१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

ठूला दल नाम अलग भएपनि एक सिक्काका दुई पाटा हुन्ः अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस, एमाले र माओवादी एउटै सिक्काको दुई पाटा भएको बताएका छन्। उनले ठूला पार्टीलाई अलग सोच्नु भ्रम भएको संकेत गरे। ‘नाम अलग होला। तर यिनीहरु एक सिक्काका दुई पाटा हुन्। कांग्रेसको विकल्प एमाले हैन। भ्रममा नपर्नुहोस् एमालेको विकल्प माओवादी हैन। यिनीहरु एउटै पार्टी हुन्। त्यसैले गठबन्धनको चक्रबाट देशलाई निकाल्नका लागि संकल्प गर्ने बेला आएको छ,’ उनले भने।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला दलहरुले देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको टिप्पणी गरे। ‘देशभरी कहीँँ एक हजार युवाहरुले रोजगारी प्राप्त गर्ने उद्योगधन्दाको स्थापना गर्न सकेनन्। आज सामान्य बाटाघाटाहरु ठीक नभएर हामी भनेको बेला भनेको गन्तव्यमा पुग्न नसक्ने अवस्था छ। तर, हामीलाई रेल र पानी जहाजको गफ सुनाएर हावामा उडाएर हाम्रो समय बर्बाद गरेका छन्,’ उनको भनाइ छ। अनेक थरी सपना देखाएर जनतालाई बन्धक बनाएर राखेको लिङ्देनको आरोप छ। देश बिग्रँदा देउवा, प्रचण्ड र ओलीको केही नबिग्रिने बताउँदै उनले थपे, ‘यो देश बिग्रँदा युवाहरुको भविष्य बिगर्नेवाला छ।’

ठूला दलको केटाकेटी र आलोकाँचोपनाका कारण अन्तर्राष्ट्रिय जगतमा देशको विश्वसनियता घट्दै गईरहेकोमा अध्यक्ष लिङ्देनको गुनासो छ। यसै कारण शक्ति राष्ट्रहरुले नेपाललाई रणनीतिक प्रतिष्पर्धास्थल बनाईरहेको उनले उल्लेख गरे।

भोट हाल्ने बेला विचार नपुर्‍याई देश बिग्रियो भनेर गुनासो गर्न जनतालाई छुट नभएको उनको भनाइ छ। देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट हाल्नेहरु पनि दोषी भएको टिप्पणी गरे। उनले ठूला पार्टीले देश बनाउँछ भनेर सोच्नु दूध दुहनलाई साँढेको टाङमुनि बाल्टी थाप्नु उस्तै भएको बताउँदै यसपालीको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा सवक सिकाउने गरेर भोट हाल्न अनुरोध समेत गरे।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्युटावरको गरिएको लगानी अनावश्यक भएको बताए। उनले भने, ‘भ्युटावरमा लगानी गर्नेलाई होईन स्वास्थ्य र शिक्षामा लगानी बढाउन राप्रपालाई भोट दिनुहोला।’ भ्यु टावरमा गरिएको लगानीले गरेर जनप्रतिनिधिको क्षमता प्रदर्शन भईरहेको उल्लेख गरे।

प्रकाशित: १७ चैत्र २०७८ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App