली तानसेन नगरपालिकाको क्षेत्रभित्र समेटिएका छन्। तानसेनमा ३३ हजार ७ सय ६९ मतदाता रहेका छन्।

यसअघि तानसेनको मेयरमा नेकपा एमाले विजयी भएको थियो। श्रेष्ठ र घिमिरे चुनावी मैदानमा उत्रिएपछि यहाँका बौद्धिक वर्गको समेत कित्ताकाट भएका छन्। कांग्रेसका उम्मेदवार बनेका श्रेष्ठले तानसेनलाई पर्यटन पूर्वाधारमा जोड दिँदै यहाँको शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिने प्रतिबद्धता गरेका छन्।

नेकपा एमालेका उम्मेदवार धनेन्द्र घिमिरे तानसेनलाई नमूना नगर बनाउने आफ्नो योजना रहेको बताए। नेपाली कांग्रेसबाट तानसेन नगरपालिकाको प्रमुखमा उमेदवार सन्तोषलाल श्रेष्ठले जनताले अनुभूत गर्ने गरी काम गर्दै सिंहदरबारको अधिकार घर-घर सम्म पुर्‍याउने बताँछन्। शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत, कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने चुनावी योजना छन्।

नेकपा एमालेको तर्फबाट प्रमुखको उम्मेदवार बनेका धनेन्द्रराज घिमिरे तानसेनलाई केन्द्रविन्दु बनाएर सिङ्गो पाल्पालाई पर्यटकीय जिल्ला बनाउने योजना जनतामाझ ल्याएका छन्। एमाले उम्मेदवारहरुले तानसेनका १४ वटै वडाबाट अधिकतम सेवा प्रदान गरी नागरिकलाई घरदैलो सेवा प्रदान गर्ने जनाएका छन्।

कांग्रेस उम्मेदवार बनेका सन्तोषलाल श्रेष्ठको प्रतिबद्धता

गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले पाल्पामा एयरपोर्ट र बुटवल तानसेन सडकखण्डको स्तरोन्नतीका लागि पहल गर्ने बताएका छन्। घोषणापत्रमा टुँडिखेल श्रीनगर जीपलाइन, रानमिहल-श्रीनगर केबलकार निर्माण सम्भाव्यता अध्ययन तथा नीजि क्षेत्रसँगैको सहकार्य जस्ता विषय पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएका छन्।

गठबन्धनका दलहरुको प्रतिबद्धतापत्रमा बजार व्यवस्थापन, बसपार्क निर्माण, फोहोर व्यवस्थापन, नगरयातायात, एक वडा एक सामुदायिक पुस्तकालय, अनुसन्धान केन्द्र निर्माण गरिने कुरा उल्लेख गरिएको छ। यस्तै तानसेनलाई सांस्कृतिक नगरका रुपमा परिचित गराइने, एक वडा एक पार्क, करुवाको राजधानी बनाइने छ।

परम्परागत सीपको संरक्षण गर्दै नयाँ सीप हस्तान्तरण, किसान क्रेडिट कार्ड, एक घर एक धारा, फोहोरलाई मोहोरमा परिणत गरौं, सार्वजनिक शौचालय निर्माणका विषयवस्तु पनि घोषणापत्रमा उल्लेख गरिएको छ। तानसेन नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गरिने, पेपरलेस प्रशासन, मोबाईल एममार्फत् सेवा, सुशासन, सामाजिक भेदभाव अन्त्य, उद्यमशीलताको विकास गरिने भन्दै प्रतिबद्धता व्यक्त गरिएको छ।

एमाले उम्मेदवार बनेका धनेन्द्रराज घिमिरेको प्रतिबद्धता

एमाले उम्मेदवारहरुले तानसेनका १४ वटै वडाबाट अधिकतम सेवा प्रदान गरी नागरिकलाई घरदैलो सेवा प्रदान गर्ने जनाएका छन्। वडाबाटै योजना सम्झौता, अनुगमन मुल्याङकन तथा बजेट निकास गर्ने, कृषि उत्पादन बढाउन, सबै किसिमका कृषि उत्पादनमा अनुदानको व्यवस्था गर्ने, श्रीनगर डाडामा सेनकालीन ऐतिहासिक दरबार पुनःनिर्माण गर्ने, ठाउँ ठाउँमा सुन्दर पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने जनाइएको छ।

पाल्पा दरबार संग्रहालय परिसर बढाइ पर्यटकीय पुर्वाधार विकास गरी आर्कषक मनोरम केन्द्र बनाउने, तानसेनको पुरानो बजार क्षेत्र नारायणस्थान, शितलपाटी, वसन्तपुर, सिल्खान टक्सार टोलका घरहरु निर्माण गर्दा अगाडीको भाग पुरानै शैलिमा निर्माणको व्यवस्था मिलाउने, यस क्षेत्रमा ठूला सवारी साधन निषेध गरी दर्शकीय पर्यटन क्षेत्रको रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

गुणस्तरीय शिक्षाको लागि सामुदायिक विद्यालयहरु आवसीय विद्यालयको रुपमा विकास गर्ने, कक्षा ८ सम्मका बालवालिकालाई विद्यालयमै दिवा खाजा व्यवस्था गर्ने, त्रिभुवन बहुमुखी क्याम्पसलाई प्राज्ञिक उन्नयन केन्द्रको रुपमा विकास गर्ने, प्रत्येक माध्यमिक विद्यालयमा एक स्वास्थ्यकर्मी र एक खेल शिक्षकको व्यवस्था गर्ने नेकपा एमाले तानसेन नगर कमिटिले घोषणापत्रमार्फत मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App