नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँग २००८ सालदेखि पार्टीमा आबद्ध नेता लक्ष्मीभक्त उपाध्यायको जीवन अन्तिम समयसम्म पनि कम्युनिस्ट पार्टीकै सदस्यका रूपमा बित्यो। राजनीतिक लाभको ठुलो पद नलिई उनी भौतिक शरीरलाई त्यागेर बिदा भए।
पार्टीका पुराना नेता उपाध्यायको ९३ वर्षको उमेरमा निधन भएको हो। उनको निधनपछि कम्युनिस्ट पार्टीको स्थापनाकालमा रहेका र पुष्पलालसँग नजिक भएका नेताहरू अब निकै कम छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीमा एमाले मिसिएको भनेर सीधा कुरा गर्न सक्ने एक नेता उनी हुन्।
‘तपाईंहरूको पार्टीमा हामी आएको होइनौं, मेरो पार्टीमा तपाईंहरू आउनुभएको हो,’ पछिल्लोपटक प्रधानमन्त्री भएका बेला एमाले अध्यक्ष ओलीसँगको बातचितका क्रममा उनले भनेका थिए। तत्कालीन राजा महेन्द्रले पुष्पलाल र लक्ष्मीभक्तलाई बनारसमै रहँदा सरकार चलाउन निमन्त्रणा गरेका थिए। तर राजा महेन्द्रले राजनीति नगर भन्ने सर्त राखेका थिए।
त्यसको जवाफमा लक्ष्मीभक्तले भनेका थिए, ‘हामीलाई पहिला राजनीति चाहिन्छ, हामी भेडा होइनौं बिक्री हुनलाई।’ उनले मन्त्री पद पनि अस्वीकार गरेका थिए। त्यतिबेला कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसमितिमा १५ जना थिए, १५ जनालाई नै राजा महेन्द्रले मन्त्री दिने कुरा गरेका थिए। पुष्पलाललाई प्रधानमन्त्री बनाउने र पार्टी सदस्यहरूलाई मन्त्री पद दिने प्रस्ताव महेन्द्रको थियो तर सो प्रस्ताव पुष्पलाल र लक्ष्मीभक्तहरूले अस्वीकार गरेका थिए।
उपाध्यायले २००७ सालको क्रान्तिभन्दा अघि २००६ सालमै राजनीति सुरु गरेका थिए। २००७ सालको क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गर्ने भनेर उनी गएका थिए। त्यसबेला त्यहाँ कर्फ्यु लाग्योे, गोली चल्यो र ६ जना क्रान्तिकारीको हत्या भयो। तर उनी भने बाँचे।
‘२००७ सालको क्रान्तिमा सबैभन्दा बढी मान्छे मरेको पनि तनहुँको बन्दीपुरमै हो। त्यसपछि दिल्ली सम्झौता भयो र राणाविरोधीको आन्दोलनलाई रोक्ने काम राजा त्रिभुवनसँग मिलेर कांग्रेस र नेहरूले गरे। हामीले राणाविरुद्ध आन्दोलन चलाएका थियौंं, राणाका सिपाहीले हामीलाई गोली हान्यो, हाम्रा साथी मरे तर त्यही राणा प्रधानमन्त्री बनाएर कांग्रेस सिंहदरबारमा फर्कने तयारी गरे। हामीलाई असह्य भो, राणाविरुद्धको आन्दोलनमा गोली चल्दा एक इन्चले गोली नखाएको मैले,’ उनले एक अन्तर्वार्तामा भनेका थिए।
२००७ सालको क्रान्तिमा प्रहरीको गोली लाग्नबाट उनी बल्लतल्ल जोगिएका थिए। आन्दोलन सकिएपछि राणा नै प्रधानमन्त्री बनाउन ल्याएपछि राणा–त्रिभुवन–कोइराला मण्डलीहरू जसले, नेपालको क्रान्तिलाई धोका दिए, दिल्ली सम्झौता गरे भन्दै उनी बिच्किएका थिए। त्यतिबेला राणालाई प्रधानमन्त्री बनाइएकोमा नेपाल कम्युनिस्ट पार्टीले विरोधमा पर्चा छरेको देखेपछि उनी कम्युनिस्ट पार्टीतर्फ आकर्षित भएका थिए।
‘त्यो पर्चा पढेपछि म पनि कम्युनिस्ट पार्टीतिरै लागें, त्यसपछि निरन्तर पुष्पलालको सामीप्यमा बसेर काम गरे,’ उनले एक अन्तर्वार्तामा भनेका छन्। तर पछि पुष्पलाल समूहमा फुटको शृंखला सुरु भयो। फुटको क्रम यत्तिकैमा रोकिएन। २०२९/३० सालतिर लक्ष्मीभक्त उपाध्याय, हरिहर शर्मालगायत ठुलो समूह रायमाझी नेतृत्वको पार्टीमा सम्मिलित भयो। त्यसलगत्तै रामचन्द्र चापागाईंको समूह तथा नरबहादुर खाँडको समूह पनि रायमाझीमा फर्कियो।
मोदनाथ प्रश्रित, मदन भण्डारी, जीवराज आश्रित समूहले पुष्पलाललाई परित्याग गरी आफ्नो बाटो लिएर पछि मदन भण्डारीहरूले लिएकै बाटोमा लक्ष्मीभक्त उपाध्यायहरू सहभागी भए। साहित्यकार राम विनयका अनुसार तनहुँको रिसिङ राम्जाकोटमा जन्मिएका लक्ष्मीभक्त उपाध्याय किसान आन्दोलनका अगुवा एकदेव आलेका सहयात्री थिए।
उनले अन्य सहयात्री कृष्णलाल प्रधान, तुलसीप्रसाद श्रेष्ठ, पिताम्बर रानाभाट, कदमकुमार श्रेष्ठसँग मिलेर उनले किसान आन्दोलनलाई अगाडि बढाएका थिए। राम्जाकोटबाट चितवनमा बसाइ सरेपछि उनी कम्युनिस्ट आन्दोलनको संगठन गर्न, आन्दोलनलाई अघि बढाउन निरन्तर लागेका थिए। साहित्यकार विनयका अनुसार काठमाडौंमा आएपछि पनि उनले पार्टीको कामलाई निरन्तरता मात्रै दिएनन्, कम्युनिस्ट पार्टीका विभिन्न संगठनमा बसेर काम गरेका थिए।
लामो समयसम्म पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएर काम गरेका उपाध्याय पार्टी विभाजनप्रति असन्तुष्ट थिए। तत्कालीन नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको एमालेको पछिल्लो विभाजनपछि उपाध्याय कतै खुलेनन्। माधव नेपालसँगको सामीप्यका कारण उनलाई नेकपा एकीकृत समाजवादीले ज्येष्ठ कम्युनिस्ट मञ्चको सदस्य बनाएको भए पनि बिरामी भएका कारण उनले स्वीकार गरेको अवस्था थिएन। उपाध्ययायले कम्युनिस्ट पार्टीको पहिलो पुस्ताको पाको र परिपक्व नेताका रूपमा छवि बनाएका थिए।
प्रकाशित: १७ वैशाख २०७९ ०३:५३ शनिबार