१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनका कारण खोसिए महिलाले पाउनुपर्ने पद

आसन्न स्थानीय तहको निर्वाचनका लागि तनहुँमा २ लाख ४४ हजार ३ सय ४० मतदाता कायम छन्। पुरुषको तुलनामा महिला मतदाताको संख्या १० हजार ७२ बढी छ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले दिएको जानकारीअनुसार १ लाख १७ हजार १ सय ३४ पुरुष र १ लाख २७ हजार २ सय ६ महिला मतदाता छन्। महिला मतदाता बढी भए पनि जिल्लामा स्थानीय तहको अध्यक्ष/प्रमुख पदमा महिलालाई उम्मेदार बनाउन कन्जुस्याइँ गरिएको छ। ठूला दलले नै महिलालाई स्थानीय तहको नेतृत्व हाँक्ने अवसर दिएका छैनन्।

जिल्लामा १० स्थानीय तहको प्रमुख/अध्यक्ष बन्नलाई ७२ जनाको उम्मेदवारी परेको छ। जसमा आठजना मात्रै महिला छन्। उपप्रमुख/उपाध्यक्ष पदका लागि ५६ जनाले उम्मेदवारी दिएका छन्, जसमा ११ जना पुरुष छन्। जिल्लाका ८५ वडामा वडाध्यक्ष बन्नलाई ४ सय ८ जनाको मनोनयन दर्ता भएकोमा १७ महिलाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

सत्तारूढ दल नेपाली कांग्रेसले म्याग्दे गाउँपालिकामा मायादेवी रानालाई अध्यक्षको उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले देवघाट गाउँपालिकाको अध्यक्षमा सुशीला नेपाललाई उम्मेदवार बनाएको छ। व्यासको मेयरमा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट अनिता थापा मगर, नेकपा मालेबाट अन्जना थापा, स्वतन्त्रबाट पार्वती कार्की, जनमुक्ति पार्टीबाट मीना थापाको उम्मेदवारी दर्ता भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बन्दीपुर गाउँपालिकाको अध्यक्ष बन्नलाई भगवती पौडेल र आँबुखैरेनीको अध्यक्षमा रोजिना श्रेष्ठले उम्मेदवारी दिएका छन्। गठबन्धन गरेका दलले त महिलालाई उपप्रमुखमा पनि स्थान दिन सकेनन्। गएको निर्वाचनमा उपप्रमुखमा सीमित महिलालाई गठबन्धनले भुलेको छ।

जिल्लाको भिमाद नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टी गठबन्धन गरेर निर्वाचन लड्दैछन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले मेयरमा र नेपाली कांग्रेसका मिलन आलेले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

घिरिङमा पनि कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन छ। गठबन्धनबाट अध्यक्षमा कांग्रेसका गंगा कुमाल र उपाध्यक्षमा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले मनोनयन दर्ता गराएका छन्। शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्दैछन्। मेयरमा कृष्णराज पण्डित र उपमेयरमा खुमबहादुर विक (राजु) ले उम्मेदवारी दिएका छन्।

भानु नगरपालिकामा नेपाली कांग्रेसबाट कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको समूह र एमाले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन्। मेयरमा एमालेका सीताराम बजगाईं र उपमेयरमा जोशी समूहका केशरबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन्। गठबन्धनका कारण स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा महिला सहभागिता झनै कम गराएको अधिवक्ता सरिता भण्डारीले बताइन्।

उनी भन्छिन्, ‘हामीले एउटा मात्रै पदमा उम्मेदवारी दिएका हौं भन्न दलहरूलाई गठबन्धनले सजिलो बनाएको छ। गठबन्धन नभएको भए संविधानले व्यवस्था गरेअनुसार प्रमुख र उपप्रमुख अथवा अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा अनिवार्य महिला उम्मेदार बनाउन बाध्यात्मक अवस्था बन्थ्यो। गठबन्धनले महिला सहभागिता कम गरायो।’

महिलालाई प्रमुख पदमा टिकट नदिनु पितृसत्तात्मक सोचको उपज भएको उनले बताइन्। क्षमतावान् महिलालाई अवसर दिए कुशल नेतृत्व गर्ने अधिवक्ता भण्डारीको भनाइ छ। स्थानीय तहको प्रमुख पदका लागी ठुला दलमा निकै कम महिलाले आकांक्षा देखाएका थिए। कांग्रेस र एमालेमा प्रमुख पदका लागि आकांक्षा देखाएका केहीलाई पनि पाखा लगाएर पार्टीले पुरुष नेतालाई टिकट दिएको छ।

शुक्लागण्डकीको मेयरमा एमालेबाट हालकी उपमेयर सविता रसाइलीले आकांक्षा देखाएकी थिइन्। उनको नाम नगरबाट सिफारिस भयो। अन्तमा मुक्ति तिम्लिसिनाको पोल्टामा टिकट पर्‍यो। व्यासमा पनि नेपाली कांग्रेसबाट विद्या खनालले इच्छा प्रकट गरेकी थिइन्। तर फेरि बैकुण्ठ न्यौपानेलाई दोहोर्‍याउँदै पार्टीले टिकट दिएको छ।

भानु नगरपालिकामा माओवादीबाट ओमकुमारी पौडेल र कांग्रेसबाट चिनु पौडेल मेयरमा आकांक्षा व्यक्त गरे पनि टिकट पाएनन्। पुरुषप्रधान सोच राजनीतिक दलहरूमा परिवर्तन गर्नु जरुरी रहेको शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली बताउँछिन्।

‘महिलाहरूले नेतृत्व गर्न सक्दैनन् भन्ने सोच अझै हाबी छँदैछ,’ उनले भनिन्, ‘पुरुषप्रधान सोच परिवर्तन गर्न नसकेकै कारण महिलालाई नेतृत्वमा पुग्न दिइएको छैन। अवसर दिन कन्जुस्याइँ गरेको भन्दा पनि महिलाहरूले नेतृत्व गर्न सक्छन् भन्ने सोच परिवर्तन गर्न सकिरहेका छैनौं।’ गठबन्धनका कारण यसपालि महिलालाई नेतृत्वमा पुग्न झनै कठिन भएको उनको भनाइ छ।

पार्टीले टिकट वितरणमा नातावादलाई प्राथमिकता दिने गरेको भानुमा मेयरमा आकांक्षा देखाएकी चिनु पोखरेलले बताइन्। ‘नेतृत्वका लागि अघि सरेका महिलालाई स्थान दिइँदैन। केन्द्रीय नेताहरूले आफ्ना आफन्तलाई मात्रै अवसर दिन्छन्,’ उनले भनिन्। महिला नेतृत्वका लागि सक्षम भएकाले दलहरू टिकट वितरणमा गम्भीर बन्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १६ वैशाख २०७९ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App